|

लहान  : अविरल वर्षातपछि आएको बाढी गाउँ पस्दा बिचल्लीमा परेका सप्तरीका बाढी पीडितलाई आईतबार विभिन्न संघ संस्था कार्यालय र व्यक्तिले राहत स्वरुप खाद्यान्न, लत्ताकपा बाँडेका छन्।

पछिल्लो शुक्रबार मध्यरातदेखि परेको अबिरल वर्षातपछि खोला तथा नदीहरुमा आएको बाढी गाउँ पस्दा एक दर्जन गाउँ डुबानमा परे। बाढीको कारणले बिचल्लीमा परेका पीडितहरुलाई विभिन्न संघ संस्था र व्यक्तिले आइतबार गाउँमै पुगेर सहयोग गरेका छन्।

नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले आईतबार बिहान बाढीबाट सर्वाधिक प्रभावित राजविराज नगरपालिका ९ मलेठ गाउँमै पुगेर पीडितहरुलाई राहत स्वरुप च्युरा, मुरही, चामल, बिस्कुट र चाउचाउ वितरण गरेका छन्।

बाढी प्रभावित गाउँमा जिल्ला समन्वय समिति, सेभ द सप्तरी, सेभ द नेपाल, राष्ट्रिय जनता पार्टी लगायतका संघ संस्था र राजनीतिक दलले पीडित परिवारलाई राहत स्वरुप खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएका छन्। 

वर्षात् रोकिएको २४ घण्टाभन्दा बढी भएपनि कतिपय बाढी पीडितको घरमा अझै पनि दुई फिटसम्म पानी जमेकाले सुत्न र खाना पकाउन समस्या भएको पीडितहरु बताउँछन्। कतिपय बाढी पीडित सुरक्षित स्थान खोज्दै आफन्तको घरमा आश्रय लिन पुगेका छन् भने कतिपय सडक किनारमै छन्। उनीहरुले त्रिपाल र बोराको ओत बनाएर सडकलाई नै खाना पकाउने स्थलको रुपमा प्रयोग गरिरहेका छन्।  

एक हजार ५ सय परिवार प्रभावित

जिल्लाको खाडो, त्रियुगा, जीता, बिहुल लगायतका खोला नदीहरुमा आएको बाढीले बस्ती डुबान तथा कैयौं बिघा धान खेत कटान भएको छ। बाढीबाट राजविराज नगरपालिका ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनिया लगायतका गाउँका एक हजार पाँच सय परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीबाट बस्तीलाई थप क्षति हुनबाट जोगाउन ठाउँ ठाउँमा अस्थायी बाँध बनाउन प्रहरी परिचालन गरिएको बताए।

स्थानीय खाडो नदीमा आएको बाढी मलेठ बस्तीमा पस्दा स्थानीय मो. यासिनको कुखुरा फर्ममा रहेका एक हजार २ सय कुखुरा, खाद्यान्न, लत्ताकपडा समेत पानीमा बगेको पीडितले बताए। मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र समेत जलमग्न भएको छ भने औद्योगिक क्षेत्रको करिब २० मिटर पर्खाल समेत भत्किएको छ। 

दोहोरियो गाउँमा बाढी
रुपनी गाउँपालिका २ रायपुर गाउँमा बाढी पस्दा एक सय घर डुबानमा परेका छन्। बाढीको पानीले खेतीयोग्य जग्गा कटान गर्नुका साथै बस्ने घर समेत जलमग्न हुँदा सुरक्षित ठाउँको खोजीमा जुटेको स्थानीय दिनेश यादवले बताए। 

पछिल्लो वर्ष रायपुर गाउँमा खाडो नदीको बाढी पसेको घटना बिर्सन नपाउँदै फेरि दाहोरिएर गाउँ पसेपछि स्थानीय बासिन्दा झन् त्रसित भएको यादवले बताए। बाढीले सडक कटान गर्दा राजविराज कुनौली सडक खण्ड पछिल्लो दुई दिनदेखि अबरुद्ध भएको छ।

दुईको मृत्यु 

लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको शवको अझै पहिचान हुन नसकेको  प्रहरीले जनाएको छ। बाढीका कारण एक प्रहरीको समेत मृत्यु भएको छ। 
अबिरल वर्षात्का कारण नहरमा बढेको पानीको सतहको बहाव जाँच्न ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तिलाठी कोलाडीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार सुमन आचार्यको नहरमा डुबेर मृत्यु भएको छ। 

नहरको पानीमा डुबेर बेपत्ता भएका हवल्दार आचार्यको खोजी गर्ने क्रममा अन्दाजी ५ सय मिटर दक्षिण शव भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

बाढी पीडितहरुको चक्काजाम

सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत खाडो नदीसँग जोडिएका गाउँका बासिन्दाले तत्काल आफूहरुलाई सुरक्षित रुपले बस्ने पाउने वातावरण बनाउन माग गर्दै आइतबार अपरान्ह रुपनी राजविराज सडक खण्ड अवरुद्ध पारेका छन्। 

वर्षायाममा हरेक वर्ष बाढीका कारण ठूलो क्षति ब्यहोर्दा समेत स्थनीय प्रशासनले दिर्घकालीन समाधान खोज्न ध्यान नदिएको भन्दै विरोध स्वरुप चक्काजाम गरिएको पीडितहरुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.