|

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुबीच वरीयता विवाद चुलिँदै गएको छ। पार्टी सभापतिपछि दोस्रो वरीयतामा को हुने भन्ने विषयले नेताहरुबीच विवाद चुलिएको हो। 

१४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला र हालका उपसभापति पूर्णबहादुर खड्काबीच वरीयताको विवाद चुलिँदै गएको छ।

संस्थापन पक्षका खड्का र इतर पक्षको नेतृत्व गरिरहेका कोइरालामध्ये कसलाई दोस्रो वरीयताको नेता मान्ने भन्ने विषयमा कांग्रेस अहिले दुई धारमा विभाजित बनेको छ। 

१३ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा पराजित भएका रामचन्द्र पौडेललाई कांग्रेसले वरिष्ठ नेताको रुपमा दोस्रो वरीयता दिएको थियो। त्यही आधारमा अहिले कोइरालालाई दोस्रो वरीयतामा राख्नुपर्ने माग इतर पक्षको छ तर संस्थापन पक्ष भने कोइरालालाई दोस्रो वरीयताको नेता मान्न तयार छैन। 

कांग्रेसको विधानमा दोस्रो वरीयताको नेता कसलाई मान्ने भन्ने स्पष्ट उल्लेख छैन। विगतको अभ्यासलाई हेर्दा कोइरालालाई दोस्रो वरीयताको स्थान दिनुपर्ने देखिन्छ तर गुटगत कारणले कांग्रेस नेताहरुले एकले अर्कोको अस्तित्व स्वीकार गर्न सकिरहेका छैनन्। 

उनीहरुबीचको वरीयता विवाद अहिले सार्वजनिक रुपमा नै छताछुल्ल हुन थालेको छ। कांग्रेसमा वरीयता विवाद यति उत्कर्षमा पुगिसकेको छ कि एउटा पक्षको कार्यक्रममा अर्को पक्ष उपस्थित नहुने वा बहिष्कार गर्नेसम्मका गतिविधि हुन थालेका छन्। 

गत बिहीवार कांग्रेस मधेश प्रदेश सम्मेलनमा सभापति देउवा, उपसभापति खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु सहभागी थिए। 

तर सभापति देउवापछिको वरीयता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन्। मधेश प्रदेश सम्मेलनमा कोइरालासँगै नेता विमलेन्द्र निधिले वरीयताका विषयमा असन्तुष्टि जनाए।

कांग्रेसका पूर्व उपभापतिसमेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमा आसन ग्रहण गर्न अस्वीकार गरे। उनी कार्यक्रम अवधिभर दर्शकदीर्घामै बसे।  

यसअघि कांग्रेसको लुम्बिनी प्रदेश समितिले १६ र १७ मंसिरमा गरेको पहिलो सम्मेलनमा पनि वरीयता विवाद छताछुल्ल भएको थियो। पहिलो कार्यक्रम भएकाले प्रदेश समितिले पार्टी सभापति देउवासँगै अरु शीर्ष नेताहरुलाई पनि बोलाएको थियो। 

सभापति देउवा, नेता कोइराला, महामन्त्रीहरु गगन थापा र  विश्वप्रकाश शर्मासहितका नेताहरु उपस्थित भएको उक्त कार्यक्रममा उपसभापति खड्का गएनन्। अर्का उपसभापति धनराज गुरुङ भने त्यति वेला विदेशमा थिए।

लुम्बिनी प्रदेशका एक नेताका अनुसार पहिलो प्रदेश सम्मेलन भएकाले खड्का पनि जान इच्छुक थिए तर पार्टी मर्यादाक्रममा सभापति देउवापछि आफू हुनुपर्ने उनको अडान थियो।

प्रदेश सभापति अमरसिंह पुनलाई उपसभापति खड्काले दोस्रो मर्यादाक्रम नभए आउन नसक्ने बताएका थिए। कोइराला पक्षका नेता पुन खड्कालाई दोस्रो मर्यादामा राख्न तयार भएनन्। फलस्वरुप खड्का कार्यक्रममा नै गएनन्। 

गत मंगलवार भएको गण्डकी प्रदेश सम्मेलनमा पनि त्यही घटनाक्रमले निरन्तरता पायो। गण्डकी प्रदेशमा कोइरालानिकट शुक्रराज शर्मा प्रदेश सभापति छन्। त्यसैले उनले कोइरालालाई नै दोस्रो वरीयता दिए। जसले गर्दा खड्का सो कार्यक्रममै सहभागी भएनन्। 

वरीयता विवाद देखिएपछि कोइराला पक्षले सभापति देउवालाई ज्ञापनपत्रसमेत बुझाएको छ। कांग्रेसमा देउवापछि दोस्रो वरीयताको विषयमा कोइराला र खड्काबीच कुरा मिलेको छैन। इतर पक्षले कोइरालालाई दोस्रो वरीयता दिँदा उपसभापति खड्का त्यो कार्यक्रममा जाँदैनन्। 

शेखर पक्षबाट निर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरुले कोइरालालाई दोस्रो वरीयतामा ल्याउने प्रयास यसअघि पनि गरेका थिए तर देउवाले उनीहरुको कुरा नसुनेपछि पदाधिकारी र पूर्वपदाधिकारीपछिको वरीयतामा कोइरालालाई राखिएको थियो। पछिल्लो समय अर्का नेता गोपालमान श्रेष्ठले पनि वरिष्ठ नेतामा दाबी गर्दै आएका छन्।

यसरी पार्टीकै कार्यक्रममा वरीयतालाई लिएर नेताहरु सहभागी नहुँदा तल्लो तहमा पनि यसको असर पर्न थालेको कांग्रेस नेताहरु बताउँछन्। वरीयता विवादले एकातिर नेताहरुबीच दूरी बढ्दो अवस्थामा छ भने अर्कोतिर नेता कार्यकर्ताहरु दुई धारमा विभाजित हुन थालेका छन्।  

कोइराला पक्षका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पार्टीले नीतिगत रुपमै टुंग्याउनुपर्ने विषय नटुंग्याउँदा समस्या सिर्जना भइरहेको बताउँछन्। १४औँ महाधिवेशनलगत्तै देखिएको वरीयता विवाद हालसम्म नटुंगिँदा पार्टीमा समस्या सिर्जना भइरहेको उनले बताए। 

शिवाकोटीका अनुसार २ वर्षअघि नै यो समस्या समाधान गर्न कांग्रेसले एउटा समिति नै गठन गरेको थियो। उक्त समितिले अध्ययन गरेर प्रतिवेदन पनि बुझाइसकेको छ तर हालसम्म यो विषयको टुंगो भने लागेको छैन। 

पछिल्लो समय पार्टीको कार्यक्रमहरुमा नै वरीयता विवाद देखिन थालेपछि यसको असर पार्टीको संगठनमा पर्न थालेको शिवाकोटी बताउँछन्। ‘वरीयता विवादले भएका पछिल्ला घटनाक्रमको असर पार्टीका संगठनहरुमा पनि पर्न थालिसकेको छ। केन्द्रीय समितिले तत्काल यसको टुंगो नलगाए पार्टीकै अवस्था बिग्रिन सक्छ’, उनले भने। 

शिवाकोटीले एउटा निश्चित मापदण्ड बनाएर पार्टी केन्द्रीय समितिले दोस्रो वरीयताको नेताको विवाद टुंग्याउनुपर्ने र पार्टीको उक्त निर्णयलाई सबैले मान्नुपर्ने बताए।

यसअघि सभापतिमै हारेका वर्तमान सभापति देउवा र पौडेलले वरिष्ठ नेताको रुपमा दोस्रो वरीयता पाएकोले पार्टीमा सभापतिमा हारेको व्यक्तिले दोस्रो वरीयता पाउने नजीर बसेको उनको भनाई छ। यस आधारमा १४औँ महाधिवेशनमा देउवासँग हारेका कोइरालाले दोस्रो वरीयता पाउनुपर्ने शिवाकोटीले बताए। 

‘अहिलेका सभापति देउवा पनि पहिला दुईपटक पराजित भएर नै वरिष्ठ नेता बन्नु भएको थियो। रामचन्द्र पौडेलले पनि त्यही वरीयता पाउनुभयो। अब अहिले यो नजीरलाई नमान्ने हो भने उपयुक्त तर्क दिन सक्नुपर्‍यो’, उनले भने। 

विगतदेखि नै पार्टीमा स्थापित भएको नजीरलाई नजरअन्दाज गर्न नमिल्ने उनी बताउँछन्। 

देउवानिकट कांग्रेस सह-महामन्त्री फरमुल्लाह मन्सुर कांग्रेसको विधानले नै सभापतिपछि दोस्रो वरीयतामा उपसभापतिलाई राखेकोले अरुले विवाद गर्नु उचित नभएको बताउँछन्। 

‘पार्टीको विधानले नै सभापतिपछि सिनियर उपसभापति दोस्रो वरीयतामा रहने भनेको छ। सोहीअनुसार पूर्णबहादुर खड्का दोस्रो वरीयतामा हुनुहुन्छ। यसमा अरुले अनावश्यक विवाद गर्नु हुँदैन’, उनले भने। 

मन्सुरले वर्तमान सभापति देउवा दुईवटा पार्टी मिलेर एउटा बन्दा र रामच्नद्र पौडेल सभापतिको हैसियत राख्ने व्यक्ति भएकोले चुनाव हारेर पनि दोस्रो वरीयतामा रहेको दावी गरे। 

उनले पार्टीलाई विधिसम्मत चलाउनुपर्छ भन्नेहरुले नै विधानविपरीत वरीयता खोजेको आरोप लगाए। 

विगतदेखि नै हुँदै आएको वरीयता विवाद

कांग्रेसमा वरीयता क्रमको विवाद अहिले मात्रै देखिएको होइन। 

वरीयता क्रमलाई लिएर कांग्रेसमा यसअघि पनि विवाद हुने गरेको थियो। १२औँ महाधिवेशनपछि नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महतबीच वरीयताको विषयमा विवाद भएको थियो।

विवादका कारण दुवै नेताले १२औँ महाधिवेशनपछि लामो समयसम्म पार्टीको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिएनन्।

त्यस्तै, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीबीच पनि विवाद भएको थियो। नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच वरीयता विवाद भएपछि तत्कालीन प्रजातान्त्रिक कांग्रेका सभापति देउवाले सिंहलाई उपसभापतिसमेत बनाएका थिए। 

कांग्रेसमा १३औँ महाधिवेशनपछि पनि वरीयता विवाद हुँदा ५ केन्द्रीय सदस्यले बैठकमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिएनन्। 

पार्टीमा आफ्नो वरीयता क्रम माथि हुनुपर्ने जनाउँदै हस्ताक्षर नगर्नेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसह-महामन्त्रीहरू रामशरण महत, अर्जुननरसिंह केसी  र रमेश लेखक थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.