news

|

पर्वत : मनाङ र मुस्ताङमा पालिने चौँरी गाईको नश्ल सुधारका लागि गण्डकी प्रदेश सरकारले त्यहाँका कृषकहरूका लागि १९ वटा याक (चौँरी गाईको भाले) वितरण गरेको छ।

एकै ठाउँमा पालिएका याकबाट धेरै वर्षसम्म प्रजनन गराउँदा हाडनाताको समस्या हुने र त्यसले कृषकलाई राम्रो उत्पादन दिन नसक्ने भएकाले मनाङका कृषकका लागि नौवटा र मुस्ताङका कृषकका लागि १० वटा याक वितरण गरिएको हो।

गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत नश्ल सुधारका लागि याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट खरिद गरी ल्याइएका याक मुस्ताङको हिमालयन चौँरी संरक्षण समिति र मनाङको याक तथा चौँरी संरक्षण संस्थाको जिम्मा लगाइएको थियो। सम्बन्धित जिल्लामा लगिएपछि त्यहाँका कृषक, समूह वा समितिलाई याक वितरण गरिनेछ।

मुस्ताङ जिल्लाका लागि ल्याइएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बन्धित जिल्लाका पोखरामा रहेका प्रदेशसभा सदस्यहरूलाई हस्तान्तरण गरे। उनले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र त्यसले हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए।

गत पुस १२ गते सोलुखुम्बुबाट हिँडाइएका ती याक लिएर निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठसहितको टोली मनाङ पुगेको छ। निर्देशनालयको अर्को टोलीले पनि याकलाई बुधवार नै मुस्ताङ लगेको छ।

वरिष्ठ पशु विकास अधिकृत डा. श्रेष्ठका अनुसार कृषकको २५ प्रतिशत प्रदेश सरकारको ७५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गर्न लागिएको हो। यो कार्यक्रमका लागि निर्देशनालयमा बीस लाख रुपैयाँ बजेट रहेको सोही बजेटबाट प्रतियाक २० देखि २५ हजार रुपैयाँमा किनिएको हो।

गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक रूपमा चौँरीपालन हुने गरेको छ। म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा समेत फाटफुट रूपमा चौँरीपालन गरिएको छ। यातायातको सुविधा नभएको ठाउँमा याकलाई खच्चरले जस्तै गरी भारी बोकाउन र मासुका लागि समेत प्रयोग गर्ने गरिन्छ। चौँरीको दूध, घीउ र छुर्पी बिक्री गरेर कृषकले व्यावसायिक रूपमा फाइदा लिने गरेका छन्।

मनाङ, मुस्ताङ र म्याग्दीमा याक र चौँरीको आलो रगत निकालेर समेत बिक्री गरिन्छ। यसका लागि साउन र चैतमा चौँरीको रगत पिउने मेला नै आयोजना हुने गरेको छ।

हिमाली क्षेत्रको आर्थिक समृद्धिको मुख्य आधारको रूपमा याक तथा चौँरीपालन व्यवसायलाई पनि लिन सकिन्छ। आजभोलि भने चौँरी गाई पाल्ने कृषकहरूको सङ्ख्या कम हुँदै गइरहेको छ। सीमित कृषकले मात्रै चौँरी गोठहरू सञ्चालन गर्नु, चरन क्षेत्र भएर पनि हिमाली क्षेत्रका मानिसहरू सेवा, सुविधा तथा रोजगारको सिलसिलामा शहर केन्द्रित हुनु, अहिलेको पुस्ताले रैथाने पेसामा रुचि नराख्नु लगायतका कारण चौँरीपालन व्यवसाय क्रमिक रूपमा संकटमा पर्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.