भ्रष्टचारमुक्त गाउँपालिका बनाउनेदेखि कृषि क्रान्तिसम्मका योजना

|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिका ८ अर्थात् साविकको टारकेरावारी ४ का गोविन्द बहादुर पौडेल ६३ वर्षको हुँदा दुईपटक जनप्रतिधि बनेका छन्। २०५४सालमा साविकको टारकेराबारी गाबिसको गाबिस अध्यक्ष बनेका उनी पुनः २० वर्षपछि लिखु गाउपालिका प्रमुख बनेका हुन्।

बाबु कृष्णबहादुर र आमा चन्द्रकुमारी पौडेलका ९ सन्तानमध्ये २०११ साल असार ८ मा तीन दिदीको भाइका रुपमा जन्मेका पौडेल एक सामान्य परिवारमा जन्मेका हुन्। दुइ भाइ र तीन बहिनीका दाजु रुपमा जन्मेका उनी बालपनदेखि नै निडर व्यक्तित्वका  रुपमा चिनिन्थे। २०१८ सालमा श्री ग्रामज्योति प्रावि गाम्नाङटार ९ बाट प्रारम्भिक शिक्षा सुरु गरेका पौडेलले विद्यालयस्तरको अध्ययन भने काठमाडौंको नन्दिरात्रि स्कुलबाट गरेका थिए।

विद्यालयस्तरको अध्ययन सकेपछि  २०२७ साल भदौ १५ मा तत्कालीन शाही नेपाली सैनिक सेवामा प्रवेश गरेका पौडेलले जागिरसँगै २०४४ सालमा झापा को मेची बहुमुखी क्याम्पसबाट स्नातकसम्मको अध्ययन सकेका थिए। शाही नेपाली सेनामा प्राविधिक तर्फबाट सुबेदार भएर २०५३ पौष १ सरकारी सेवाबाट राजीनामा दिए।

अवकाशपछि राजनीति

पौडेल जागिर छाडेको १ महिना नबित्दै राजनीतिमा प्रवेश गरेका थिए। कार्यकर्ताको चाहनाअनुसार उनी २०५३ माघमा नेकपा एमाले टारकेरावारी गाउँकमिटीको पार्टी सचिव भए। आफ्नै भाइ भुवनकुमार पौडेल नेकपा एमालेको जिल्ला तहको नेता भइसकेका कारण पनि उनलाई राजनीतिमा चाख लाग्नु स्वाभाविक थियो। त्यति मात्र नभएर ओखलढुंगाको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको यो परिवारका अभिभावक कृष्णबहादुर पौडेल पनि अग्रज कम्युनिस्ट कार्यकता थिए।

२० वर्षअगाडि गाविस अध्यक्ष बनेका पौडेल पुनः गाउँपालिका प्रमुख बनेका छन्। जिम्मेवारी थपिए पनि जनताको काम गर्न तम्तयार भएको उनी बताउँछन् भन्छन्, 'हिजो सानो ठाउँ थियो जनताको काम गर्न सहज थियो अहिले क्षेत्र बढी भए पनि आफूले जनताको काम सरल र सहज तरिकाले गर्नेछु।' आफू गाउँपालिका प्रमुख भएपछि जनताले धेरै आशा गरेको बताउँदै उनी भावी योजनाहरुमा बिशेषतः सडक र खानेपानी रहेको बताउँछन्।  

भन्छन् 'जिल्लाको दुर्गम स्थानमा पर्ने लिखु गाउँपालिका विशेषतः सडककै विस्तार गर्नुपर्ने र सुख्खाग्रस्त स्थानहरुमा सर्वप्रथम खानेपानी पुर्‍याउनु नै मेरो ठूलो काम हुनेछ। यसम, नर्मदेश्वर र सिंहदेवीमा केही महिनामै खाने पानीको अभावलाई न्यूनीकरण गर्ने र पोकली जिमपाखादेखी साँघुटारसम्मको सडकलाई दुई लेनको बनाउन लागिपर्नेछु।'

उनले आफ्ना भावी योजनाका विषयमा थप्दै भने, 'सर्वप्रथम गाउँपालिकालाई भ्रष्टचारमुक्त सुशासनयुक्त बनाउँदै खानेपानी ,सिँचाइ, कृषि, प्राविधिक शिक्षालाई विशेष जोड दिनेछु।'

प्रकृतिक र सांस्कृतिक रुपमा सम्पन्न लिखु गाउँपालिकालाई पर्यटकीयस्थान बनाउने प्रतिबद्धता देखाउँदै उनी भन्छन्, '१ सय ५० वर्ष पुरानो नर्मदेश्वर महादेब मन्दिरसँगै चम्पादेवी र चुलीदेवी मन्दिरलाई सांस्कृतिक पर्यटन क्षेत्र बनाउँदै राष्ट्रियस्तरमा परिचित पोकली झरनालाई अझ व्यवस्थित पारी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने, लिखुखोलामा र्‍याफ्टिङ तथा पोखरीडाँडा र रिखी चौरमा प्याराग्लाईडङका लागी सम्भाब्यता अध्ययन गरी विशेष खालका योजना ल्याई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा लिखु गाउँपालीकालाई चिनाउने छु।'

लिखुखोलाको किनारमा रहेको उब्जनशील भूमिलाई विशेष प्राथमिकता दिई कृषि पकेट क्षेत्र बनाउँदै माटो सुहाउँदो खेती गर्न कृषकलाई  प्रोत्साहन गर्नका लागी कृषकलाई बिनाधितो ऋण उपलब्ध गारउनेदेखि कृषिमा वैज्ञानिकीकरण गरी कृषी क्रान्ति गर्ने योजना रहेको पौडेलका भनाइ छ।

जनतालाई भिजन दिएर बिकासमा लगनशील नेतृत्व पाएकोमा अव आफ्नो गाउँको मुहार फेरिनेमा आफू ढुक्क रहेको लिखु ६ का स्थानीय सुदर्शन खत्री बताउँछन्। राजनीतिक रुपमा फरक राजनीतिक दलमा आस्था राखे पनि आफ्नो गाउँपालिकाले सवल र सक्षम नेतृत्व पाएकोमा आफूहरु खुसी रहेको उनी बताउँछन्।

पोडेलको परिवारबाट स्थानीय तह निर्वाचन २०७४ मा ५ जनाको उम्मेद्वारी परेको थियो। ५ जनामा तीन जना भने एउटै गाउँपालिकामा निर्वाचित भएका छन्। गाउँ पालीका प्रमुख गोबिन्द बहादुर पौडेल, वडा नं. ७ मा बेदबहादुर कार्की र वडा नं. ८ मा बिशालकुमार पौडेल  विजयी भएका छन्।

लिखु गाउँपालीकामै नेकपा माओवादी केन्द्रको तर्फबाट दुर्गा पौडेल सुबेदी  र खिजीदेम्वा गाउँ पालीकामा नेकपा एमालेका तर्फबाट पार्वती पौडेल रोका भने गाउँपालिका उपप्रमुखमा पराजित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.