|

पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले मकै र मकैको बिउ उत्पादनका लागि ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ का वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लामा रहेको कृषि फर्म, कृषक समूह तथा कृषि सहकारी संस्था लगायतमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो। मकै बिउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजनाका लागि प्राप्त भएको ६६ लाखलाई विभिन्न चार कार्यक्रममा विभाजन गरेर लगानी गर्ने अधिकारीको भनाइ छ। 

मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत ३० हेक्टर क्षेत्रफलमा मकै खेतीका लागि ३० लाख, बीज वृद्धि कार्यक्रम अन्तर्गत २० हेक्टर क्षेत्रफलमा खेती गर्न २० लाख, यान्त्रीकरण तथा पूर्वाधार निर्माण सहयोग कार्यक्रम अन्तर्गत एकपटकका लागि १० लाख र मकैको उत्पादनपछि व्यवस्थापन बजारीकरण तथा मूल्य अभिवृद्धि सहयोग कार्यक्रम अन्तर्गत एक पटकका लागि ६ लाख रुपैयाँ लगानी हुनेछ।

यी कार्यक्रममा अनुदान दिँदा मकै बिउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजना कार्यान्वयन मापदण्ड, २०७९ अनुसार बिउमा बढीमा ७५ प्रतिशत तथा सिँचाइ लगायतका पूर्वाधार निर्माणमा बढीमा ९० प्रतिशत तथा यान्त्रीकरणतर्फ बढीमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ। यस्तै बजारीकरणतर्फ बढीमा ५० प्रतिशतसम्म मात्रै अनुदान दिन सकिने कार्यालयले बताएको छ। 

मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्धन कार्यक्रममा कम्तीमा पनि १० घर परिवार संलग्न समूह वा सहकारीमार्फत कम्तीमा १०० रोपनीमा खेती गर्नुपर्ने भनिएको छ। यस्तै बीज वृद्धि कार्यक्रममा सहभागी हुनको लागि कम्तीमा १० घर परिवार संलग्न समूह वा सहकारीमार्फत कम्तीमा पनि २० रोपनी क्षेत्रफलमा बिउ उत्पादन गर्नुपर्ने, यान्त्रीकरण तथा पूर्वाधार निर्माण सहयोग कार्यक्रममा सहभागी हुन मकैको क्षेत्रफल विस्तार तथा बीज वृद्धि गर्ने कृषि समूह वा सहकारीका लागि बजेट दिइने कार्यालय प्रमुख अधिकारीले बताए।

मकैको उत्पादनोपरान्त व्यवस्थापन र बजारीकरण तथा मूल्य अभिवृद्धि सहयोग कार्यक्रममा पनि कृषि, फर्म, कृषि सहकारी, कम्पनी, समूहमार्फत आवेदन दिन सकिने छ। एकै प्रकृतिको कार्यक्रमको लागि अघिल्ला दुई आर्थिक वर्षमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे नगरेको हुनुपर्ने, सम्बन्धित स्थानीय तह र वडा कार्यालय वा कृषि शाखाले कार्यक्रमको दोहोरोपन नभएको तथा नहुने प्रमाणित गर्नुपर्ने छ। 

मकैका लागि तोकिएका कार्यक्रम प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि, २०७७ र मकै बिउ उत्पादन तथा मकै बाली प्रवर्धन आयोजना कार्यान्वयन मापदण्ड, २०७९ मा भएका व्यवस्था अनुसार सञ्चालन हुने कार्यालयले बताएको छ। निर्धारित कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, फर्म वा कृषि सहकारी लगायतले यही माघको १७ गते भित्रमा आवेदन गरेको हुनुपर्ने कार्यालय प्रमुख अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.