|

काठमाडौँ : पहिलोपटक अक्सफोर्ड युनिभर्सिटीले निपा भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न शुरु गरेको छ। निकै घातक मानिएको निपा भाइरसविरुद्धको खोप हालसम्म नबनेको अवस्थामा अक्सफोर्ड युनिभर्सिटीले शुरु गरेको यो खोपको परीक्षणलाई निकै महत्त्वका साथ हेरिएको छ।

अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार यो भ्याक्सिन एस्ट्राजेनेकाको कोभिड-१९ को खोपको डोजमा प्रयोग गरिएको प्रविधिमै आधारित छ। निपा भाइरसको सम्भावित खोपको परीक्षण अक्सफोर्ड भ्याक्सिन ग्रुपको निगरानीमा भइरहेको छ। यो ग्रुपलाई सिईपीआईले आर्थिक सहयोग गरिरहेको छ।

यदि यो परीक्षण सफल भएमा विश्वमै निपा भाइरसको पहिलो खोप हुनेछ। चिकित्सकहरू औषधिका माध्यमबाट निपा भाइरसका लक्षण नियन्त्रण गर्ने कोसिस गर्दै आइरहेका छन्। पछिल्लो हप्ता १८ देखि ५५ वर्ष उमेर समूहका ५२ जनालाई यो खोप लगाइएको रोयटर्सले जनाएको छ। अहिले खोपले सहभागीको रोग प्रतिरोधात्मक प्रणालीमा असर भइरहेको छ भन्ने कुरा अध्ययन जारी छ। 

सिईपीआईले नयाँ संक्रामक रोगका विरुद्ध खोप बनाउन सहयोग गर्छ। अमेरिकी कम्पनी मोडर्नाले पनि निपा भाइरसको खोप बनाउन शुरु गरेको थियो। 

सन् २०२२ मा मोडर्नाले युएस नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियन डिजिजसँग मिलेर खोप बनाउन सुरु गरेको थियो तर अहिलेसम्म यसको ट्रायल शुरु भएको छैन। निपा भाइरस जनावरबाट फैलिने जुनोटिक इन्फेक्सनको घातक संक्रमण हो। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोग संक्रमित चमेरो, सुँगुर तथा मानिसको प्रत्यक्ष सम्पर्कबाट सर्छ। यो संक्रमण सबैभन्दा पहिले सन् १९९९ मा मलेशिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

निपा भाइरस निकै छिटो फैलिने भाइरस हाे। जसले जनावर र मानिसलाई गम्भीर विरामी बनाउँछ। निपा भाइरसबाट मृत्युदर हालसम्म ७५ प्रतिशतसम्म देखिएको हुँदा कोरोना भाइरसभन्दा घातक रहेको बताइन्छ। निपाबाट संक्रमण भएका  १० जनामध्ये ७ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ।

विवरणअनुसार मलेशियामा त्यस वेला  घरपालुवा जनावर कुकुर, बिरालो, घोडाबाट समेत यसको संक्रमण फैलिएको थियो। मलेशियामा देखिएकै वर्ष सिंगापुरमा पनि निपा भाइरस फेला परेको थियो। त्यसपछि बंगलादेश, भारतलगायतका देशमा पनि यो भाइरस देखिइसकेको छ। जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो भाइरस संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, मांसपेशी दुख्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस हुनेजस्ता समस्या देखिन्छन्।

निपा भाइरस पशुबाट मानिसमा सर्ने र मानिसमा सरेपछि मानिसबाट मानिसमा सर्ने एक प्रकारको सरुवा रोग हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.