|

काठमाडौं : काठमाडौंको शान्तीवाटिकामा आवासीय रुपमा बसिरहेका मिटरब्याज पिडितहरूले आफूहरूलाई सरकारले हटाउन खोजेको भन्दै प्रदर्शन गरेका छन्।

गत चैत्रको २० गतेदेखि काठमाडौं स्थित शान्तिवाटिकामा निरन्तर धर्ना तथा स्थानीय स्तरमा मिटर ब्याजविरुद्ध विभिन्न जनसंघर्षका कार्यक्रमहरू भइरहेका छन्।

आफ्ना ६ बुँदे मागलाई सरकार पक्षले यथोचित समाधानका लागि सकारात्मकता नदेखाएको उनीहरूको आरोप छ।

विभिन्न ४२ जिल्लामा हाम्रो संघर्षको कार्यक्रम निरन्तर चलिरहेको छ। केन्द्रिय अभियानको रुपमा काठमाडौं स्थित शान्तिवाटिकामा धर्ना भइरहेको छ। यस क्रममा पछिल्लो समय विकसित मिटर ब्याजका सहरी आयामहरू अध्ययन गरि व्यवहारीक तवरबाट निराकरणको उपाय खोज्न विज्ञ, सरोकारवाला निकाय र पीडितहरूबीच छलफल तथा परामर्श भइरहेको उनीहरूले बताएका छन्। 

‘सरकार पटक पटक आफ्नो असक्षमता ढाकछोप गर्न र समस्या समाधान भयो भन्ने हौवा पिट्न लागि परिरहेको अवस्था छ। कहिले कठपुतली समिति खडा गरि विभिन्न प्रलोभनमा पार्दै अनेक सम्झौता गर्ने, त कहिले प्रहरीका जत्थासहित आएर धम्की दिने कार्य गरिरहेको छ’, उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो केही दिनदेखि पटक पटक प्रहरी धर्ना स्थलभित्र आइ सरकारी आतंक थोपर्ने प्रयत्न भइरहेको उनीहरूको गुनासो छ।

‘सरकार, अदालत, प्रहरी र स्थानीय प्रशासनले पीडितलाई न्याय दिनुको साटो मिटर ब्याजी सुखोरको प्रलोभन र दबाबमा क्रमिक रुपले थप त्रासित एवम् आतंकित बनाउँदै आएका छन्। यसो हुँदा हामी आफ्नो न्यायका लागि शान्तिपूर्ण आन्दोल गर्न पाउने आधारभूत मानव अधिकारको प्रयोग गर्दै आवाज बुलन्द पार्न र जस्तोसुकै संघर्षमा होमिन तयार छौं’, विज्ञप्तिमा भनिएको छ।

सरकारको यस कदमको घोर भर्त्सना गर्दै हाम्रो धर्ना केन्द्रको रक्षार्थ मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति दृढ रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.