|

वीरगञ्ज : कोरोनाका नयाँ संक्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ।

भारतको विभिन्न स्थानमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ संक्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो।

सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गर्न थालिएको छ। भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए। 

उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारत यात्राबाट आउनेलाई शुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन्।

संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म ५ हजार २०५ जनाको स्क्रिनिङ गरिएको जानकारी दिए।

जसमध्ये २ सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधवार २ भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ। एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए।

हेल्थ डेस्कमा हाल २ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, २ जना ल्याब टेक्निसियन र एकजना ल्याब असिस्टेन्ट गरी ८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ।

पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलांगनालगायत राज्यमा पुनः कोरोना संक्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

होल्डिङ सेन्टर तयारी अवस्थामा

वीरगञ्जस्थित सीमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ।

कोभिड–१९ को पहिलो लहर फैलिएपछि विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रण गर्न यहाँस्थित सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो।

निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिए।

कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेन्टिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उनको भनाइ थियो।

भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब २८ करोड रुपैयाँको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिए। उनका अनुसार उक्त भवनमा १३ भान्साघर र २२ शौचालय बनाइएका छन्।

उक्त क्वारेन्टिनमा १ हजार शय्या छन्। जसमध्ये ९ सयमा सामान्य लक्षण भएकालाई र १ सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिनेछ।

अन्य ३ वटा एसीसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.