|

काठमाडौँ : देशभरका सरकारी अस्पतालमध्ये भक्तपुर जिल्ला अस्पतालले उत्कृष्ट सेवा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका स्वास्थ्य संस्थाहरूको 'न्यूनतम सेवा मापदण्ड'को रिपोर्टमा भक्तपुर अस्पतालले सबै भन्दा धेरै (९७) अंक ल्याएको हो।

अस्पतालले दिने सेवाका आधारमा मन्त्रालयले १०० पूर्णाङ्क राखी नम्बर दिने गर्छ। मापदण्डअनुसार जसको धेरै नम्बर आयो, उसकै सेवा उत्कृष्ट भएको मानिन्छ।

सोही आधारमा यसपटक देशभरको अस्पतालमध्ये भक्तपुर अस्पतालले धेरै नम्बर ल्याएको हो। यस्तै धादिङ र कपिलवस्तु अस्पतालले पनि राम्रो सेवा दिएको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले अघि सारेका स्वास्थ्यका कार्यक्रममार्फत दिइएको सेवा, विरामीको अनुपातमा स्वास्थ्यकर्मीको उपलब्धता र बिरामीहरूले पाउने छिटो-छरितो र गुणस्तरीय स्वास्थ्य सेवाका आधारमा अस्पतालहरूले अंक पाउने गर्छन्।

भक्तपुर अस्पतालका सुपरिटेन्टेन्ट डा त्रिभुवनचन्द्र झाले अस्पताल यसअघि पनि ८८ अंक ल्याएर उत्कृष्ट सेवा दिने अस्पतालहरूमा परेको बताए।

'अस्पतालले अहिले फेरि आफ्नो सेवालाई झन् राम्रो गराएर ९७ अंक ल्याएको हो', डा झाले भने, ‘यसअघि पनि हामीले राम्रै अंक पाएका थियौँ, यसपटक त झन् उत्कृष्ट नै भएका छौँ।'

भक्तपुरपछि धादिङ र कपिलवस्तु उत्कृष्ट

भक्तपुरपछि धादिङ जिल्ला अस्पतालको सेवा उत्कृष्ट रहेको पाइएको छ। धादिङ अस्पतालले ९६ अंक पाएको छ। यस्तै कपिलवस्तु जिल्ला अस्पतालले पनि ९६ अंक ल्याएको छ। 

सुदुरपश्चिम प्रदेशको बैतडी जिल्ला अस्पतालले ९५ अंक ल्याएर उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। मन्त्रालयको विवरण अनुसार देशभरका जिल्ला अस्पतालमध्ये २६ वटा जिल्ला अस्पालहरूको सेवा मात्रै राम्रो रहेको पाइएको छ। अन्य अस्पतालले न्यूनतम सेवा पनि राम्रोसँग दिन नसकेको पाइएको हो।

 सबैभन्दा धेरै बिरामी उपचार गर्ने भनेर चिनिएको चितवनस्थित भरतपुर अस्पतालले दिएको सेवा खासै राम्रो देखिएको छैन। भरतपुर अस्पतालले जम्मा ६४ अंक मात्रै पाएको छ।

यस्तै धेरै विरामीको चाप हुने पूर्वको कोशी अस्पतालको 'न्यूनतम सेवा मापदण्ड पनि एकदमै कमजोर पाइएको छ। कोशीले जम्मा ४९ अंक ल्याएको छ।

मन्त्रालयले ८५ भन्दामाथि अंक ल्याउने अस्पतालहरूलाई उत्कृष्ट सेवा दिने सूची (ग्रीन जोन) मा राख्ने गरेको छ। ७० देखि ८५ सम्म अंक ल्याउने अस्पताललाई सन्तोषजनक सेवा दिएको भन्दै ब्लु जोनमा राखिन्छ।

यस्तै ५० देखि ७० अंक ल्याउने अस्पतालको सेवा कमजोर भएको मानिन्छ। ती अस्पताललाई एल्लो जोनमा राख्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.