|

जुम्ला : बालविवाहलाई कुनै पनि धर्मले प्रोत्साहन नगर्ने धर्मगुरुहरुले प्रष्ट पारेका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित रहेका चन्दननाथ नगरपालिकाभरिका धर्मगुरुहरुले यस्तो बताएका हुन्।

चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा र युनिसेफको आर्थिक सहयोगमा संञ्चालित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको सामाजिक मूल्य मान्यता र लैंगिक असमानतासम्बन्धी कार्यक्रममा सहभागी धर्मगुरुहरुले बालविवाहलगायत समाजमा रहेका हानीकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताएका छन्।

कार्यक्रममा सहभागी रत्नप्रसाद उपाध्यायले बालबालिकाको गाँस, वास, कपास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बालविवाहले असर गरेको बताए। उनले भने‚ ‘त्यसकारण कर्तव्यभन्दा बाहिरको कुरालाई हिन्दू धर्मले स्विकार्दैन।’

उनको यो विचारमा सहमत जनाउँदै नगरपालिकाका दशवटै वडाबाट सहभागी धर्मगुरुहरुले विवाहभन्दा बालबालिकाको लालनपालनलगायत कुरामा जोड दिनुपर्ने बताए।

अधिवक्ता पदमबहादुर शाहीले बालबालिका सम्बन्धमा बनेका ऐन, नियम र कानुनी प्रावधानबारे स्पष्ट पारेका थिए।

उनले अझै पनि गाउँघरमा उमेर नपुगेका केटा केटीको विवाह हुने गरेको बताए। उनका अनुसार नेपालको कानुनले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ। तर विवाहका लागि महिलालाई २० र पुरुषका हकमा २२ वर्षको उमेर हद तोकिएको छ। ​कानूनविपरीतका कार्य गर्नेलाई जेल सजाय र जरिवाना पनि तोकिएको छ।

चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले शारीरिक र मानसिक रुपमा बालविवाहले पूर्ण रुपले असर पारेको बताइन्। हाम्रो समाजमा छोराछोरीहरुको विवाह गरिदिएमा सुध्रिन्छन् भन्ने गलत मान्यताका कारण पनि उमेर नै नपुगी विवाह गर्ने गलत परम्परा रहेको बताइन्।

बालविवाह पूर्णतया रोक्न समाजका सबै मानिसको सक्रियता जरुरी रहेको कार्यक्रमको निष्कर्ष थियो। धर्मगुरुहरु र सामाजिक अभियन्ताहरुबीच ​लैंगिकता र सामाजिक मूल्य मान्यतासम्बन्धी एकदिने अन्तरक्रिया गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.