|

जुम्ला : जुम्लासहित कर्णाली प्रदेशका सबै जिल्लालाई हवाई सेवामा जोड्न माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापन पत्र बुझाइएको छ।

जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कर्णाली प्रदेशको राजधानीसँग हवाई सेवा जोड्न माग गर्दै मुख्यमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाइएको बताए।

लामो समयदेखि भौगोलिक विकटताले पछाडि परेको साविकको कर्णाली अञ्चललगायत कर्णाली प्रदेशका सबै जिल्लालाई विकासका सवै पक्षको दृष्टिकोणबाट राज्यको नजर न्यून परेकाले कम विकसित र मानव विकास सूचकांकमा पनि पछि परेको समन्वय समिति प्रमुख आचार्यले बताए। 

मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा हवाई सेवा प्रदेशको राजधानीसँग नजोडिएको र सडक राम्रो नभएका कारण खस सभ्यताको उद्‌गमस्थल चन्दननाथ तथा भैरवनाथ मन्दिर, डुडुल चैत्य, राराताल, शे–फोक्सुन्डो, मानोसरोवर पदयात्रा, नेपालको अग्लो झरनालगायत पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नसकिएको उल्लेख छ।

यसैगरी ‘हाम्रा पूर्वाधारको वर्तमान अवस्थामा आम नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्न सकेको छैन। जनताको चाहना पूरा हुने सुनिश्चित गर्दै राज्य संरचनामा सकारात्मक परिवर्तन ल्याउने काममा हामी सबैको योगदान रहेको स्मरण गराउँदै हाम्रा नागरिकका अत्यावश्यक आवश्यकताहरु पूरा हुन बाँकी नै छन्’ ज्ञापन पत्रमा उल्लेख छ।

दुई लेनको भरपर्दो कर्णाली राजमार्गको मागसमेत ज्ञापन पत्रमा गरिएको छ। अव्यवस्थित हवाई यातायात व्यवस्थित गर्न र आधारभूत सुविधाको अभिवृद्धि गर्दै कर्णाली क्षेत्रको विकासमा ध्यान दिन पनि ज्ञापन पत्रमा माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.