|

अहिले आम नागरिकमा फरक आवेग र प्रवृत्तिको विकास हुँदै गएको पाइन्छ। सञ्चार क्षेत्रको विकासले भनौँ या अराजकताको पराकाष्ठाले भनौँ विभिन्न चोक , चियापसल तथा सामाजिक सञ्जाल हेर्दा समाज गलत बाटोमा प्रवेश गरिसकेको छ।

लोकतन्त्रका नाममा छाडातन्त्रले सिमा नाघ्न लागेको बेला यथेष्ट सम्बोधन गर्न राज्य यसरी नै चुकिरहने हो भने देशको लोकतन्त्र नै खतरामा पर्ने निश्चित छ।

नेता बन्ने तथा समाजमा ठुलो देखिने होडमा अहिले तमाम मानिसहरू राजनीतिमा क्रियाशिल बन्न चाहन्छन्। आफू र आफू आबद्ध दललाई असल देखाउन अनावश्यक हर्कत सिर्जना गरिरहन्छन्। विभिन्न दल तथा समूहमार्फत अहिले तँछाड र मछाडको अवस्था छ। तर कोही पनि उत्पादन र सिर्जनशीलतामा लाग्न चाँहदैनन्। यसरी देशको विकास कदापि हुन सक्दैन।

अहिले राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानका नाममा गरेका दुर्गा प्रसाईंका गतिविधि र उनका समर्थकहरूको भावले अराजकताको संकेत गरेको छ। नागरिकहरू राजनीतिक गतिविधिमा होस् या सामाजिक सञ्जालको प्रयोगमा अति नै अराजक शैलीमा देखिन्छन्। यसले सामाजिक तथा राजनीतिक बेथिती सिर्जना गर्दैछ।

देश बन्न त नागरिकहरूले काम गर्नु पर्छ। राज्यले भरपुर सहयोग गर्नुपर्छ। तर, समाज भड्काउ प्रवृत्तिको सिकार हुँदै गएकोले काम गर्ने संस्कार हराउँदै गयो। ठालुपन बढेर गएको छ।

यसरी देश विकास हुँदैन। सक्रिय उमेर समूहका सपाङ्ग सबै नागरिकहरूले केही न केही काममा सक्रिय हुनैपर्छ। अनि मात्र देशको उत्पादनमा वृद्धि हुन गई आयात प्रतिस्थापन गर्न सकिन्छ। यसले राज्यमा नागरिकहरूको योगदान बढ्न गई राज्य सबल बन्दै जान्छ।

नेपाल साच्चिकै सुन्दर छ। जति भौगोलिक सुन्दरता छ त्यति नै उपयोगीताको हिसावमा पनि महत्वपुर्ण छ। विश्वसामु प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै ऐतिहासिक हिसावमा पनि उच्च छ। तर अहिले नेपाल माथि नेपालीकै अविश्वास बढ्दै जानु विडम्बना छ।

आज विदेशिने नेपालीहरूको लर्को लागेको छ। युवा पुस्ता र हुर्किंदै गरेको पुस्ताको मुख्य लक्ष्य नै विदेश जाने बन्न थालेको देखिन्छ। यति सुन्दर देशमा यो अत्यन्तै दु:खद हो।

विश्वमा मानव सभ्यताको विकास भएको लामो समय भैसक्यो। विश्व मानव समाज आज आर्थिक, सामाजिक, भौतिक तथा प्राविधिक रुपमा निकै अघि बढिसकेको छ। जसको प्रभावका कारण नेपालीहरू विदेशप्रति आकर्षित बन्दै गएको देखिन्छ।

आजको विश्वव्यापीकरणको युगमा मानिसहरूलाई एउटै ठाँउमा थुनेर राख्ने कुरा पनि सम्भव छैन। अहिलेको समयमा विकास भएका प्रविधि र आविश्कारका सुत्र सिक्न मानिसहरू विश्वका विभिन्न स्थानमा पुग्नु आवश्यक पनि छ। तर, उतै पलायन हुँदै जाने प्रवृत्ति बढ्नु चाँही वर्तमान चिन्ता र चुनौतीको विषय हो।

अहिले नेपालीहरू किन विश्वको विभिन्न कुनामा जाने र पलायन हुने गर्छन् भन्ने विषय गम्भिर अध्ययनको विषय बनेको छ। अहिलेको यो अवस्था देख्दा अब नेपाली भूमि शून्यतामा जाने संकेत देखिएको छ। यसमा थुप्रै विकर्षणका कारणहरू छन्। जसमा अस्थिर राजनीति नै मुख्य जिम्मेवार बन्न सक्छ।

नेपालमा राजनीतिक तथा सामाजिक परिवर्तनहरू थुप्रै भए। नेपालीहरूमा राजनीतिक र सामाजिक चेतना उल्लेख्य रूपमा आएको देखिन्छ। तर आर्थिक रूपमा भने चित्तबुझ्दो प्रगति नभएर नै आम नागरिकहरू पलायन भएका हुन्।

अहिले नेपालीहरू आर्थिक प्रतिस्पर्धामा केन्द्रित देखिन्छन्। आर्थिक अवस्था कमजोर हुनेहरू कमाउन विदेश गएर फर्किंदा अरू सम्पन्नहरू डाडिन थाले। आज कोभन्दा को कम भनेर विदेश जानेको होड नै चलेको पनि छ। नेपालीहरू विदेशिनुमा आवश्यकता परिपूर्तिको सवालसँगै अनावश्यक होडवाजीले पनि  प्रभाव पारेको छ।

जुन उद्देश्य पूरा गर्न विदेश गए पनि नेपालमा यसको दीर्घकालीन नकारात्मक प्रभाव पर्ने संकेत देखिइसकेको छ। नेपाली सुन्दर गाउँघरमा शून्यता छाउन थालिसकेको छ भने ज्येष्ठ नागरिकहरू सहाराविहीनताको सिकार बनिसकेका  छन्। गाँउघरका विकासहरू सुस्ताइसकेका छन्।

नेपालमा चरम राजनीतिक खिचातानी भयो। देशलाई आर्थिक सम्वृद्धिमा कसरी लैजाने भन्ने चिन्तन र बहस कहीँ कतै पनि सुनिँदैन। एउटा दललाई छिर्की लाएर कसरी अर्को दलको पोल्टोमा सरकार बनाउने भन्ने मात्रै काम भएको आभास हुन्छ।

नेपाल जलस्रोतमा यति धेरै धनि भएर पनि विद्युत्, सिँचाइ, खानेपानी लगायतका आवश्यकताको सहज पूर्ति गर्न सकिरहेको छैन। यही हो विडम्बना। तराईका फाँटमा योजनाबद्ध उत्पादनमा लाग्ने हो भने नेपालले खाद्यान्न निर्यात गर्न सक्छ। तर, वर्षेनी करोडौँको खाद्यान किन्नु परेको छ।

जंगल अनावश्यक रुखहरूले भरिएको छ। त्यसको उपयोग गरेर भौगोलिक तथा वातावरणिय अनुकुलता हेरेर काठ उत्पादन, जडिबुटी उत्पादन र फलफूल उत्पादन गर्ने हो भने देश कायापलट हुनसक्छ। अनि हामी पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यको घटबढ कुरेर राजनीतिक सेन्टिमेण्ट उपयोग गर्छौं।

नेपालमा विद्युतले ती सवै कुराहरूको प्रतिस्थापन गर्न सक्छ। अनि विद्युत् बिक्रीबाट राज्य सम्पन्न बन्ने आधार निर्माण हुन्छ। योसँगै सिकाइमा अब्बल विद्यार्थीहरूलाई राज्यले लगानी गरेर विज्ञान प्रविधिसम्बन्धी ज्ञान सिक्न राम्रो देशमा पठाउने र उनीहरूको सीपको उपयोगको उचित प्रवन्ध मिलाउने हो भने निकट भविष्यमा देश उत्पादन र प्रविधिको विकासमा समेत अगाडि बढ्न सक्छ।

योग्यता प्रणालीको खिल्ली उडाइएको छ। जसको कारण पढेलेखेकाहरू निराश बन्दै गएका छन्। धन सम्पत्तिको बोलवाला बढ्दै जानाले बौद्धिक व्यक्तिहरू छाया पर्दै गएका छन्। देशको प्राकृतिक स्रोत साधनको व्यवस्थित उपयोग गर्ने बारेमा सरकार तथा सरोकारवालहरूमा कुनै जाँगर देखिँदैन। मानव स्रोत साधनको पहिचान र उपयोगको कुनै योजना सुनिँदैन।

शिक्षामा कुनै व्यावहारीकपन देखिँदैन। जति योग्यता हासिल गरे तापनि योग्य भएको देखिँदैन। राज्यकोषको दोहन झन फस्टाएको छ। कानुन सर्वसाधारण नागरिकहरूलाई मात्र बनाएको जस्तो भान हुन्छ।

सरकारी सेवा सुविधा लिन दलालको खोजी नगरी धरै छैन। राज्यका सेवा सुविधा बोलवाला भएका पहुँचवालाहरूले मात्र लिने गर्छन्। जसरी विगतमा पञ्चायती तथा राणा शासनमा बेथिति थियो आज पनि त्योभन्दा कम छैन। 

अत: प्राकृतिक स्रोतसाधनहरूको उपयोगको उपर्युक्त  योजना बनाएर नागरिकहरूलाई स्वदेशमा नै रहने वातावरण सिर्जना गर्नु राज्यको आजको आवश्यकता हो। साथै नागरिकहरूलाई समयानुकूल सीप विकासको अवसर मिलाई विश्वमा अगाडि बढिरहेको विज्ञान प्रविधिमा समेत अब्बल गराउँदै अघि बढ्नु नै अन्तिम विकल्प हो।

स्वर्गजस्तो नेपाललाई साँच्चैको स्वर्ग बनाउन राज्य हरतरहले अघि बढ्नैपर्छ। नागरिकहरूले काम गर्नैपर्छ र राज्यले पूर्ण सहयोग गर्नैपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.