|

लहान : सप्तरी जिल्लाका विभिन्‍न ठाउँमा चालु आर्थिक वर्षमा बाढी नियन्त्रणका लागि तटबन्ध, स्पर निर्माण र मर्मतका नाममा ३७ करोड रुपैयाँ खर्च भएको छ।  तर करोडौं रकम खर्च गरेर बनाइएका र मर्मत गरिएका अधिकांश बाँधहरु ठाउँ ठाउँमा भत्केको छ भने थुप्रै स्थानमा कटान भएको छ।

बाढी नियन्त्रणको लागि वर्षेनी करोडौं खर्च हुने भए पनि हरेक वर्ष बाढी पीडितको संख्या भने बढ्दै छ। जिल्लामा चालु आर्थिक वर्षमा मात्र खाडो नदी नियन्त्रणका लागि १५ करोड रुपैयाँ खर्च भएको खाडो नदी नियन्त्रण आयोजनाका प्रमुख अखलाक सिद्दिकीले बताए। सिद्दीकीका अनुसार खाडो नदीको दुईतर्फ ५० किलोमिटर बाँधमध्ये यो वर्ष २५ किलोमिटर बाँधको निर्माण पूरा भएको छ।

खाडोले सबैभन्दा बढी क्षति पु¥याउने गरेको तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी खण्डमा अझै बाँध बनाउन नसकिएको उनले बताए। स्थानीय बासिन्दाले अवरोध गरेपछि बाँध बनाउन ढिलाई भएको सिद्दिकीको भनाइ छ।  तिलाठीका अगुवा देवनारायण यादव भने सरकारी कर्मचारीले आफूखुशी नम्बरी जग्गाबाट बाँध बनाउन जबरजस्ती गरेकाले समस्या उत्पन्न भएको बताउँछन्।

१५ करोड रुपैयाँ खर्च गरेर बनाइएको खाडोको बाँधमा पछिल्लो शनिबार र बुधबार आएको बाढीले एक दर्जनभन्दा बढी ठाउँमा कटान गरेको छ। मलेठ, डुमरी शिवथान र पौवाटोल नजिक खाडोको बाढीले बाँध नै भत्काएको छ।

नदी नियन्त्रणको नाममा भएको खर्च 'बालुवामा पानी'
जिल्लाका विभिन्न नदी नियन्त्रण आयोजनाका काम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ। बाँध निर्माण गरिएको स्थान छेउबाट नै खाडोको बालुवा झिकेर बनाइएको बालुवाको बाँध बाढी नियन्त्रण गर्न सक्षम नरहेको स्थानीयको भनाइ छ।

खाडोको बाढीले लौनियामा पनि ३ स्थानमा बाँध कटान भएको छ भने तिलाठीमा पुरानो बाँध भत्काउँदै बाढी बस्तीमा पसेको छ।  खाडो खोलाको पूर्वी र पश्चिमी तटबन्ध अन्तर्गत यो वर्ष निर्माण भएको बाँध बालुवाको मात्र भएकाले सामान्य बाढी आउँदा पनि बगाउने गरेको स्थानीयको गुनासो छ।

खाडो खोलामा मात्र होइन, सप्तरीमा अन्य खोलाको नियन्त्रणका नाममा पनि करौडौ रुपैयाँ खर्च भएको छ। यो वर्ष खाडो बाहेकका नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानबाट सप्तरीमा २२ करोड रुपैयाँ खर्च भएको कार्यालयका प्रमुख रामनरेश मण्डलले जानकारी दिए।

यद्यपि नदी नियन्त्रणका लागि गरिएका प्रयास जनतालाई बाढीको डुबानबाट बचाउन पर्याप्त नभएको उनको भनाइ  छ। कार्यालय प्रमुख मण्डलका अनुसार शनिबारको बाढीले महुली खोलाले मुहलीमा १५ सय मिटर बाँध भत्काएको छ।

महुली खोलाले पोर्ताहामा ३ सय मिटर, मैनाकरेडीमा ६ सय मिटर, लोहजाराका ४ स्थानमा ३ सय मिटर बाँध भत्काएको छ। त्यस्तै, बान्द्रा खोलाको बाढीले कञ्चनरुप नगरपालिकाको रघुनाथपुरका ५० मिटर, सुन्दरी खोलाको बाढीले कञ्चनरुप ७ मा ३ सय मिटर कटान गरेको मण्डलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.