|

काठमाडौँ :​ वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए। लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ।​

शनिवार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्।

‘चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ। अहिलेका कतिलाई लोकले मानेको छ? मानेको छैन। राष्ट्रपति हुँदैमा सम्माननीय हुँदैन। लोकले मान्नुपर्छ। हामीले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्छ। विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठानले गर्नुपर्ने भन्ने कुरा आयो। गर्छु भनेर पनि सरकारले सहयोग गर्दैन। आ–आफूमा माननीयहरूले पाँच करोड, कति कति राख्छन् तर देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्छौं पैसा देऊ भन्दा मान्दैन।’

उनले नेताहरूले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताए। उनले आफू नेपाल प्रज्ञाप्रतिष्ठानमा रहँदा सातवटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागे पनि सरकारले सहयोग नगरेको गुनासो गरे। उनले नेपालको सर्वांगीण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको बताए।

गुरुङले भने, ‘नेपाल प्रज्ञाप्रतिष्ठानमा आएपछि मैले के कुरा उठाएँ भने सत्यमोहन जोशीको संयोजकत्वमा यस्तो काम गरेको छ। नेपाल चिनाउने ग्रन्थ छैन, अहिले नेपाल सात प्रदेशमा विभाजित भयो, सातै प्रदेशको सर्वांगीण विषय समेटिएको ग्रन्थ रचना गर्नुपर्छ भनेर एउटा परियोजना सञ्चालन गर्ने लक्ष्य राखेका थियौँ तर नेपाल सरकारबाट सहयोग भएन।’

उनले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए।

यो पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन्। ९८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधालाई केलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.