|


सम्माननीय प्रधानमन्त्रीज्यू

आज नेपाल विश्व भूमण्डलीकरणको अर्को दुष्चक्रमा गुज्रिरहेको छ। हिजो सामन्ती सामाजिक परिवेशको कारण देश तहसनहस हुने गर्दथ्यो। तर, अहिले समाज विज्ञान र प्रविधिको प्रवाहमा विश्व समाजसँग अघि बढ्नुपर्ने नयाँ चुनौती थपिएको छ। यसर्थ सरकार हिजोको भन्दा फरक ढंगले अघि बढ्न आवश्यक छ।

अहिले नेपालको वास्तविक कथा र सत्ता सञ्चालनको गति फरक छ। हिजोका मुद्दा अहिले फरक भइसकेका छन्। राणा शासनविरुद्ध लखन थापाकालको अभियानका मुद्दादेखि गणतन्त्र प्राप्ति सम्मका मुद्दा प्राय सबै मिल्दाजुल्दा नै देखिन्छन्। तर, हिजोको जस्तो विश्वसमाजका आदर्श र विचारको व्याख्या तथा प्रयोगको कुरा आज सूचना प्रविधिको विकाससँगै फेरिएका छन्।

यसर्थ तपाईंले हिजोको बाटोलाई अब करेक्सन गर्नु जरुरी  छ। आज तपाई नेपाल सरकारको कार्यकारी कार्यपालिका प्रमुख हुनुहुन्छ। तपाईंको हिजोको नाम र शक्ति आजको नेपाललाई फेरि चाहिएको छ।

अब तपाईंका बाध्यता र परिवेश आम नेपालीहरूले बुझेर बस्नेवाला छैनन्।

अहिले अति आधारभूत आवश्यकता पूरा गर्न नसकेर छटपटिने नागकिहरूको आवश्यकता तत्काल पुरा गर्नु तपाइको पहिलो काम हो। तपाईंको शासनकालमा पनि नागरिकहरू चोकदेखि सडकसम्म रोग, भोक र शोकमा गुज्रनु लज्जास्पद कुरा हो।

अनि श्रमशक्ति र बौद्धिक शक्ति पलायन रोक्नु नेपालमा उपयोग गर्नु आज तपाइको मुख्य चुनौती बनेको छ। तर, यदि तपाईं हिजोको नामका साथ काम गर्न फेरि तयार हुनुहुन्छ भने छोटो समयमा कायापलटको आधार बन्न सक्छ।

तपाईंको पहिलो र महत्वपूर्ण काम सुशासन कायम गर्नु हुनेछ। सरकारी कर्मचारीलाई नतिजामुखी हुनेगरी काममा लगाउनुहोस्। कुनै काम लिएर सेवाग्राही सरकारी कार्यालय आउँदा तत्काल कार्यसम्पादन गर्नैपर्ने बाध्यकारी कानुन निर्माण गर्नुहोस्।

यदि नमिल्ने काम भए कार्यालय प्रमुखले कारणसहित प्रमाणित पत्र दिएर पठाउने व्यवस्था गरियोस्। जसकारण कर्मचारीको अकर्मण्यताको विरुद्ध सेवाग्राहीले पुनरावेदन गर्नसमेत पाओस्।

कार्यसम्पादनमा आधारित पारिश्रमिक र सेवासुविधाको व्यवस्था मिलाइयोस्। यसको सँगै विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीमा हुने विभेदको खाडलको अन्त्य पनि गर्नुहोस्। सार्वजनिक सेवामा प्रवेश गर्दा पूर्णत: योग्यता प्रणालीको सुनिश्चित गर्नुहोस्।

जागिर व्यक्तिगत तथा पारिवारिक आर्थिक समस्या टार्न गरिने काम भएकोले उसको पारिवारिक समस्या झन् जटिल हुने गरि दुख दिने कार्यको अन्त्य गरियोस्। नियुक्ति, बढुवा र सरुवा लगाएतका कार्यमा अहिले नातवाद, कृपावाद, दलीय स्वार्थ र आर्थिक चलखेल छ। त्यसको शून्यताको लागि योग्यता प्रणाली र प्रयुक्त कार्यविधिको निर्माण गरियोस्।

कर्मचारीलाई विभेदरहित निष्पक्ष वातावरणमा उत्प्रेरित भएर काम गर्ने वातावरण मिलाउनु र सेवामा कुनै सम्झौता नगरी अधिक काममा लगाउनु सरकारको पहिलो र प्रमुख काम हो।

अर्को महत्वपूर्ण र अनिवार्य काम भनेको शिक्षालाई पूर्ण व्यावहारिक र व्यावसायिक बनाउन रतिभर पनि ढिला नगर्नुहोस्। अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा कार्यान्वायनको अवस्था अति दयनीय र नाजुक भएकोले तत्काल कार्यान्वयन गर्न तदारुकता दिनुहोस्।

उत्कृष्ट विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि लगानी गर्नुहोस् र अध्ययन सकाएपछि नेपाल सरकारको अनिवार्य  सेवा गर्न अर्थात् लगानी फिर्ताको कबुलियत गराउनुहोस्। जसकारण क्षमतावान विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरोस्।

यस्तै, नेपालको भूमिलाई आवासीय र व्यावसायिक गरी दुई भागमा विभाजन गर्नुहोस्। कम्तीमा करिब २०० घरधुरी र अधिकतम धेरै बस्ने गरी स्मार्ट ग्रामको अवधारणा ल्याएर हरेक नागरिकहरूलाई सुरक्षित आबासको सुनिश्चित गर्नुहोस्।

यसो गर्दा हरेक पालिकामा ५ देखि १० वटा स्मार्ट बस्तीहरू बस्न सक्नेछन्। ती सबै ग्रामहरूमा आधारभूत पूर्वाधारको व्‍यवस्था मिलाउनुहोस्।

यसैगरी बाँकी सबै भूमिलाई व्यावसायिक भूमिको घोषण गरिनुपर्छ। व्यावसायिक भूमिमा विभिन्न औद्योगिक ग्रामहरू खोल्न नागरिकहरूलाई उत्प्रेरित गर्नुपर्छ। नागरिकहरूलाई उद्योग धन्दामा आकर्षित गर्न व्यवसाय शुरु गर्नुपुर्व आवश्यक ज्ञान, सीप र तालिमको व्यवस्था अनिवार्य गर्नुपर्छ। सीप र क्षपताको मूल्यांकन गरी आवश्यक ऋणको व्यवस्थासमेत सरवकारले मिलाउनुपर्छ।

जमिनको उपयोगमार्फत खाद्यबाली नगदेबाली, फलफूल, जडीबुटी तथा काठको उत्पादन गर्दै आयात प्रतिस्थापन गर्न सकिन्छ। नागरिकहरूवावट सदुपयोग हुन नसक्ने जमिनको पहिचान गरी सरकारले उपयोगको सुनिश्चित गर्नैपर्छ।

विभिन्न स्थानमा उत्पादन केन्द्र निर्माण गरी सरकारले उत्पादनको क्षेत्रमा क्रान्ति गर्न बितिसकेको कुरा हो।

नागरिकले गरेको उत्पादनमूलक व्यवसाय हो भने सरकारले बजारीकरणको सहजीकरण र सुनिश्चितता गरिदिनुपर्छ। यसो भएको खण्डमा नेपालमा कृषि, पर्यटन, फलफूल, पशुपालनमार्फत दुग्धजन्य पदार्थ, माछामासु, ऊन तथा छालाजन्य व्यवसायको सम्भावना अधिक छ। अहिले उत्पादकलाई बजारको अधिक चिन्ता हुने गरेको छ।

जंगललाई व्यवस्थित गरी काठ, जडीबुटी तथा फलफूल उत्पादनमा उपयोग गर्नुपर्दछ। जसको आधारमा अधिक कच्चा पदार्थको उत्पादन भई प्रशोधनजन्य व्यवसाय सुरु हुनुका साथै बजारीकरणको माध्यमवाट व्यपक रोजगारीको सिर्जना हुन जान्छ।

जसरी अहिले विद्युतको विश्ववजारको लागि पहल गरिरहनु भएको छ त्यसैगरी माथि भनिएका वस्तुको बजार खोजी गरेर बजारको सुनिश्चित गरिदिनुहोस्।

नागरिकहरूले बिक्री गर्न र बजार खोज्न सकेनन् भने नाफा घाटाको सवाल छोडेर सार्वजनिक मूल्य तोकेर सरकारी संकलन केन्द्र, भण्डारण र बजारीकरणको सुव्यवस्था मिलाइदिनुहोस्।

यसरी नागरिकहरूलाई व्यवसायमा उत्प्रेरित गर्न सकेको खण्डमा देशमा उत्पादनको मात्रा बढ्न गई आयात प्रतिस्थापनको दिशामा अगाडि बढ्न सकिन्छ भने निर्यात गर्न सफल भई आम्दानी वृद्धि हुँदै जान्छ। 

नागरिकहरूलाई सक्रिय र आश्रित गरी दुई भागमा विभाजन गरी सक्रिय जनशक्तिलाई एक व्यक्ति एक पेशा व्यवसाय अनिवार्य गर्नुहोस्। पेशा व्यवसाय गर्न सरकारले सहयोगको सुनिश्चितता गर्नुपर्छ। व्यक्तिगत चाहनाका आधारमा वैदेशिक रोजगारिमा जान स्वतन्त्र गरिदिनुहोस्।

तर, संरक्षित पुँजीको आडमा सक्रिय जनशक्तिलाई बसेर खान छुट नहुने कानुन बनाउनुहोस्। पेशेवर राजनीति गर्न कसैलाई पनि छुट नहुने काननु ल्याउनुहोस्। जसकारण काम गर्ने संस्कार बढेर आउँछ भने प्रतिव्यक्ति आयमा वृद्धि हुन गई समग्र राज्यमा करको दायरा पनि फराकिलो बन्दै जान्छ।

राज्यको उत्तरोत्तर हित भनेको उत्पादनमा लाग्नु नै हो। यससँगै विज्ञान प्रविधिको विकास गर्दै जानु अर्को कार्य हो। अहिले विश्वको विभिन्न कुनामा अध्ययन गर्न तथा काम गर्न अधिकांश नेपालीहरू विदेशिएका छन्। उनीहरूलाई नेपाल फर्किन प्रोत्साहित गर्दै नेपालमा उनीहरूको पुँजी र सीपको उपयोग गर्न विभिन्न उद्योगधन्दाहरू सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुहोस्। जसकारण प्रविधि भित्रिनुका साथै रोजगारिका बाटाहरू फराकिला बन्दै जान्छन्।

अहिलेको अर्को जर्जर समस्या भनेको घुसखोरी र भ्रष्टाचार हो। मिल्ने काम तत्काल गर्नैपर्ने र नमिल्ने काम नमिल्ने स्पष्टीकरणसहित सेवाग्राहीलाई फिर्ता पठाउने प्रावधानले घुसखोरी कम भएर जान्छ।

विभिन्न योजनामा हुने अनियमितता रोक्न सबै सार्वजनिक कारोबारहरूलाई विद्युतीय माध्यमबाट सार्वजनिक गर्नैपर्ने कानुन ल्याउनुहोस्।

गलत कार्य गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्ने, विकासमा विभिन्न क्षेत्र र विभागबीच अनिवार्य समन्वय गराउने कानुनी व्यवस्था मिलाउनुहोस्।

यसरी सबै अवस्थाहरूलाई सूक्ष्म अध्ययन गर्दा विभिन्न चुनौतीका बावजुद पनि गर्न सकिने थुप्रै कामहरू छन्। प्राकृतिक स्रोतसाधनको अधिक उपयोगमार्फत उत्पादनमा राज्य लाग्नैपर्छ।

सक्रिय नागरिकहरूले अनिवार्य कुनै न कुनै पेसा व्यवसायमा संलग्न बन्नै पर्ने र प्राकृतिक स्रोतहरूलाई उपयोगीताका अधारमा वितरण गर्ने व्यवस्थासँगै धेरै समस्याहरू समाधानतर्फ जाने निश्चित प्राय छन्।

अत पूर्ण व्यावसायिक शिक्षाको विकास गर्दै अति सहज र सरल सरकारी सेवामार्फत विज्ञान र प्रविधिको उपयोग गर्दै उत्पादनमा लाग्न सहजीकरण र उत्प्रेरित गर्न सरकारले नागरिकहरूलाई सबैखाले प्राविधिक, आर्थिक सहयोग गर्नैपर्छ। सरकारको तर्फबाट तपाईं अघि बढ्दा दुनियाँ अघि बढ्छ। गफ गर्ने र खुट्टा तान्ने प्रवृत्तिका कारण नागरिकहरू आजित र निराश बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.