|

काठमाडौँ : तिलगङ्गा आँखा अस्पतालले आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे जानकारी दिन प्रत्यक्ष प्रशारणसहितको दुईदिने कार्यशाला आयोजना गर्ने भएको छ।

अस्पतालले भोलि (बिहीवार) आँखा र वरपरको हड्डी भाँचिएका ३ जना बिरामीको शल्यक्रियासहितको कार्यशाला गर्ने जानकारी दिएको हो।

आज (बुधवार) आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा पूर्णिमा राजकर्णीकार स्थापितले दुईदिने कार्यशालाबारे जानकारी दिँदै सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालका डा गङ्गाधर सुन्दरको नेतृत्वमा कार्यशाला हुने बताइन्।

डा सुन्दरको नेतृत्वमा डा पूर्णिमा, म्याग्जिलोफेसियल सर्जन प्राडा आलोक सग्तानी र वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्राडा रोहित सैजुको समूहले कार्यशाला सञ्चालन गर्ने छन्।

चिकित्सक समूहले आँखा र आँखाको वरपरको हड्डी भाँचिएका ३ जना बिरामीको शल्यक्रिया गर्नेछ। बिहीवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म गरिने शल्यक्रियालाई अस्पतालले गर्ने प्रत्यक्ष प्रशारणमार्फत कार्यशालामा छलफल गरिनेछ।

शल्यक्रिया प्रदर्शनसहितको कार्यशालाले ‘फ्र्याक्चर पुनःस्थापना’मा नेपालमै नयाँ आयाम थप्न भूमिका खेल्ने डा पूर्णिमाले विश्वास व्यक्त गरिन्।

‘आँखा वरपरको हड्डी भाँचिएको पुनःस्थापना एक जटिल र कठिन शल्यक्रिया हो,’ डा पूर्णिमाले भनिन्, ‘यसपटक ओस्टियोपोर सामग्रीको समेत प्रयोग गरेर फ्र्याक्चर पुनःस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रशारण गरी छलफल गर्ने तयारी छ।’

उनका अनुसार प्रत्येक वर्ष तिलगङ्गा आँखा प्रतिष्ठानमा करिब ५ सय विरामी आँखामा लागेको चोटको उपचार गराउन आउने गरेका छन्। तीमध्ये करिब आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ।

एक वर्षदेखि अस्पतालले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरी मान्यताप्राप्त टाइटेनियम प्लेट प्रयोग गरी जटिल फ्याक्चरसमेत पुनःस्थापना गर्दै आएको छ।

‘एक वर्षदेखि हामीले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरेर मान्यताप्राप्त टाइटेनियम प्लेट प्रयोग गरी जटिल फ्र्याक्चरसमेत पुनःस्थापना गर्दै आएका छौँ‚’ उनले भनिन्।

प्रतिष्ठानमा सन् २००४ देखि प्राडा रोहित सैजुद्वारा आँखा र वरपरको हड्डी भाँचिएको पुनःस्थापना शल्यक्रिया हुँदै आएको छ। 

त्यसै दिन सर्जिकल कार्यशाला सकिएपछि ‘अर्बिटल ट्रमा’को चुनौतीबारे निरन्तर चिकित्सा शिक्षा सत्र आयोजना हुने अस्पतालले जनाएको छ।

शुक्रवार आँखामा थाइराइड रोगले पार्ने असरहरुबारे छलफल गरिने डा पूर्णीमाले जानकारी दिइन्। कार्यशालाले शल्य चिकित्सकको सीप र ज्ञान बढाउन सघाउने उनको भनाइ छ।

‘पछिल्लो समय थाइराइडको समस्या भएका मानिसको संख्या बढ्दै गएको र यसले आँखामा पनि प्रभाव पारिरहेको विशेषज्ञको अनुभव छ। उक्त सत्रमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र हर्मोन रोग विशेषज्ञ सहभागी हुनुहुनेछ,’ उनले भनिन्।

यस सत्रमा पनि नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा, हर्मोन रोग विशेषज्ञ (इन्डोक्राइनोलजिस्ट) डा. अलार्क देवकोटा रजौरिया, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्राडा रोहितको टोलीले विशेषज्ञ वक्ताका रुपमा आफ्ना अनुभव बताउने छन्।

कार्यशालामा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र म्याक्सिलोफेसियल सर्जनसहित १ सय जना सहभागी हुने अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.