काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १७ दशमलव २३ अंकले घटेर २ हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो।
आज ३०७ कम्पनीका १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर १ लाख १७ हजार ४७६ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ।
म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह १ दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा २ दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ।
४ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १९ करोड ६६ लाख ६४ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ७ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।