|

धनकुटा : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सम्बन्धमा सरकारले छानबिन समिति बनाएर काम गरिरहेको बताएकी छन्।

मध्य पहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले बाहिर हल्ला भएजस्तो सरकार चुप लागेर नबसेको र जनप्रतिनिधि, नेता तथा मन्त्रीहरूलाई लगाइएको आरोपमा सत्यता नभएको बताइन्।

उनले कोशी प्रदेशभित्र कुल ६८३ किलोमिटर दूरीमा सूचना महामार्ग निर्माण गरिएको र यो दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा यो निकै ठूलो उपलब्धि भएको बताइन्।

उनले नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा देशको कुल ६७ प्रतिशत क्षेत्रमा विस्तार गरिएको बताउँदै शतप्रतिशत क्षेत्रमा विस्तार गर्न लागि परेको बताइन्।

उनले नागरिकता तथा राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, जग्गा रजिष्ट्रेशन, श्रम स्वीकृति, सवारीचालक अनुमतिपत्र, नो अब्जेक्सन सर्टिफिकेट लगायतका सेवाका लागि सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको जानकारी दिइन्।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याइएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो।

यो महामार्गको सहप्रयोगबाट जुनसुकै इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउनेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल दूरसञ्चार कम्पनीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षता भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.