|

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन मिति नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ गठबन्धन बनाउन विभिन्न रणनीति अपनाउन थालेको छ। 

एक्लै जाँदा सबै सिट गुमाउने निश्चित देखेपछि एमालेले सत्ता गठबन्धनलाई भत्काएरै भए पनि आफ्नो गठबन्धन बनाएर जाने रणनीति अपनाएको हो। 

फागुन २० गतेपछि २० जना राष्ट्रियसभा सदस्य (एक मनोनीत)को कार्यकाल सकिएर बिदा हुँदै छन्। जसमा एक मनोनीतसहित एमालेका ९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदैछ। बाँकी कांग्रेसका ४ जना, माओवादी केन्द्रका ३ जना, नेकपा एकीकृत समाजवादीका २ जना, जसपाका एकजना र स्वतन्त्र एकजना सदस्यको पदावधि सकिँदै छ।

स्थायी सदनमा सदस्य रिक्त हुन एक महिनाअगावै निर्वाचन गराउने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघ ११ गतेका लागि निर्वाचन तोकेको छ। निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान हुने जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने बताइसकेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनमत पार्टीसहितका सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा जाने तयारीमा रहेका हुन्। 

राष्ट्रियसभा निर्वाचनमा दलहरूबीच भागबण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठकसमेत बसिरहेको बेलामा एमालेले सत्ता गठबन्धनकै दलहरुसँग गठबन्धन गरेर आफ्ना रिक्त हुन लागेका ९ वटा सिट सुरक्षित गर्ने गरी रणनीति बनाइरहेको छ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न जुनसुकै दलको लागि पनि ढोका खुल्ला गरेको जनाएको एमालेले सत्ता गठबन्धन घटक दल जसपा र प्रतिपक्षी राप्रपासँग गठबन्धनका लागि वार्ताको प्रयास गरिरहेको बुझिएको छ। 

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई समर्थन दिइरहेको एमालेले राष्ट्रियसभा निर्वाचनअघि जसपालाई सत्ता गठबन्धनबाट आफूसँगको गठबन्धनमा ल्याउनेगरी बार्गेनिङ गरिरहेको एमाले स्रोतको दावी छ। 

हाल जसपा सरकारप्रति असन्तुष्ट भएको मौका पारी एमालेले मधेश प्रदेशलाई केन्द्रित गरी गठबन्धनका लागि वार्ताको तयारी गरिरहेको छ। असन्तुष्ट जसपालाई आफूसँगको गठबन्धनमा तान्न सके सत्ता गठबन्धन भत्कने हुनाले एमालेले जसपालाई धेरैभन्दा धेरै अवसर दिएर तान्ने प्रयास गरिरहेको स्रोत बताउँछ। 

जसपाले छोड्नासाथ वर्तमान सरकार जोखिममा पर्छ र सरकार ढल्न सक्छ। त्यस्तो भएमा एमालेको सरकार बनाउने कुरामा पनि सम्भावना रहन्छ भने राष्ट्रियसभामा पनि आफ्नो सिट सुरक्षित हुनसक्छ भन्ने दाउमा एमाले छ।

जसपाले छोडेर सत्ता गठबन्धन भत्किए कांग्रेससँग पनि गठबन्धन गर्नसक्ने सम्भावनाको खेलमा एमाले लागेको छ। 

कोशीमा कांग्रेसबाट विद्रोह गरी मुख्यमन्त्री भएका केदार कार्कीको सरकार बनाउन एमालेले भूमिका खेलेको थियो। हाल पनि कोशी सरकारलाई एमालेको समर्थन जारी छ।

कार्की मुख्ममन्त्री हुनुअघि एमालेका हिक्मत कार्कीको सरकारलाई राप्रपाले समर्थन गरेको थियो। त्यही लेखाजोखा गर्दै एमाले अहिले जसपा र राप्रपासँग गठबन्धनको लागि वार्ता गर्ने र सत्ता गठबन्धन भत्किए त्यसका फाइदा उठाउने दाउमा छ। 

एमाले प्रतिनिधिसभाका सचेतक महेश बर्तौला वर्तमान सत्ता गठबन्धन राष्ट्रको हितविपरीत रहेकोले एमाले गठबन्धन भत्काउने प्रयासमा रहेको स्वीकार गर्छन्।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका लागि नेपाली कांग्रेस तयार रहे आवश्यक समन्वय गरेर अघि बढ्न एमाले तयार रहेको बर्तौलाले बताए।

‘अंकगणितीय हिसाबमा पनि हामी बलियो बन्न सत्ता गठबन्धनकै दलहरुसँग मिल्नुपर्नेछ। त्यसैले अन्तिम समयसम्म गठबन्धनको कुनै पनि दलसँग सहकार्य गर्ने प्रयासमा हामी रहन्छौँ’, बर्तौलाले भने। 

उनले सत्ता गठबन्धन भत्काउन सके नयाँ राजनीतिक समीकरण पनि बन्न सक्ने भएकाले एमाले सबै दलसँग गठबन्धनको लागि ढोका खुल्ला गरेको बताए। बर्तौलाले एमाले सत्ता गठबन्धनको जसपासँग पनि राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न वार्ता गर्ने तयारीमा रहेको बताए। 

यता जसपाका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव जसपा सत्ता गठबन्धन छोडेर एमालेसँग कुनै हालतमा मिल्न नजाने बताउँछन्। सत्ता गठबन्धनसँग केही असन्तुष्टि भए पनि वार्ताबाट समाधान गरिने भन्दै उनले एमालेसँग गठबन्धन गर्ने कुनै सम्भावना नै नरहेको दावी गरे। 

‘राष्ट्रियसभामा सम्मानजनक भागबण्डा नपाए अरु विकल्प हेर्नसक्छौँ भनेर सत्ता गठबन्धनलाई भनेका छौँ। त्यति नभनिकन त सम्मानजनक भागबण्डा नै हुँदैन नि त! यस्तो भन्नुको अर्थ एमालेसँग मिल्न जानु भन्ने होइन। एमालेसँग हाम्रो गठबन्धन हुFदैन’, उनले भने।

उता राप्रपाले पनि राष्ट्रियसभा निर्वाचनको लागि गठबन्धन गर्न सबै दलको लागि ढोका खुल्लै राखेको बताएको छ। कोसँग गठबन्धन गर्ने भन्ने टुंगो नलगाए पनि गएको निर्वाचनमा पनि एमालेसँग गठबन्धन गरेको राप्रपा अहिले पनि एमालेसँगै नजिक छ। त्यसैले राप्रपाले एमालेसँगै गठबन्धन गर्ने राप्रपाकै नेताहरु बताउँछन्। 

सत्ता गठबन्धनको भागबन्डा भएपछि मात्र एमालेले आफ्ना उम्मेदवार तय गर्ने जनाएको छ। गठबन्धनको मतभार बढी भएकाले एमालेमा राष्ट्रियसभा उम्मेदवारका लागि तँछाडमछाड देखिँदैन।

सत्ता गठबन्धनमा सहभागी ७ दलमध्ये हाल राष्ट्रियसभामा प्रतिनिधित्व भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीचमा मात्रै साझा उम्मेदवार तय भएमा पनि गठबन्धनको पक्षमा ५१ प्रतिशतभन्दा बढी मत देखिन्छ। 

संवैधानिक व्यवस्थाको नयाँ नीतिअनुसार प्रदेशसभा सदस्यको मतभार ५३  हो। यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ छ। मतभार हेर्ने हो भने सत्ता गठबन्धन एमालेभन्दा बलियो देखिन्छ।

कोशी प्रदेशमा कुल मतभार १० हजार १३५ रहेकोमा सत्ता गठबन्धन नै बलियो छ। मधेश प्रदेशमा सत्ता गठबन्धनको मतभार ८ हजारको हाराहारीमा छ।

बागमती प्रदेशमा पनि सत्ता गठबन्धनको मतभार बढी छ। यो प्रदेशमा ३४८ जना मतदाता छन्। उनीहरूको मतभार १० हजार ३५२ छ। यो प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार छ। गठबन्धनको पक्षमा कुल मतभार ६ हजार ७५१ छ, जुन स्पष्ट बहुमत हो।

यस्तै, गण्डकी प्रदेशमा कुल मतदाता २३० जना छन्। यो प्रदेशमा जम्मा मत भार ६ हजार ४१० छ। जसमा गठबन्धनको पोल्टामा ३ हजार ७७४ मतभार छ।

लुम्बिनी प्रदेशमा पनि गठबन्धनकै मतभार बढी छ। यहाँ कुल मतदाता ३०५ छन्। कुल मतभार भने ८ हजार ७५३ रहेको छ।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति र जसपा पार्टीको गठबन्धन सरकार छ भने जनमोर्चा र एकीकृत समाजवादीले पनि साथ दिएका छन्। यसो हुँदा यहाँको गठबन्धनको कुल मतभार ५ हजार ४७७ हुन जान्छ।

यस्तै, कर्णाली प्रदेशमा कुल मतभार ५ हजार १२२ छ। यहाँ माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सरकार छ। जसअनुसार गठबन्धनको मतभार ३ हजार ७०७ छ।

सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन नै बलियो छ। सो प्रदेशमा कुल मतदाता १९८ जना छन् भने जम्मा मतभार ६ हजार १५३ छ।

यो प्रदेशमा पनि गठबन्धनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीको ४ हजार ५१० मत छ। यो प्रदेशका नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सामेल छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.