कुकुरले च्यांग्रा मार्दा २ लाख घाटा

|

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि गत वर्ष १६२ च्यांग्रा खरिद बिक्री भएपछि यो वर्ष त्योभन्दा बढी ५४२ वटा च्यांग्रा ल्यायो। ती च्यांग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखियो।

दशैँलाई भनेर ल्याएको च्यांग्रा छठसम्म ४७ वटा पनि बिकेनन्। त्यहीँ राखेर दाना पानी दिइयो। यस्तैमा पुस १९ गते २० वटा च्यांग्रा मरेको अवस्थामा भेटिए। लिमिटेडले १८ गते मध्यरातमा कुकुर छिरेर टोकेर मारेको बताएको छ। सीसीटीभी फुटेजमा पनि कुकुर छिरेर टोकेको देखिन्छ।

यो घटना हुनुमा कम्पनी लिमिटेड र प्रादेशिक कार्यालयको गम्भीर लापरबाही प्रष्टै देखिन्छ। लिमिटेडले च्यांग्रा राखेको ठाउँ सुरक्षित र व्यवस्थित ढंगले राख्न सकेन। बाँसको बार लगाइएको छ। ढोका पनि टिनका राखिएका छन्। निमुखा च्यांग्राकाे ज्यान जाँदा पनि सरकारले यस विषयमा कुनै चासाे देखाएन।

व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार गत वर्ष १ हजार ६१५ वटा खसीबोका र १६२ वटा च्यांग्रा बिक्री भएका थिए। त्यस वेला उपभोक्ताको धेरै चासो च्याङ्ग्रामा थियो। त्यसैले बढी ल्याइयो तर अपेक्षानुसार विक्री नहुँदा यो वर्ष खाद्यले लाखौँ घाटा ब्यहोर्नुपर्‍याे।

कुकुरको रेबिज रिपोर्ट नेगेटिभ

कुकुरकै टोकाइबाट मरेको हो वा होइन भनी मरेकामध्ये २ वटा च्यांग्राको परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। उक्त रेबिज रिपोर्ट नेगेटिभ आयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाले रेबिज रिपोर्ट मात्रै नेगेटिभ आए पनि कुकुरकै टोकाइबाट च्यांग्रा मरेको बताइन्।

पत्रकार सम्मेलन नै गरी सबै तथ्य सार्वजनिक गरिएको उनको भनाइ छ। केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी शाहीले पनि च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताएका छन्।

कुकुरले च्यांग्रा मार्दा २ लाख घाटा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी न्यौपाने सुवेदीले गत कात्तिक १६ गते दशैँमा विक्री नभएका एउटा च्यांग्राको मोल ३० हजार रुपैयाँभन्दा बढी पर्ने बताएकी थिइन्।

पहिला कम्पनी लिमिटेडले जिउँदो च्यांग्राको प्रतिकेजी १ हजार १६० रुरूपैयाँ तोकेकोमा पछि १० रुपैयाँ छुट दिएर १ हजार १५० तोकेको थियो। सूचना अधिकारी न्यौपाने सुवेदीले जानकारी दिएको यही हिसाबले हेर्दा २० वटा मरेको च्यांग्राबाट ६ लाख घाटा भएको देखिन्छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीकी प्रमुख थापाले यी च्यांग्रा मर्दा करिब २ लाख मात्रै घाटा भएको जानकारी दिइन्। ‘अब यहाँ ल्याएकै ३ महिना भयो, मासु घट्छ। त्यसैले २ लाख जतिको मात्रै घाटा भयो’, उनले भनिन्। उनका अनुसार दैनिकजसो पशुचिकित्सक आउँछन्। ‘उहाँलाई दैनिक ५ सय दिने गरियो, कहिले अरू निःशुल्क रूपमा पनि आउँछन्’, उनले भनिन्।

गल्ती सच्याइएला कि अझै दोहोरिएला ?

खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने, किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मूल्य एवं गुणस्तरका अत्यावश्यक वस्तु सहज र सुलभ रूपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने यसका उद्देश्य छन्।

यसैगरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग तथा व्यावसायिक क्रियाकलाप विस्तार र विविधीकरण गर्दै दिगो आय आर्जन गर्ने, अत्यावश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पुर्‍याउने र कम्पनीलाई व्यवसाय-उन्मुख एवं उत्तरदायी बनाउने उद्देश्यहरू छन्।

४७ वटा च्यांग्रा संरक्षण गर्न नसकेको उक्त घटनाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कसरी खाद्य सुरक्षाको सुनिश्चितता गर्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ। अव्यवस्थित खोरका कारण कुकुरले २० वटा च्यांग्रा मर्दा पनि कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय आफूबाट अझै गल्ती भएको ठान्दैन। प्रादेशिक कार्यालयका प्रमुख थापाले यो भइपरी आएको घटना भनेर जवाफ दिइन्। 

‘यस्तो हुन्छ भन्ने पहिलै कसलाई थाहा हुन्छ र? १०० वर्षको इतिहासमा यो पहिलो घटना घटेको हो। हामीले वरिपरि बार त लगाएकै थियौँ’, उनले भनिन्। उनले आगामी दिनमा यस्ता घटना दोहोर्‍याउन नदिन खोरलाई व्यवस्थित रूपमा मर्मत गरिने बताइन्।

उनका अनुसार ५ वटा शिकारी भुस्याहा कुकुर खोरभित्र छिरेको देखिएको छ। उनले मरेका सबै च्यांग्राको ल्याब टेष्ट गरेर गाडिएको जानकारी दिइन्। अहिले त्यहाँका सबै खाेर खाली छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.