१४ हजार ६ सय ५ सेट पुस्तकको माग

|

काठमाडौं : भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सुरु भएको ११ दिन बितिसक्दा पनि विद्यार्थी अझै पाठ्यपुस्तकबाट ​वञ्चित भएका छन्। सरकारले समयमा पुस्तकको व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहलाई पढ्न समस्या भएको छ। 

गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम (पश्चिम) मा ठूलो मानवीय क्षतिसँगै विद्यालयमा क्षति पुगेको थियो। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको छ। 

अहिले स्थानीय तहले टहरा बनाएर मंसिर ४ गतेदेखि पढाउँदै आए पनि पुस्तक पुरिएका कारण उनीहरूसँग किताब छैनन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तकको माग आएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाका निर्देशक सविता दङगाल(गौतम)ले भनिन्, ‘स्थानीय तहले पठाएको विवरण हेर्दा भूकम्प प्रभावित क्षेत्रमा कक्षा १ देखि १० सम्मको लागि १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तकको माग आएको छ।’ 

कति कक्षाको कति पुरिए पुस्तक?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक गौतमका अनुसार भूकम्पबाट कक्षा १ मा १ हजार ९१३ सेट, कक्षा २ को १ हजार ७४९ सेट, कक्षा ३ को १ हजार ७११ सेट, कक्षा ४ को १ हजार ५४७ सेट, कक्षा ५ को १ हजार ५६१ सेट पुस्तक पुरिएकाले उपलब्ध गराउन माग आएको छ।

यसैगरी कक्षा ६ को १ हजार ३२९ सेट, कक्षा ७ को १ हजार २७३ सेट, कक्षा ८ को १ हजार १४७ सेट, कक्षा ९ को १ हजार ४२१ र कक्षा १० को ९०४ सेट पुस्तक उपलब्ध गराउन माग आएको पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक गौतमले जानकारी दिइन्।

‘बजेटको व्यवस्था भएको छ, तत्कालै पुस्तक उपलब्ध हुन्छ’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवश्यक पुस्तक पर्याप्त मात्रामा रहेको र यसका आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पाठ्यक्रम तथा सामग्री शाखाका निर्देशक गौतमका अनुसार पुस्तक तत्काल उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रको सम्बन्धित डिपो कार्यालयमा छ।

‘बजेट आवश्यक भएकाले केही समय ढिला भयो, अब बजेटको व्यवस्था भइसकेकाले तत्कालै मागअनुसारको पुस्तक उपलब्ध हुन्छ’‚ उनले भनिन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न यसअघि नै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

तत्कालका लागि त्यही रकमले पाठ्यपुस्तक किनेर भूकम्पप्रभावित क्षेत्रमा उपलब्ध गराउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ।

‘शिक्षा मन्त्रालयले तत्काललाई उक्त विनियोजित रकम नै चलाउनु भनेको छ, अपुग बजेट पछि माग गर्नु भनिएको छ। त्यसैले त्यही अनुसार हामीले आजै स्थानीय तहलाई त्यही रकमबाट किताब खरिद गरी भूकम्प प्रभावित क्षेत्रमा उपलब्ध गराउन परिपत्र जारी गर्दै छौँ’, निर्देशक गौतमले भनिन्।

उनका अनुसार आज परिपत्र जारी गरेपछि भोलि भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहले बजेट निकासा गर्नेछन् र पुस्तक खरिद गरी आगामी आइतबार सम्बन्धित ठाउँमा वितरण  गरिने उनको भनाइ छ।

(याे पनि)



सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.