|

काठमाडौँ : नेपाल खुला विश्वविद्यालय सञ्चालन भएको ६ वर्ष भएको छ। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालयले २०७४ जेठ ३० देखि शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको थियो। ६ वर्षदेखि ललितपुरको मानभवनमा भाडाको घरबाट विश्वविद्यालय सञ्चालन हुँदै आएको छ। 

खुला विश्वविद्यालयको सानोठिमी भक्तपुरस्थित जग्गा वर्षाौंदेखि झारपातले ढाकेको छ। अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र चिकित्सा शिक्षा आयोगको अगाडि रहेको खाली जग्गामा ‘नेपाल खुला विश्वविद्यालय भवन निर्माणस्थल’ नामको बोर्ड वालमा ठड्याएर राखिएको छ भने भित्र बिजुलीका पोल राखिएका छन्।

उक्त हातामा झारपात पलाएको छ। यतिखेर गाईभैंसी चर्ने चौर भएको देखिन्छ। उक्त विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले २०७८ सालमै थाहाखबरसँग आफ्नै भवन बनाउने र ७ वटै प्रदेशमा अध्ययन केन्द्र खोल्ने बताएका थिए तर हालसम्म उनको भनाइ पूरा भएको छैन।

बजेट विनियोजन भए पनि किन बन्दैन भवन ?

सञ्चालनमा आएसँगै भक्तपुरमा खुला विश्वविद्यालयको भवन बनाउने योजना बने पनि उक्त योजना पूरा हुन सकेको छैन। सरकारले विश्वविद्यालयलाई आव २०७६।०७७ मा सञ्चालन खर्च ७ करोड ३५ लाख रुपैयाँ र भौतिक निर्माणका लागि ७ करोड रुपैयाँ छुट्याएको थियो। यद्यपि संरचना भने अहिलेसम्म बनेन। विश्वविद्यालयका रजिष्ट्रार डा. विष्ट भने जग्गा प्रक्रियाकै कारण समयमा भवन बनाउन नसकिएको तर्क गर्छन्।

‘सरकारले भक्तपुरमा केन्द्रीय भवन बनाउन जग्गा उपलब्ध गरायो तर त्यस वेलाको चिठ्ठीमा हाललाई अर्को व्यवस्था नभएसम्म भन्ने थियो, पछि अर्को नगरपालिकाको नियममा सरकारी जग्गा लिजमा दिने भनियो। यसका लागि चिठ्ठीमा लिजको नक्सा पास नै चाहिने भयो। यसैका लागि अहिले काम भइरहेको छ’, उनले भने।

उनले कानून‚ न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय मागेको जानकारी दिए। जग्गा नक्सा पास भएपछि तत्कालै भवन निर्माणको काम थालिने पनि उनले बताए। यसका लागि बजेटको अभाव नभएको उनको भनाइ छ। उनका अनुसार करिब १२ राेपनी जग्गामा भवन बनाउन १५ करोडभन्दा बढी बजेट छुट्याइएको छ।

यसकारण खोलिएको थियो खुला विश्वविद्यालय

कतिपय व्यक्ति उच्च शिक्षा हासिल गर्ने चाहना हुँदाहुँदै पनि कहिले जागिर त कहिले पारिवारिक समस्याका कारण पढ्नबाट वञ्चित हुन्छन्। उनीहरूको अध्ययन गर्ने इच्छा पूरा गर्न नेपाल खुला विश्वविद्यालय खोलिएको हो। विश्वविद्यालयले दूर शिक्षा प्रदान गर्दै आएको छ।

सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ को दफा (३) को उपदफा (१) मा उल्लेख छ, ‘खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन,अध्यापन तथा अनुसन्धान गर्ने, गराउने काम समेतका लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको छ।’

घरैमा बसेर वा पढाइ हुने ठाउँभन्दा टाढाबाट शिक्षा प्राप्त गर्ने तरिका दूर शिक्षा हो। यसमा पत्राचार, श्रव्य र श्रव्यदृश्य प्रविधिमा आधारित माध्यमबाट शिक्षा दिइन्छ। यसरी शिक्षा प्रदान गर्न यो विश्वविद्यालय खुलेको विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट बताउँछन्।

‘विभिन्न भूगोलमा बस्ने, भौतिक उपस्थितिमा पढ्न नसक्नेलाई गुणस्तरीय उच्च शिक्षाको अवसर दिन यो विश्वविद्यालय खुलेको हो, विभिन्न पेसामा लागेर पढ्न नपाएकाहरूले यस विद्यालयमा पढ्न पाउँछन्। हामीले इन्टरनेटको माध्यमबाट शिक्षा दिइरहेका छौँ’, उनले भने।

उनका अनुसार दैनिक साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म अनलाइनबाट पठनपाठन हुन्छ। यसमा देशभरका विद्यार्थीले पढ्ने अवसर पाएका छन्। हाल विश्वविद्यालयमा करिब ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

यो विश्वविद्यालयमा फ्याकल्टी अफ सोसल साइन्स एण्ड एजुकेशन, फ्याकल्टी अफ साइन्स एण्ड हेल्थ टेक्नोलजी र फ्याकल्टी अफ म्यानेजमेन्ट एण्ड ल संकाय छन्। खुला विश्वविद्यालय : यसरी पढ्न पाइन्छ प्रमाणपत्र तहदेखि पिएचडीसम्म। अहिले पनि विभिन्न शैक्षिक कार्यक्रमको लागि भर्ना सूचना जारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.