|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताएका थिए।

आइतबार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उनले राज्यको खर्बौं सम्पत्ति नोक्शान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो? भनी प्रधानमन्त्री दाहाललाई प्रश्नसमेत गरे।

सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो। उनले व्यक्तिको फाइदाका लागि राज्यको सम्पत्ति डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए।

अध्यक्ष ओलीले भने, ‘यत्रो एनसेल, खर्वौको सम्पत्ति अर्बमा। त्यो त कति प्रतिशत भन्ने? यसरी बेच्ने काम गरिन्छ। अब बेचेको कहिले होइन भन्छ सञ्चार मन्त्रालय। फेरि हो भन्छ–सञ्चार मन्त्रालय। के हो त्यो? अर्कोको हो भन्छ, फेरि अर्काले होइन भन्छ। यस्तो खालको हुनुभएन।

उनले अगाडि भने, 'केपी ओलीले पनि चिन्नुभएको छ नि भनियो । केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन? चिन्छ नि त। अनि व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो? त्यसकारण यस्ता खालको असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कातिर मोडेर पाइन्न।’

अध्यक्ष ओलीले डेडिकेटेड लाइनबाट विद्युत् उपयोग नगरेका उद्योगीहरुको विद्युत काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराए।

मुलुकमा उद्योगी, व्यवसायीहरु मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाईन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको पनि विद्युत लाईन काट्ने काम गर्न नहुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.