कुलपति छाड्न प्रधानमन्त्री तयार !

|

काठमाडौँ : तीन महिनादेखि देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिविहीन छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालको भरमा त्रिवि चलेको छ।

यसअघि राजनीतिक भागबन्डाबाट उपकुलपतिको नियुक्त हुँदै आएकोमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने सरकारले घोषणा गर्‍यो। नियुक्त गरिसक्नुपर्ने वेला राजनीतिक किचलो र ढिलासुस्तीले आवेदन खुलाउनै समय लाग्यो।

बल्ल आवेदन त खुल्यो तर विवादित बन्यो। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पहिलोपटक गत पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो। उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न ६ वटा मापदण्ड तोकिएको थियो।

ती मापदण्डमध्ये विश्वविद्यालयका पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटियो। यसै कारण उक्त सूचना विवादित बन्यो। त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था संशोधन गर्न निर्देशन दिएपछि समितिले पुनः पुस २३ गते आवेदन खुलायो। त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। 

भद्रगोल त्रिवि

देशकै जेठो र त्रिविमा अनेकौँ बेथिति अझै ज्युँका त्युँ छन्। सुधारका निम्ति विभिन्न आन्दोलन भए‚ कार्यालयमा ताला लाग्यो तर न राज्यले त्रिवि व्यवस्थित गर्न सक्यो न राजनीतिक हस्तक्षेप नै रोक्यो। यो क्रम तत्कालीन उपकुलपति बास्काटोको कार्यकालभरी पनि चल्यो। त्रिविको वार्षिक क्यालेन्डरअनुसार काम भएन। परीक्षा भएको १५ महिनासम्म पनि त्रिविले नतिजा प्रकाशन गर्न सकेन।

बारम्बार कहिले प्रश्नपत्र दोहोरिन्छ त कहिले प्रश्नपत्र बाहिरिन्छ। २०७९ जेठ १८ गते (त्रिवि) को मानविकी संकायले स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र अन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भयो। 

उक्त घटना सेलाउन नपाउँदै फेरि असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन बिहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि-बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो। त्यसैले पनि झनै त्रिविको विश्वसनीयता घट्दै गयो।  

यस्तो नेतृत्व आवश्यक

अहिले आवेदनकर्ताको सूची हेर्दा त्रिवि उपकुलपतिको आवेदन दिनेमा प्रश्नपत्र ‘आउट’ गर्नेदेखि ‘बौद्धिक’ चोरी गर्नेसम्मआरोपी देखिए। अधिकांश आवेदक पार्टीगत रहेको पाइयो। त्यसैले पनि उनीहरूबाट त्रिविको साख जोगाउने र नेतृत्व पाउन मुस्किल पर्ने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन्।

‘साँच्चै त्रिविको उपकुलपति भएर त्रिविलाई सुधार गर्ने हो भने त्यो मान्छे कुनै पार्टीगत हुनुहुँदैन तर उपकुलपतिका लागि आवेदन दिनेहरू पार्टीगत रहेको देखिन्छ’, उनले भने। आवेदन दिएकाबाहेक बाहिरबाट योग्य व्यक्ति ल्याउन नमिल्ने र नसकेर यीमध्येकै छनोट गरिए पनि ती व्यक्तिमा आशा जगाउने खालका काम गर्नसक्ने व्यक्ति चाहिने उनको  बताए। ‘दलका भएर पार्टीप्रति आस्था राख्ने भए पनि आशा जगाउने काम चाहिँ गर्नुपर्छ, त्यो भए ठिकै हो’, उनले भने।

अर्का शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमा प्रशासन र धरोहर शैक्षिक संस्था त्रिवि चलाउनसक्ने व्यक्ति अबको उपकुलपति बन्नु आवश्यक पर्ने बताउँछन्। त्रिविका पूर्व उपकुलपतिसमेत रहेका उनले भने, ‘पार्टीगत हुनुहुँदैन, अनुभवी र योग्य व्यक्तिको आवश्यकता छ त्रिविमा।’

उपकुलपतिका लागि आवेदन दिएकाहरूमध्ये कतिपय अनुभवी भएकाले छनोट समितिले योग्य व्यक्ति छान्छ भन्ने विश्वास उनले लिएका छन्। ‘मैले सुन्दा पूर्व उपकुलपतिहरूले पनि आवेदन दिएका छन्। यो राम्रो पक्ष हो, किनभने उनीहरूमा अनुभव छ, काम गरेर सिकेर आएका छन्। अब छनोट समितिले योग्य नै उपकुलपति छान्ला नि’, उनले भने।

यता विद्यार्थीहरूले ‘उपकुलपतिको परिचय दलको झण्डा नहोस्, ज्ञानको पुञ्ज होस्’ भन्ने माग गर्दै आएका छन्।

कुलपति छाड्न प्रधानमन्त्री तयार

प्रधानमन्त्री दाहालले त्रिविको उपकुलपतिकै सन्दर्भमा हिजो (बुधवार) प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग छलफल राखेका थिए। उक्त छलफलमा प्रा.डा. कोइराला पनि सहभागी थिए।

उक्त छलफलमा प्रा.डा. केदारभक्त माथेमा, डा. पीताम्बर शर्मा, डा. चैतन्य मिश्र, प्रा.डा. कृष्ण खनालसहितले दलीय राजनीतिबाट त्रिविलाई मुक्ति पार्न पहिला प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउनुपर्ने सुझाव दिएका थिए। प्रधानमन्त्रीले त्रिविलाई सुधार गर्न आफू कुलपति पदबाट हट्न तयार भएको पनि जानकारी दिएको प्रा.डा. कोइरालाले बताए।

‘हामीले उक्त कुरा भनेपछि म कुलपतिबाट हट्न पनि तयार छु भन्नुभयो’, उनले भने, ‘सबै कुरा गर्दा र सुनेपछि खुला रूपमै उपकुलपति छनोट गर्नेमा उहाँ देखिनु भयो, सकारात्मक हुनुहुन्छ। यसका लागि सबै दलसँगै सहमति पनि गरेका रहेछन्।’

उनीहरूले प्रधानमन्त्रीलाई शैक्षिक संस्थालाई राजनीति मुक्त बनाउने हो भने पहिला दलको भातृसंगठन बन्द गर्नुपर्छ अनि लुटी खाने नभई विद्यार्थीहरूलाई गरी खाने बनाउनुपर्छ भनेर सुझाव दिएका थिए। ‘उहाँले यस विषयमा जवाफ भने दिनु भएन’, उनले भने।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रूपमा विकास गर्न आफू लागिपरेको बताए। ‘देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रू’ गर्न लागिएको छ। यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.