|

काठमाडौं : नेपाली कांग्रेसको इतर पक्षले राष्ट्रियसभा निर्वाचनको लागि उपयुक्त मापदण्ड बनाउन पार्टीलाई दबाब दिने भएको छ। बुधवार बसेको इतर पक्षको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि मापदण्ड बनाउन दबाब दिने निर्णय गरेको हो। 

चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकाहरूलाई राष्ट्रियसभामा लान नहुने निष्कर्ष बैठकले निकालेको छ। बैठकमा सहभागी इतर पक्षका अधिकांश नेताले पटक पटक अवसर पाएका, अघिल्लो चुनाव हारेका र समानुपातिक सूचीमा बसेकाहरुलाई राष्ट्रियसभा चुनावमा सहभागी नगराउने खालको मापदण्ड बनाउन पार्टीमा दबाब दिनुपर्ने धारणा राखेका थिए। 

बैठकपछि पत्रकारहरुसँग महामन्त्री गगन थापाले अहिलेसम्म पार्टीले निर्वाचनको लागि मापदण्ड बनाउन नसकेको भन्दै राष्ट्रियसभा निर्वाचनको लागि मापदण्ड बनाउनुपर्ने बताए।

१४ औँ महाधिवेशपछि तीनवटा चुनाव भए पनि अहिलेसम्म मापदण्ड बनाउन नसकेको भन्दै उनले यस पटकको राष्ट्रियसभा निर्वाचनमा मापदण्ड बनाउनुपर्नेमा जोड दिए। 

थापाले सभापति शेरबहादुर देउवा पार्टीको नभई गुटको मात्रै सभापति बनेको आरोपसमेत लगाए। उनले राष्ट्रियसभा निर्वाचनको टिकट वितरणमा देउवा कांग्रेस सभापति बन्न सक्छन् कि सक्दैनन् प्रस्ट हुने बताए। 

नेता गुरुराज घिमिरेले पनि चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताए। बैठकमा नेता घिमिरेले कोशीका मुख्यमन्त्रीले २ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकामा आपत्ति जनाए। शेखर पक्षकै नेता कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

बैठकमा वर्तमान सरकारको कार्यशैली र सरकारमा कांग्रेसको भूमिकाको विषयमा समेत छलफल भएको थियो। माओवादीको नेतृत्वमा बनेको सरकारको कार्यकाल एक वर्ष पुगिसकेकोले सरकारको कामको समीक्षासमेत हुनुपर्ने विषयमा बैठकमा कुरा उठेको नेता अर्जुननरसिंह केसीले बताए। 

उनका अनुसार बैठकमा बोल्ने नेताहरुले सरकारको काम र सरकारमा बसेर कांग्रेसको भूमिका चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका थिए।

‘सरकारमा कांग्रेसको उपस्थिति राम्रो हुन सकेन भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ। सरकार बनेको एक वर्ष भइसकेकोले अब मूल्यांकन गर्न आवश्यक रहेकोमा साथीहरुको जोड थियो’, केसीले भने। 

उनले सभापति देउवाले फेरि महासमिति बैठक सार्न लागेको विषय पनि बैठकमा उठेको बताए। महासमिति बैठक सार्ने विषय कार्यसम्पादन समितिको बैठकमा ल्याए अस्विकार गर्ने केसीले बताए।

उनले संस्थापन पक्षले एकलौटी रुपमा गर्दै आएको क्रियाकलापविरुद्व महासमिति बैठकमा संयुक्त रुपमा प्रस्तुत हुने निर्णय आफ्नो समूहको भएको बताए। 

बैठकमा संविधान परिमार्जन गर्न आवश्यक रहेको समेत औंल्याइएको थियो। ‘बैठकमा संवैधानिक सुधारको कुरा पनि उठेको छ। महासमिति बैठकमा जनताको निराशा चिर्नेगरी संवैधानिक सुधार गर्नुपर्ने धारणा बनेको छ’, केसीले भने। 

केसीले अहिलेको संघीयताको भार जनताले खेप्न नसकिरहेकोले संविधान परिमार्जनमार्फत केही कुरा सुधार गर्नुपर्ने बताए। 

राष्ट्रियसभा चुनावमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ उम्मेदवार बन्ने चर्चा छ। उनीहरुप्रति लक्षित गर्दै इतर पक्षले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताएको छ।

सिटौला र श्रेष्ठलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्न इतर पक्षले निश्चित मापदण्ड बनाउन पार्टीमा दबाब दिने निष्कर्ष नै निकालेको छ। 

सिटौला गत वर्ष भएको आम निर्वाचनमा झापा–३ मा पराजित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिको उम्मेदवार सूचीमा भए पनि सांसद चयन हुन सकेका थिएनन्। 

मेटिदैँ शेखर–गगनबीचको दूरी

लामो समयदपछि महामन्त्री थापा र नेता कोइराला एकसाथ उभिएका छन्। 

१४औं महाधिवेशनमा एउटै समूहबाट चुनाव लडेका गगन–शेखरबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन। उनीहरुबीच पछिल्लो समय खासगरी कोशी विद्रोहपछि संवादहीनताको अवस्था थियो। 

नेता कोइरालाले सभापति देउवासँग समूहगतभन्दा पनि व्यक्तिगत डिल गरिरहेको आरोप थापाको थियो। कोइरालाले कोशी प्रदेशमा पार्टीमा विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि यी दुईबीचको दूरी अझ बढेको थियो। 

शेखर–गगनबीच दूरी बढ्नुले कांग्रेसभित्रको प्रतिपक्षी धार कमजोर बन्दै गएको टिप्पणी भइरहेको थियो। नेतृत्वलाई खबरदारी गर्नुपर्ने इतर पक्षका दुई नेताबीच दूरी बढ्दा सभापति देउवाको ‘मनमौजी’ बढेको नभएर, पार्टीभित्र विकृति पनि बढिरहेको आरोप थियो। 

तर नेता केसीसहित इतर पक्षको दबाबमा दुई नेताबीच वार्ता भएसँगै आजको बैठकमा महामन्त्री थापा आउन तयार भएका हुन्। शेखर र गगनबीच नेता केसीको घरमा वार्ता भएको थियो।

कोइरालाले मंगलवार दिउँसो १ बजेका लागि आफ्नो पक्षको बैठक बोलाएका थिए। आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल गर्न बोलाएको बैठकमा महामन्त्री थापा आउन नभ्याउने भएपछि कोइरालाले बैठक नै बुधवारको लागि सारेका थिए। 

थापाले मंगलवार बारामा आफ्नो निर्धारित कार्यक्रम रहेको भन्दै बैठकमा सहभागी हुन नसक्ने बताएपछि कोइरालाले इतर पक्षको बैठक बुधवार सारेका थिए। एकदिन बैठक सारेका कोइरालाले नेता केसीको पहलमा मंगलवार थापासँग लामो संवाद गरेका थिए। 

कोइरालासँग ‘वान टु वान’ वार्तापछि थापा बुधवारको बैठकमा आउन सहमत भएका थिए। बैठकमा दुवै नेताले आफूहरुबीच कुनै समस्या नभएको प्रस्ट पारे। भेलामा नेताहरुले पछिल्लो समय भएको विमतिको विषयमा प्रश्न उठाएपछि उनीहरुले कुनै समस्या नभएको स्पष्टीकरण दिएका हुन्।

बैठकपछि पत्रकारहरुसँग नेता कोइरालाले एजेण्डाको सवालमा महामन्त्री थापासँग कुनै विमति नभएको स्पष्टीकरण दिए। 

महामन्त्री थापाले पनि आफूहरुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको बताए। ‘हाम्रो बीचमा कम छलफल गर्दा समस्या देखिएका हुन्। मूलभूत रुपमा हामी सबै एकै ठाउँमा छौं। पार्टीभित्रको सुझाव र सुशासनको सवालमा पनि एकै ठाउँमा छौं’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.