नियुक्ति गरेको ६ महिनामै जागिर चैट !

|

काठमाडौं : संखुवासभाको सिलिचोङ गाउँपालिका-४ माङतेवास्थित जीवनज्योति माध्यमिक विद्यालयले करारमा अंग्रेजी शिक्षक आवश्यक भएपछि पहिलोपटक गत भदौमा विज्ञापन आह्वान गर्‍यो तर निवेदन परेन। निवेदन नपरेपछि मंसिर १० गते तेस्रोपटक विज्ञापन प्रकाशित भयो।

तेस्रोपटक विज्ञापन गर्दा बल्ल विद्यालयले शिक्षक पायो। उक्त विद्यालयका प्रधानाध्यापक गणेशकुमार राईले अहिले भने शिक्षक नियुक्त गरेको जानकारी दिए। उनका अनुसार १६ जनाको आवेदन परे पनि परीक्षामा ३ जना मात्रै सहभागी भए।

इलामको माईजोगमाई गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालयले पनि विज्ञापन गर्दा समयमा एकजना करारमा विज्ञान शिक्षक पाएन। त्यसपछि गत मंसिर २७ गते पुनः विज्ञापन गर्न बाध्य भयो। 

यसैगरी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ स्थित बालशिक्षा माध्यमिक विद्यालयले पनि शिक्षक नपाएपछि २०८० पुस ५ गते पुनः गणित शिक्षक (करार)का लागि विज्ञापन आह्वान गर्‍याे।  

यी तीन विद्यालयले शिक्षक नपाएपछि पटक पटक विज्ञापन गर्नुपरेको एक उदाहरण मात्रै हो। अधिकांश विद्यालयले गणित,विज्ञान र अंग्रेजी विषयको माग गर्दा पनि पाउँदैनन्। यो समस्या हालसम्म पनि कायमै छ। त्यसो त वेला वेला सामाजिक सञ्जालमा समेत ठूलो बहस हुन्छ।

यो विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत प्रवेश गरेको छ। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा विधेयकका सम्बन्धमा भएको छलफलमा के कसरी यी शिक्षकहरूको अभाव भयो भन्ने विषयमा बहस भएको थियो।  

किन हुन्छ शिक्षक अभाव ?

शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका महासचिव सञ्जय तिम्सिना सरकारकै बेवास्ताका कारण अहिले गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक अभाव हुने गरेको बताउँछन्। ‘अहिले वेला वेला सामाजिक सञ्जालमा गणित, विज्ञान र अंग्रेजी शिक्षक नपाएर पाँचौँपटकसम्म विज्ञापन भएको देख्नुभएकै होला। यो अवस्था किन आयो भन्ने सरकारकै कमजोरी छ’, उनले समितिको बैठकमा सांसदहरूसामु भने। 

शिक्षकहरूको जागिरको सुनिश्चितता नभएको भन्दै उनले  गुनासो गरे। ‘शिक्षक अभाव भनेर बाहिर भनिन्छ, हामी सबै दक्ष शिक्षक छौँ र हौँ तर हाम्रो जागिरको सुनिश्चितता छैन, कसरी टिक्न सक्छ?’, उनले भने। त्यसैले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने व्यवस्था प्रस्तावित शिक्षा विधेयकमा हुनुपर्ने उनको माग छ। 

नियुक्ति गरेको ६ महिनामै जागिर चैट !

शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका महासचिव तिम्सिनाका अनुसार अनुदान शिक्षकहरूको नियुक्ति अवधि एक वर्षको हुन्छ तर जागिर भने ६ महिना पनि टिक्दैन।

‘अस्तिमात्र एकजना मेराे साथीले नियुक्ति लिएको ६ महिना नबित्दै जागिर खोसियो, अब कसरी परिवार पाल्ने?’‚ यस्तो पनि शिक्षकहरूको जागिर हुन्छ भनेर रुँदै मलाई भने,ल अब भन्नुस् साँच्चै शिक्षकहरूको जागिर यस्तो पनि हुन्छ? सधैँ यस्तै भइरह्यो भने अन्य कसरी शिक्षण क्षेत्रमा आकर्षित हुन्छन् त?’, उनले शिक्षा मन्त्रालयका सचिवकै अगाडि प्रश्न गरे। 

उनका अनुसार देशभर अनुदान र करारका गणित, विज्ञान र अंग्रेजीका मात्रै ७ हजार ८४ जना शिक्षक छन्। शहरी क्षेत्रभन्दा पनि बढी ग्रामीण भेगमा छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर रहेका ७५ प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा गणित र विज्ञान शिक्षकको अभाव छ। निमावि तहमा २८ प्रतिशतमा मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाउने शिक्षक छन्। 

‘शिक्षकहरूको यहाँ भविष्य नै छैन, हामी पढाएर विद्यालयको गुणस्तर उकास्ने हुटहुटी लिएर नियुक्ति हुन्छौँ तर थाहै नपाई हाम्रो जागिर जान्छ’, शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष कौशिक शर्माले भने। आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नभएसम्म यस्तो समस्या हुने उनको भनाइ छ।

‘कुनै विद्यालयको सामाजिक विषयमा शिक्षक आउँदा पनि हाम्रो दरबन्दी कटौती हुन्छ, विद्यालय मर्ज हुँदा पनि कटौती हुन्छ। त्यसैले हामी पनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी शिक्षक बन्न पाउनुपर्छ’, उनले भने। यी शिक्षकहरूलाई सरकारले उचित व्यवस्थापन गर्न सके मात्रै सामुदायिक विद्यालयको अवस्था उकास्न सकिने उनले बताए। ‘शिक्षकहरू यति धेरै पीडित छन् तर हामी शैक्षिक गुणस्तर चाहियो भन्छौँ। शिक्षकहरूलाई यसरी बेवास्ता गरे कसरी शैक्षिक गुणस्तरको अवस्था उकास्न सकिन्छ?’, उनले भने।

विकास केन्द्रका अनुसार देशभरका सामुदायिक विद्यालयमा १ लाख ७ हजारभन्दा बढी स्थायी शिक्षक दरबन्दी छ। २०७५ सालमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलले देशभरका सामुदायिक विद्यालयमा ५२ हजार २८२ शिक्षक अपुग रहेको तथ्यांक देखाएको थियो तर दरबन्दीअनुसार शिक्षक नियुक्त हुन सकेका छैनन्।

सरकारले नै समयमा विज्ञापन गरेर शिक्षकहरूको व्यवस्थापन गर्न नसक्दा यो समस्या निम्तिएको ती शिक्षकहरूको भनाइ छ। जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक राईले पनि भनेजस्तो समयमा यी शिक्षकहरू पाउन कठिन पर्न थालेको बताए। ‘गणित,अंग्रेजी र विज्ञान विषयका शिक्षक पाउनै कठिन छ, विज्ञापन निकाले पनि करार भएकाले फाराम भर्न आकर्षित हुँदैनन्’ ,उनले भने। 

समितिका सभापति भानुभक्त जोशीले यी माग र सुझाव सरकारलाई बुझाउने बताए। छलफलमा उनले भने, ‘तपाईंहरूको समस्या र मागबारे शिक्षा मन्त्रालयका सचिवले पनि सुन्नुभएको छ,तपाईंहरूले पनि लिखित रूपमा पनि समितिमा ती कुरा बुझाउनुहोला’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.