|

पर्वत : जिल्लाको सबैभन्दा ठुलो अस्पताल भनेको पर्वत अस्पताल नै हो। सदरमुकाम कुश्मामा रहेको यो अस्पतालको भवन संरचना निकै गज्जब बनेको भए पनि आवश्यक जनशक्तिको भने अभाव छ। तर पनि जिल्लावासीहरूलाई सकेसम्म सेवा लिन बाहिर जान बाध्यता नपरोस् भनेर गर्भवतीको शल्यक्रिया समेत गर्ने गरिएको छ।

अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायका अनुसार चालू आर्थिक वर्षको छ महिनामा मात्रै ५२ वटा शल्यक्रिया गरेर बच्चा जन्माइएको छ। अस्पतालप्रति नागरिकको विश्वास र हरेक शल्यक्रियापश्चात् नआएका समस्या लगायतका कारण पनि अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गइरहेको उनको भनाइ छ। चालू आर्थिक वर्षको साउनमा छ वटा, भदौमा १३ वटा, असोजमा १४ वटा, कार्त्तिकमा तीन वटा, मङ्सिरमा नौ वटा र पुसमा सात वटा गरी कुल ५२ वटा शल्यक्रिया भएका छन्।

‘छ महिनाको अवधिमा ५२ औँ इमर्जेन्सी एल.एस.सी.एस सफलतापूर्वक सम्पन्न भएका छन्। यी सबै शल्यक्रिया गरिएका आमा र बच्चाहरूको स्वास्थ्य अवस्था राम्रो रहेको छ’, सूचना अधिकारी आचार्यले भने, ‘हामीसँग आवश्यकता अनुसारको जनशक्ति छैन। शल्यक्रियाको लागि हुनुपर्ने प्रविधि, जनशक्ति लगायतका अभावकैबीच पनि हामीले धेरै सङ्ख्यामा शल्यक्रिया गरिरहेका छौँ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले पर्वत अस्पतालमा गर्ने गरिएका शल्यक्रियाहरू आकस्मिक खालका भएको बताए। चिकित्सकलाई मन लागेर भन्दा पनि आमा र बच्चाको स्वास्थ्यमा खतरा उत्पन्न नहोस् भन्नका लागि शल्यक्रियाहरू गरिएको उनको भनाइ छ। ‘गर्भवतीको ज्यान बचाउनको लागि स्रोत र साधनको अभावमा पनि हामीले यी शल्यक्रियाहरू पूरा गरेका छौँ। यसलाई कम्प्रीहेन्सीभ इमर्जेन्सी अब्स्टेट्रीक एन्ड न्यूबोर्न केयर भनिन्छ। हामीलाई मन लागेर यहाँ शल्यक्रिया हुँदैन, हामीले निकै सीमित स्रोत र साधनमा यहाँ शल्यक्रिया गरिरहेका छौँ।’

अस्पतालमा शल्यक्रियाको लागि तीन जना चिकित्सकहरू रहेको भए पनि विज्ञको रूपमा मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोला मात्रै रहेका छन्। उनी भन्दा विज्ञता हासिल गरेका स्त्री रोग विशेषज्ञ नै खोज्नुपर्ने भएमा धेरै रकम खर्च गरेर पोखरा पुगेर बच्चा जन्माउनुपर्ने बाध्यता रहेको छ।

अस्पतालमा आकस्मिक अवस्थाका गर्भवतीहरूको शल्यक्रिया हुँदै आएको भए पनि एनेस्थेसियोलोजिस्ट र आइसियु नहुँदा शल्यक्रिया र त्यसपश्चात्को अवस्थाको लागि भने चुनौती रहेको डा. बास्तोलाले बताए। अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले एनेस्थेसियाको तालिम गरेर आएपछि गर्भवतीको ढाडमा सुई लगाएर आवश्यक परेको शरीरको भागलाई बेहोस बनाउने गरिएको छ। तर एकै व्यक्तिलाई दोस्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने भएमा एनेस्थेसियोलोजिस्ट र आई.सी.यु नै आवश्यक पर्ने डा. बास्तोलाको भनाइ छ।

‘कहिलेकाहीँ धेरै रगत बगेर फेरि दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने हुन्छ। त्यो अवस्थामा आइसियुको आवश्यकता हुन्छ। दोहो¥याएर शल्यक्रिया गर्नुपर्ने भएमा हामीसँग बेहोस बनाउने डक्टर हुनुहुन्न’, उनले भने, ‘अहिले हामीले गरिरहेको केही भागलाई बेहोस बनाउने तरीकाले दोस्रो पटकको शल्यक्रिया हुँदैन। यहाँको सबैभन्दा ठुलो समस्या भनेको जनशक्तिको अभाव नै हो। कहिलेकाहीँ बिरामीलाई निकै गाह्रो भएको हुन्छ, तर हामीसँग आवश्यक जनशक्ति नहुँदा समस्या हुन्छ।’

आफूहरूले राम्रो गर्दा गर्दै पनि कतिपय अवस्थामा पोखरा वा अन्यत्र रिफर गर्नुपर्ने बाध्यता पनि आउने गरेका छन्। मुटुसम्बन्धी रोग र त्यसका लागि औषधि सेवन गरिरहेको भएमा शल्यक्रिया गर्न सक्ने भए पनि जिल्लामा शल्यक्रिया नगरिने डा. बास्तोलाको भनाइ छ। यस्तै गर्भावस्थामा रक्तचाप बढ्ने र कतिपय गर्भवतीमा छारे रोग लागेजस्तै करी काँप्ने समस्या भएमा पनि पर्वत अस्पतालले गर्भवतीलाई ‘रिफर’ गर्ने गरेको छ।

अस्पतालले बिरामीलाई विश्वास दिलाउने प्रयास गरिरहेको र आफूहरूले कम जनशक्ति र भौतिक तथा प्राविधिक सुविधाका बाबजुद पनि सकेसम्मको गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको उनको भनाइ छ। अभावकैबीच पनि यति धेरै शल्यक्रियाहरू गर्न सक्नु खसीको कुरा भएको डा. बास्तोला बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.