|

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हृदयरोग केन्द्र विराटनगरमा उदघाटन भएसँगै बजारको आर्थिक गतिविधि पनि थप चलायमान हुनसक्ने आशा गर्न सकिने बताएका छन्।

शैलजा आचार्य हृदय रोग केन्द्रको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले अस्पतालको सेवाबाट कोशी प्रदेश, मधेश प्रदेश र छिमेकी मुलुक भारतसमेतका विरामीले पनि उपचार पाएर लाभान्वित हुनुका साथै आर्थिक गतिविधि पनि थप चलायमान हुन सक्ने बताएका हुन्।

सरकारी तहमा राजधानीको गंगालाल हृदयरोग केन्द्रबाहेक हृदयरोगसम्बन्धी अस्पताल राजधानीबाहिरको पहिलो र देशकै दोस्रो अस्पतालको रूपमा सेवारत हुँदै गएको बताउँदै उनले यस सुखद कामबाट सबै खुशी भएको बताए। 

‘यो अत्यन्तै राम्रो कामको शुरुवात भएको छ। यो अस्पताल स्थापनाको लागि योगदान गर्नु हुने सबैमा हार्दिक बधाई दिन चाहन्छु‚’ प्रदेश प्रमुख खापुङले भने, ‘हृदयरोग सम्बन्धमा विशिष्टिकृत सेवा प्रदान गर्ने यो अस्पताल हाम्रो कोशी प्रदेश विराटनगरमा स्थापना भएपछि सरकारले हृदयरोगसम्बन्धी विरामीलाई १ लाख रुपैयाँ सहयोग गर्दै आएकोमा यस अस्पतालमा उपचार गर्न आउने विरामीलाई प्रदेश सरकारले थप १ लाख सहयोग गर्नेछ।’

अस्पतालबाट मुटुरोग, छाति तथा फोक्सोसम्बन्धी उपचार पनि एउटै छातामुनि विशिष्टीकृत रूपमा विरामीले पाउने हुँदा सर्वसाधारण धेरै लाभान्वित हुने अवस्था सिर्जना भएको उनको भनाई थियो। 

‘यस प्रदेशका अन्य अस्पतालहरूमा पनि कार्डियोलोजी डिपार्टमेन्ट छन्। यो अस्पतालले सेवा दिन शुरु गरेपछि हाम्रो प्रदेशको राजधानी विराटनगर मेडिकल हबको रूपमा विकसित हुन सक्छ‚’ उनले भने, ‘आजको जीवनशैली र खानपानले गर्दा नसर्ने रोग मुटुरोगीको संख्या वृद्धि हुँदै गएको तथ्याङ्क सार्वजनिक भइरहेको सन्दर्भमा हामी सबै चिन्तित छौँ। यो अस्पताल स्थापनाले यी रोगहरूको निदानमा विशिष्टिकृत सेवा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आशा र भरोसा गर्न सकिन्छ।’

सबै मिलेर अस्पतालको लक्ष्य प्राप्तिको निमित्त अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.