‘अब समाजमा शिक्षा चेतना छर्ने छु’

|

काठमाडौं : अन्धविश्वासले जकडिएको समाज। त्यसमाथि पुरातन सोच। आधुनिकताको उज्यालो उदाउन बाँकी थियो। भौतिक सुखसुविधा भन्नु  केवल पानी पर्दा ओत्ने छानो र गर्मी हुँदा छेलिने चौतारो थियो। खाँचो थियो चेतनाले भरिएको एक बिहानीको। त्यो बिहानीको खोजीमा गाउँमा सरकारी विद्यालयको निर्माण भयो। त्यही गाउँको सरकारी विद्यालयमा बित्यो उनको बाल्यकाल।

उनी अर्थात् कोशी प्रदेशका कान्छा शिक्षक। नाम : रविन राई। ठेगाना : संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङसेवा। 

उनी २० वर्षको उमेरमा नै कोशी प्रदेशबाट निमावि तहको विज्ञान विषयमा नाम निकाल्न सफल व्यक्ति हुन्। जसको अहिले कान्छा शिक्षक भनेर यतिखेर सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा भइरहेको छ।

बधाई र शुभकामना लिन भ्याइनभ्याई छ उनलाई। उनीमाथि अपेक्षा राखेको परिवार पनि उनको उपलब्धिमा उत्सव मनाएको छ।

‘जब माघ ५ गते अन्तिम नतिजा प्रकाशित भयो,त्यसमा मेरो नाम सिफारिस भएको देखेपछि मैले मेरो परिवारको अपेक्षाको एक अंश पूरा गरेँ भन्ने सोचेको छु‘,थाहाखबरसँग उनले सुनाए।

नेपालको कानुनअनुसार शिक्षकको उमेरहद १८ वर्षदेखि ४० वर्ष हो। सामाजिक सञ्जालमा चर्चा भए जस्तै के उनी नै कोशी प्रदेशबाट छानिएका कान्छा शिक्षक हुन् त? थाहाखबरले शिक्षक सेवा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझ्दा यसअघि १९/२० वर्षको उमेर स्थायी शिक्षकको अभिलेख नभएको प्रतिक्रिया दिएको छ। यसको मतलव अहिलेसम्म उनी नै युवा शिक्षक हुन्। 

‘बुबाआमा र आफ्नो सपना एकैपटक पूरा गरेँ’

रविन २०६० मंसिर ५ गते माङसेवामा आमा कल्पना राईको कोखबाट जेठो सन्तानका रूपमा जन्मिएका हुन्। उनका भाइ र बहिनी पनि छन्। उनका बुबा पर्जाबहादुर राईले गाउँमा नै कहिले आफ्नो कहिले अर्काको खेतीपाती गरेर जीवन गुजारे। अभावकै कारण आफूले कक्षा ५ देखि पढ्न सकेनन्।

हरेक दिन माटोमा जीवन व्यतित गरिरहेका उनले आफू पढ्न नपाएको थकथकी मानिरहन्थे। आफूले पढ्न नपाए पनि छोरालाई पढाएर सरकारी जागिर खुवाउने सपनाको मुना भने रोपे।

त्यही सपना फूलाउन उनले घामसँग जुधे। पानीसँग जुधे। छोराको पढाइमा कुनै कमी हुन दिएनन्। आफूले गरेको दु:ख आफ्ना सन्तानले भोग्न नपरोस् भन्ने उनको सोचाइ थियो। भारतीय स्टाण्डअप कमेडी जाकिर खानको शब्द सापटी लिएर भन्नुपर्दा कुनै पनि बुबाआमाले आफ्नो सन्तानलाई गरिब होस् भन्ने चाहँदैनन्।

आमा कल्पनाको पनि छोरो सरकारी जागिर खाओस् भन्ने चाहना थियो। सरकारी जागिरमा पैसा धेरै नहोला तर एउटा सम्मान हुन्छ उनले पनि बुझेकी थिइन्। उनी जब अध्ययनकै शिलशिलामा तराई झरे। गाउँ र शहरबीचको फरकपना पाए।

‘म जब कक्षा १२ सकेर अध्ययनकै सिलसिलामा तराई झरे,त्यहाँ त बुबा आमासमेत शिक्षित बनेको देखे,मैले सम्झे हैन अब सहरमा मात्रै किन मेरो गाउँमा पनि आमाबुबा शिक्षित हुनुपर्छ,यसको लागि शिक्षक त बन्नु नै पर्छ भन्ने झन प्रण लिए,त्यही अनुसार तयारी गरे,’उनी ती संघर्षका दिन सम्झिए। र उनी २०७९ मा शिक्षक अध्ययनपन अनुमति पत्र (लाइसेन्स) निकाल्न पनि सफल भए। 

सरकारी विद्यालयले कमजोर विद्यार्थी उत्पादन गर्छ भन्नु अफवाह मात्र

पछिल्लो समय सरकारी विद्यालयमा पढ्दा छोराछोरी अब्बल हुँदैनन् भन्ने गलत मानसिकता बनेको छ। अभिभावकहरूले ऋण गरेर भए पनि महँगो निजी विद्यालयमा आफ्ना सन्तान पढाउने होडबाजी चलेको छ।

जसले गर्दा गाउँघर रित्तिएका छन् भने शहरी क्षेत्र भरिएका छन्। रविनका गाउँका पनि धेरै मान्छे सहर झरेका छन्। निजी विद्यालयमा पढेका छन्। उनलाई भने निजीमा पढ्नुपर्छ भन्ने कहिल्यै इच्छाएन। उनी सुनाउँछन्, ‘बुबाआमाको आर्थिक अवस्थाले गर्दा पनि निजी विद्यालयमा मेरो मन कहिल्यै गएन, हाम्रो हैसियतअनुसार नै सरकारी विद्यालयमा पढेँ।'

रविन माध्यमिक तह आफ्नै गाउँको जीवनज्योति माविमा पूरा गरे। उच्च शिक्षा हासिल गर्न संखुवासभाको सदरमुकाम बागेश्वरी माविमा पुगे। जहाँ उनले प्लस टु पढे। प्लस टु सकेपछि अहिले भने उनी मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा बिएड पढ्दै छन्।

समाजको अवस्थाले शिक्षक बन्ने रहर

प्रविधि र भौतिक विकासले मान्छेका रहर दिन गुणा रात चौगुणा फैलिरहेका छन्। जुनसुकै लक्ष्य प्राप्त गर्न सहज भएको छ। यदि आत्मविश्वास र आत्मबल छ भने।

तर रविनलाई भने विद्यालयको शिक्षक नै बन्नु थियो। किन? ‘म जन्मेको,हुर्केको पीछडिएको क्षेत्र हो,अझै पनि अशिक्षा छ’,उनी समाजका विकटतबारे सविस्तार सुनाए,‘ गाउँलाई उज्यालो बनाउने जिम्मा पनि आफ्नो दायित्व हो भन्ने लाग्यो। त्यसैले पनि म शिक्षक बन्छु।  समाजलाई बदल्छु भन्ने  सोच पलायो। अनि म यतातिर ढल्किएँ।‘

उनको सफलताको सार छ :यदि तपाईंमा इच्छाशक्ति र मिहिनेत गर्न सक्छु भन्ने विश्वास छ भने सरकारीमा पढे पनि सफलता हासिल गर्न सकिन्छ।

हार खाए कहिल्यै सपना पूरा हुन्न

हरेक मान्छेका सपना हुन्छन्। तर, पूरा गर्न कठिन छ। त्यसैले त एक दुई पटक प्रयास गर्दा असफल भएपछि ती नै सपनाबाट टाढिन्छन्। विदेश पलायन हुन्छन्। यही समस्यामा पुगेको छ शिक्षा पेसा पनि। त्यसैले अहिले विज्ञान विषयको पनि शिक्षक अभाव छ।

यसले पनि शिक्षा पेसाप्रति आकर्षण घटेको हो की भन्ने अनुमान लगाउन सकिन्छ। तर,रविन त्यसरी हेर्दैनन्। ‘सफल हुन सक्दिन भनेर मिहिनेत गर्न त छोड्नुभएन नी’, केही समय अगाडि रिलिज भएको १२ फेल फिल्ममा मनोजकुमारले बोल्ने अन्दाजमा उनी बोल्छन्, ‘उ हार्‍याे। जो लड्ने प्रयास नै गरेन।‘

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.