|

काठमाडौँ : यही मंसिर १५ गते बिहान करिब साढे ९ बजे धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा ६२ वर्षकी वृद्धा मनकुमारी सर्किनी आफ्नै घरमा मृत भेटिइन्।

उनका छिमेकीले प्रहरीसम्म सुचना पुर्‍याएपछि धादिङका प्रहरी निरीक्षक अभय लामाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीलाई हत्या भएको भेउ पाउन समय लागेन। 

घटनास्थलमा मृतकको अनुहारमा कोतरिएको, घाँटीमा डामहरु देखिएको, घटनास्थलमा फुटेका चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट देखिएको घटना प्रकृतिले अनुसन्धान अधिकारी उनको हत्या नै भएको निष्कर्षमा पुगे र आरोपी खोज्नतर्फ अघि बढे।

प्रारम्भिक अनुसन्धानका क्रममा गोलाङकै ४० वर्षका शिवबहादुर बस्याललाई प्रहरीले शंकाको घेरामा राखे। उनले मंसिर १४ गते राति नै वृद्धाको घाँटी थिचेर हत्या गरेको निष्कर्षपछि प्रहरीले बस्याललाई भोलिपल्ट दिउँसो गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्‍यो।

सोधपुछका क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरेका प्रहरीले थाहाखबर बताएको छ। बयानका क्रममा उनले स्थानीय ५४ वर्षका टोपबहादुर सार्की र ४० वर्षका सुनिल नेपालीको निर्देशनमा हत्या गरेको बताएका धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए। उनका अनुसार हत्या गर्न निर्देशन दिएको भनी पोलिएका सार्की र नेपाली पनि पक्राउ परेका छन्।

डिएसपी जैसवारले हत्याका आरोपी बस्याल भने यसअघि पनि जबरजस्ती करणी, चोरीलगायतका फौजदारी कसुरमा पटकपटक सजाय पाएका व्यक्ति भएको बताए।

चोरीको मुद्दामा कैद भुक्तान गरी जिल्ला कारागार धादिङबाट छुटेकै दिन उनले मनकुमारीको हत्या गरेका प्रहरीले जनाएको छ। बस्याल चोरीको मुद्दामा २० महिना कैद बसेर मंसिर १४ गते कारागारबाट छुटेका थिए। सोही दिन गाउँमा पुगेर उनले वृद्धाको हत्या गरेका प्रहरीको दावी छ।

उनले प्रहरीसँग बयानमा घरमा पुगेलगत्तै छिमेकी सार्की र नेपालीले पैसा दिने आश्वासन देखाएर हत्या गर्न लगाएको बताएका छन्। प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.