|

काठमाडौँ : बालेन शाहले काठमाडौँ महानगरपालिकाको बागडोर सम्हालेको १८ महिना भएको छ। २०७९ जेठ १२ गते स्थानीय तह निर्वाचनबाट महानगरपालिकाको महानगर प्रमुखमा उनी निर्वाचित भएका थिए। उनी निर्वाचित भएपछि जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाए।

उनले महानगरभित्रको सार्वजनिक शिक्षासमेत सुधार्ने प्रतिबद्धता जनाएका थिए। जसअनुसार महानगर सम्हालेपछि धेरै शिक्षा क्षेत्रमा सुधार ल्याएको प्रशंसा सुनिने गरेको छ। उनी निर्वाचित भएपछि महानगरको शिक्षामा के-के परिवर्तन भए? यसबारे चर्चा गर्ने छौँ। 

तलब भत्ता मासिक रूपमा भुक्तानी 

महानगरपालिकाले महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरूलाई मासिक रूपमा तलब र भत्ता प्रदान गरेको छ। काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले मासिक रूपमा शिक्षकहरूलाई तलब दिइसकेको जानकारी दिए।

काठमाडौँ महानगरका प्रमुख बालेन र उपप्रमुख सुनिता डंगोलले आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै साउनबाटै महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रूपमा तलब दिने घोषणा गरेका थिए।

‘शिक्षकहरूलाई मासिक रूपमै तलब र भत्ता प्रदान गरिएको छ,’ उनले भने। यसअघि शिक्षकहरूले त्रैमासिक रूपमा तलब पाउने गरेका थिए।

अनलाइनबाट दिवा खाजा व्यवस्थापन

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाले अनलाइनबाटै दिवा खाजाको व्यवस्थापन गरेको जानकारी दिए। सरकारले दिवा खाजा कटौती गरिरहेका वेला काठमाडौँ महानगरले भने बजेटमार्फत नै कक्षा–१० सम्मलाई दिवा खाजा दिने घोषणा गरेको थियो।

उक्त घोषणाअनुसार रकम निकास, विद्यार्थी संख्या यकिनलगायत सबै प्रकृया अनलाइनबाट सुरू गरिएको उनले बताए।

शिक्षामा सीप कार्यक्रम

महानगरपालिकाले आवमा शिक्षामा सीप कार्यक्रम घोषणा गरेअनुसार उक्त कार्यक्रम पनि कार्यान्वयनमा आइसकेको छ। महानगरभित्रका सरकारी विद्यालयमा प्रत्येक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ हुन्छ, जसमा विद्यार्थीले विभिन्न सीप सिक्न पाइरहेका छन्। 

महानगरपालिकाका अनुसार कक्षा ९ मा नमुनाका रूपमा थालिएको यो कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्।

फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला तालिमका विधा छन्।

विद्यार्थी तथा शिक्षक यो कार्यक्रम निकै प्रभावकारी भएको बताउँछन्। ‘यो कार्यक्रमबाट विद्यार्थीहरू पनि निकै खुसी देखिन्छन्, यसबाट धेरैले व्यावहारिक ज्ञान र सीप सिकिरहेका छन्,’ महानगरपालिकाको शिक्षा विभाग प्रमुख कोइरालाले भने।

छात्रवृत्ति वितरणमा नियमन

महानगरपालिकाले छात्रवृत्ति वितरणमा पनि नियमन गरेको छ। कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी तोकिएबमोजिम छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर यो व्यवस्थाअनुसार निजी विद्यालयले छात्रवृत्ति नदिने गरेपछि महानगर आफैंले परीक्षा सञ्चालन गरी छात्रवृत्ति वितरणको व्यवस्था गरेको हो।

योसँगै निजी विद्यालयमा भएको मनोमानी हटेको छ। उक्त छात्रवृत्तिबाट ३ हजारभन्दा बढी विद्यार्थीहरूले लाभ लिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले गत जेठ ३० गते विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा संस्थागत विद्यालयको नाम पनि सार्वजनिक गरेको थियो।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट थालनी

काठमाडौँ महानगरपालिकाले शैक्षिक सुधारकै लागि पहिलो पटक आफैँले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने थालनी गरेको छ। गत कात्तिक १७ गते खुला प्रतिस्पर्धाबाट करारमा ५ वर्षको लागि प्रधानाध्यापक नियुक्तिको आवेदन महानगरले आह्वान गरेको थियो। महानगरपालिकाले ७१ पदका लागि आह्वान गरेकोमा १५० आवेदन पनि परे।

मंसिरभरिमा सबै काम सक्ने र पुस १ गते प्रधानाध्यापक नियुक्ति गर्ने महानगरपालिकाको कार्यतालिका थियो। तर उच्च अदालत पाटनले तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न काठमाडौँ महानगरलाई अन्तरिम आदेश दिएको छ।

​उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले मंसिर ५ गते उक्त आदेश जारी गरेपछि उक्त नियुक्ति प्रकृया भने रोकिएको छ। 

‘शिक्षामा स्वर्णिम योजना ल्याएका छाैँ’ 

महानगरपालिकाको शिक्षा विभाग प्रमुख कोइरालाले यी माथिका बाहेक शिक्षा क्षेत्रमा अन्य परिर्वतन तथा सुधारहरू भएको दाबी गर्छन्। उनले शिक्षाको लागि स्वर्णिम आयोजना पनि कार्यान्वयनमा आएको बताए।

‘आवश्यक शिक्षक नियुक्ति, विद्यार्थीहरूलाई गरिखाने शिक्षाको लागि स्वर्णिम र गौरवको आयोजना ल्याएर कार्यान्वयनमा भइरहेको छ, स्रोत व्यक्ति व्यवस्थापनको लागि निर्देशिका जारी हुने क्रममा छ, शिक्षकहरूलाई तालिम दिने कार्य भइरहेको छ, यसबाट महानगरभित्रको शिक्षण सिकाइमा धेरै उपलब्धि मिलेको छ,’ उनले भने। 

यसो भन्छन् शिक्षाविद् शाही

शिक्षाविद् डा. मीनबहादुर शाही महानगरपालिका भित्रको शिक्षा क्षेत्रलाई नजिकबाट नियालिरहेका छन्। उनी बेला बेला महानगरभित्रको सामुदायिक विद्यालयहरूको शिक्षण सिकाइको अनुसन्धान, अनुगमन पनि गर्छन् र नयाँ जानकारीहरू लिइरहेका छन्।

उनी पनि महानगरपालिकाको नगरप्रमुखमा बालेन आएपछि शिक्षा क्षेत्रमा सुधारका कामहरू भइरहेको बताउँछन्। उनले भने, ‘नगरप्रमुख बालेनले शिक्षा क्षेत्रमा भएका जुन प्वालहरू थिए, त्यो टाल्ने प्रयास गर्दै छन्, आवश्यक शिक्षक दिने, शिक्षण सिकाइका सामग्रीको व्यवस्थापन, विद्यालयमा कडाइ, शिक्षकहरूलाई प्रोत्साहनलगायत काम गर्दै आएका छन्।’

तर केही कुराहरूमा भने नगरप्रमुख शाह चुकेको उनी बताउँछन्। ‘काम त भइरहेको देखिन्छ तर मुख्य चाहीँ शिक्षा क्षेत्रमा भएका समस्या सुधारका लागि समग्र शिक्षा योजना उहाँमा छैन, महानगरभित्रका अधिकांश विद्यालयहरू जोखिममा छन् तर केही विद्यालयमा बढी लगानी गर्ने त कुनैमा चासो नलिएको पनि देखिन्छ,’ उनले भने।

महानगरपालिकाको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमलाई कानुनी ढंगबाटै सञ्चालनमा ल्याउनुपर्ने उनले बताए। उनले भने, ‘यो कार्यक्रम कानुनी रूपमा पाठ्यक्रममै समावेश भए मात्रै बलियो हुन्छ।’

उनका अनुसार उत्पादन, बजार व्यवस्थापन, आयआर्जनलगायत सबै विषयहरू पाठ्यक्रममै समावेश गरी सबै विद्यालयहरूमा अनिवार्य गराउनुपर्छ।

यी लगायत शिक्षा क्षेत्रलाई व्यापक सुधार गर्ने हो भने पहिला शिक्षामा लगानी गर्नुपर्ने उनको सुझाव छ। ‘अहिलेका विद्यालयहरू चिया पसल जस्ता देखिन्छन्, कम्तीमा पनि एकै ठाउँमा १० हजार विद्यार्थी पढ्ने खालको विद्यालय होस् न,’ उनले भने, ‘यसका लागि सपोर्ट मात्रै गरेर हुँदैन लगानी बढी चाहिन्छ।’

उनले भएका ऐन, नियम कडाइका साथ नियमन गरेमा स्वतः महानगरको शिक्षामात्र नभइ सबै ठाउँको विद्यालयमा सकारात्मक प्रभाव पर्ने बताए।

‘चक्र अनुसारको योजना बन्नुपर्छ, जस्तो वैशाखदेखि चैतसम्म के-के क्रियाकलाप हुन्छन्, के कस्ता उपलब्धि गर्न सकिन्छ लगायत पक्षमा ध्यान दिएर योजना बनाउनुपर्छ,’ उनले भने।

‘बालेन आएपछि शिक्षा क्षेत्रको सुधारमा धेरै फरक पाएँ’

शिक्षा क्षेत्रलाई सुधार गर्ने वा बिगार्ने दुवै जिम्मा स्थानीय तहले पाएको छ। त्यसो त सरकारले अधिकार दिएपछि सार्वजनिक शिक्षा सुधारमा स्थानीय तहको अहम् भूमिका आवश्यक छ।

कलंकीस्थित जनपथ माविका प्रधानाध्यापक जीतबहादुर लामिछाने महानगरपालिकाको प्रमुखमा बालेन आएपछि शिक्षा क्षेत्रको सुधारमा धेरै फरक पाएको बताउँछन्।

उनी भन्छन्, ‘काठमाडौँ महानगर प्रमुखलाई सार्वजनिक शिक्षा सुधार गर्नुपर्छ भन्ने हुटहुटी छ, उहाँ आएपछि शिक्षामा धेरै सुधार हुँदै पनि गएको छ, त्यहीअनुसार हामीले पनि काम गरिरहेका छौँ, यसमा झनै हौसला पाउने माहोल बनाइदिनुभयो।’

उनका अनुसार पहिला धेरै विद्यालयमा राजनीतिक गतिविधि हुन्थ्यो। अहिले हटेको छ।

यस्तै, महानगरबाट सेनिटरी प्याडको पैसा आउँदैन थियो। ‘अहिले पैसा आउन थाल्यो, बुक फ्रि फ्राइडे छँदै छ,’ उनले भने, ‘यी सबै कामहरू हेर्दा उहाँमा गुणस्तरीय शिक्षा सुधार गरौँ है भन्ने छ।’ 

सोही विद्यालयकी शिक्षिका रीता अर्याल बालेन शाहले ल्याएको विभिन्न शिक्षासम्बन्धी कार्यक्रममध्ये बढी ‘बुक फ्रि फ्राइडे’ नै  प्रभावकारी देखिएको बताउँछिन्। उनले भनिन्, ‘अन्य दिनहरूभन्दा शुक्रबार विद्यार्थीहरू धेरै खुशी हुने र रमाउने गर्छन्, धेरै व्यावहारिक ज्ञान पनि सिकिरहेका छन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.