|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत मंसिर १४ गतेदेखि संकल्प यात्रामा छन्। 

सुदुरपश्चिम बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गरेका ओली अहिले गण्डकी प्रदेश आइपुगेका छन्। जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि एमालेले गर्न चाहेको कामबारे अन्तरक्रिया गर्ने अठोटसहित ओली मध्यपहाडी लोकमार्ग यात्रामा निस्केका हुन्। 

एमालेको तीन साता चल्ने पुष्पलाल मध्यपहाडी यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ। एमालेले २०७३ सालपछि लामो संकल्प यात्रा गरिरहेको छ। एमालेले २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनपछि २०७३ सालमा मेची-महाकाली यात्रा तय गरेको थियो।

त्यसको परिणामस्वरुप २०७४ सालमा एमाले संसद्‍मा पहिलो दल बन्यो तर गएको पछिल्लो निर्वाचनमा एमाले दोस्रो दलमा खुम्चिन पुग्यो भने सत्ताबाट प्रतिपक्षमा पुग्यो।  

करिब दुई वर्ष सत्ताबाट बाहिरिएको एमालेको छवि जनतामा घट्दो अवस्थामा छ। पुराना दलहरूप्रति जनताको बढ्दो आक्रोश र निराशाको भूमरीमा एमाले पनि छ। नयाँ दलप्रति जनताको आकर्षण र वर्तमान व्यवस्था नै परिवर्तनको आवाज उठिरहेक वेला एमाले संकल्प यात्रामा निस्किएको छ। 

ओलीले यो यात्रा एमालेको वार्षिक कार्यक्रमअन्तर्गत गरिरहेका छन्। गत वर्ष मंसिरको चुनावमा अपेक्षित मत नपाएपछि एमालेले मिसन ग्रासरुट चलाएको थियो। त्यो दुई महिने यात्रामा नेताहरुले पार्टी सुदृढीकरण आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरेका थिए। 

त्यही निष्कर्षका आधारमा गत जेठबाट एमाले एक वर्षे विशेष अभियानमा छ। नेताहरू को जिम्मेवारी ब्यापक हेरफेरसहित एक वर्षे अभियानमा रहेको एमालेले जारी संकल्प यात्रालाई सबैभन्दा ठूलो कार्यक्रम भनेको छ। 

गत मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर ओलीले उद्घाटन गरेको यात्रा पुस २ गते पाँचथरको चिवाभन्ज्याङमा पुगेर सकिनेछ। यसक्रममा ओली साना ठूला गरी २५ जिल्लाका ४० स्थानका कार्यक्रममा सहभागि हुने एमालेले जनाएको छ। 

समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने संकथन निर्माण गर्ने प्रयास निकै व्यापक रूपमा भइरहेको भन्दै मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवर्द्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य रहेको एमालेले बताउँदै आएको छ।

विशेषगरी जनतासँग समृद्धिको संकल्प गर्ने उद्देश्यले यात्रा सुरु गरेको एमालेले बाटो बिराएको छ। पुराना दलले केही गर्न नसकेको भन्दै निराश बनेका जनतासँग भेट्न अध्यक्ष ओली आफैँ पुगेका छन् तर जनतासँगको भेटमा एमालेले गरेको काम, भएको कमी कमजोरी,आगामी दिनमा काम गर्ने योजना र जनताको समस्याको विषयमा भन्दा पनि संकल्प यात्रामा ओलीको बाटो सरकारकोविरुद्धको अभिव्यक्तिमा मात्रै मोडिएको देखिन्छ। 

०८४ सालमा हुने आगामी निर्वाचनसम्म पार्टीको अस्तित्व कहाँ पुग्ने हो? भन्ने डरले आत्तिएका ओली जनतामाझ भएका कमी कमजोरी सुधार्ने र जनताका समस्याका विषयमा छलफल गर्नेतिर केन्द्रित छैनन्। प्रत्येक दिन फरक-फरक जिल्लाका कार्यक्रमको अधिकांश समय उनी सरकारलाई नै गाली गरेर बिताएका छन्।

एमालेले अभियानमा अध्यक्ष ओलीको सम्बोधनलाई प्रचार गरिरहेको छ। ओलीले भने सरकारलाई गाली गरेर समय खर्चिरहेका छन्। 

अहिलेको आर्थिक, सामाजिक र राजनीतिक संकटलाई वर्तमान सरकारले थेग्न नसक्ने निष्कष निकालिरहेका ओली ती संकट समाधानको योजना सुनाउँदैनन्। जनताका समस्या सुनेर त्यसको समाधानको उपाय सुनाउँदैनन्। 

एमालेसहितको दलप्रति जनतामा बढेको निराशा र आक्रोशको कुरा सुन्दैनन्। सुनाउँछन् त केवल देशमा रहेको समस्या र सरकारका कमजोरी। 

यात्राको क्रममा शुक्रबार बागलुङको आमसभालाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रघाती काम गर्ने आरोप लगाए।

उनले प्रचण्ड सरकारले देशको इज्जत समाप्त पार्ने टिप्पणी गरे। उनले भने, ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ। राष्ट्रिय हितको रक्षा गर्न सक्दैन। भूमिका बारेमा मुद्दा बोक्न सक्दैन । विकासका काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ। तैपनि यो सरकार बसिरहेको छ।’

देश आर्थिक संकटसँग गुज्रिँदै गइरहेको अभिव्यक्ति दिएका उनले देशलाई यो अवस्थाबाट कसरी निकाल्न सकिन्छ? भन्ने खालका योजना राखेनन्। 

यसअघि बुधबार गुल्मीमा आयोजित कार्यक्रममा ओलीले सरकारमा एमाले रहेन भने दुई वर्षमा नै देश कङ्गाल हुने रहेछ भन्ने कुरा पुष्टि भएको बताए। 

देश बनाउन एमाले नै चाहिने उनले दावी गरे। ‘नेकपा एमालेले बाहेक अरूले यो देश बनाउन सक्दैन, एमालेको एकल बहुमत बिना यो सपना साकार हुनेवाला छैन’, ओलीले भनेका थिए।

रुकुमपूर्व सिस्ने गाउँपालिका–६ रुकुमकोटमा एमाले रुकुमपूर्वले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारका कारण देश असफलताको बाटोमा गइरहेको आरोप लगाए। 

राजनीतिक विश्लेषक डा.विष्णु दाहाल संकल्प यात्रामा एमालेले वास्तविक बाटो नदेखेको बताउँछन्। ०७९ को निर्वाचनमा जनताले दिएको शिक्षाबाट पनि एमालेले सुध्रिने प्रयास नगरेको उनले बताए। ​

संकल्प यात्रामा एमालेले पार्टीको एजेण्डा बोकेर जानुपर्नेमा सरकारको कमजोरीलाई मात्रै बोकेर गएको उनको बुझाइ छ। दाहालले एमालेको संकल्प यात्रा जनतामा केन्द्रित नभएर शक्ति देखाउन मात्रै केन्द्रित भएको बताए। 

‘देशको अर्थतन्त्र डामाडोल छ। भ्रष्टाचार बढेको बढ्यै छ। दैनिक हजारौँ युवा विदेशिनु परिरहेको छ। जनतामा निराशा छाइरहेको यस्तो वेलामा एमालेको यात्रा जनताको समस्या र समाधानमा केन्द्रित हुनुपर्ने थियो तर एमालेको संकल्प यात्रा जनताप्रति होइन पार्टी उपस्थिति देखाउने र सरकारलाई दोष लगाउनेमा केन्द्रित भयो’,उनले भने। 

दाहालले ओली एमालेमा कमजोर बन्दै गइरहेकाले उनले पार्टीमा आफ्नो उपस्थिति र वर्चश्व देखाउनका लागि यो यात्रा गरेको टिप्पणी गरे। एमालेको प्रदेश अधिवेशनमा ५ प्रदेशमा ओलीले चाहेको व्यक्ति हारेकाले उनी कमजोर बनेको दाहालको भनाइ छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.