कम्युनिष्ट एकता नै जनताले रुचाएका थिए : प्रदेश अध्यक्ष नेम्वाङ

|

काठमाडौं : राष्ट्रियसभा चुनावमा स्पष्ट बहुमत रहेको सत्ता गठबन्धनले कोशी प्रदेशमा एक सिट गुमाएको छ।

कोशी प्रदेशमा भएको  दुई सिटको निर्वाचनमा एक कांग्रेस र एक माओवादीले भाग लगाएका थिए। जसमा कांग्रेस कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित बनिन्।

कोशी प्रदेशमा सत्ता गठबन्धनको ५ हजार तीन सय ९८ मतभार भए पनि कार्कीले ४ हजार नौ सय ९२ मत प्राप्त गरिन्। जसकारण एमालेले गठबन्धनबाट एक सिट फुत्काएको छ। यस परिणामले गठबन्धनमा हलचल मच्चाएको छ।

किन यस्तो भयो? यसले गठबन्धनमा के हलचल ल्याउला? यसै विषयमा कुराकानीका लागि नेकपा माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङसँग थाहा सञ्‍चारमा भएको कुराकानीको सम्पादित अंश :

कोशीमा किन फेल खायो गठबन्धन

कोशीमा राजनीतिक बैमानी भएको छ। गठबन्धनमा जुन हिसाबले इमान्दारीता पूर्वक काम हुनुपर्ने हो नेपाली कांग्रेसबाट इमान्दार भएर प्रस्तुत हुनुभएन। जसकारण गठबन्धनले सफलता प्राप्त गरेन। 

तपाईंहरूको पटक-पटक बैठक भए। शेखर कोइरालाले मौन अवधिमा चियापान नै गर्नुभयो। यसले पनि काम गरेन

काम गरेको परिणाम हाम्रो पक्षमा आइहाल्थ्यो। काम गरेन नै। सँगै हिँड्ने साथीहरूले पीठ पछाडि छुरा हान्छन् भन्ने त यो पटक कल्पना गरेका थिएनौं। अनुमान थियो। शंका थियो। आशंका थिए। हल्लाहरू थिए। तैपनि अब विगतका कुराबाट साथीहरूले पाठ  सिक्नुभएको होला भन्ने हामीले सोच बनाएका थियौं। तर हाम्रो सोच चाहिँ फगत जस्तो भयो। गलत सावित भयो। 

कांग्रेस उम्मेद्वार जित्ने माओवादी हार्ने। उस्तै मतभार छ। अब कोशी प्रदेशका यसले के अर्थ राख्छ? के असर राख्छ

अहिलेसम्म घटनाक्रम हेर्दा कांग्रेससँग सहकार्य हुँदै आयो। यो सहकार्यको विश्वनियतामाथि गम्भीर प्रश्न चिन्ह् खडा भएको छ। हामीले अब कुन हिसाबमा गठबन्धन गरिराख्ने? अब हामीले निस्वार्थ सहयोग गरिरहने उहाँहरूबाट पटक-पटक अन्तर्घात भइराख्यो।

यसले हाम्रो सहयात्रामा संकट पैदा भएको छ। यसको गम्भीर समिक्षासहित निर्णय लिने बेला आएको छ। 

अघिल्लोपटक पनि धोकाको क्रम जारी थियो। यहाँहरूले कसरी भुल्नुभयो

संघ प्रदेशमा पनि हामीले गठबन्धन गरेका थियौं। त्यहाँबाट पनि अपेक्षित नतिजा हासिल गर्न सकेनौं। त्यसपछाडि गठबन्धनबाट नै हामीले मुख्यमन्त्री प्राप्त गरेका थियौं। त्यसमा पनि अन्तर्घात भयो। र अहिले राष्ट्रियसभा निर्वाचनमा पनि यो दोहोरियो। यसमा त उहाँहरूले श्रृखंलाबद्ध यस्ता कार्य गरिरहनुभएको छ। यो क्षम्य हुने खालको गतिविधि होइन। 

अब तपाईंहरूले निर्णय गर्ने बेला आएको छ भन्नु भएको छ। के निर्णय गर्नुहुन्छ

यसबारे हामीले छलफल गरेका छौं। छिट्टै निर्णयमा पुग्छौं। 

सरकार निर्माणका सबै धारा प्रयोग भइसकेका छन्। यस हिसाबले कोशीमा तपाईंहरू किनारमा हुनुहुन्छ। कि मध्यावधिमै फाल हाल्ने हो र

हामीसँग धेरै चुनौती छन्। यी चुनौती फेस नगर्ने उपाय पनि छैन। तर अहिलेको सन्दर्भमा हाम्रो प्रदेश सत्ता निर्माणमा  सबै दल एकै ठाउँमा उभिनु भएकै छ। त्यसकारण नै तत्कालै मध्यावधिमा जान्छ भन्ने क्षिण छ।

कुनै पनि दलले मध्यावधीमा जाने मनस्थिति बनाउनु भएको छैन। त्यसले गर्दा मध्यावधिमा जाने प्रश्न एकातिर छ। अर्कोतिर कांग्रेससँग सहकार्य गर्ने कुरा अल्पकुरा हो। त्यसमा भने समीक्षा जरुरी छ। 

कोशीमा दुई कांग्रेस छ। एकातिर शेखर कोइराला पक्ष अर्को  शेरबहादुर देउवा कांग्रेस छ। त्यसमा देउवा कांग्रेसले त सहयोग नै गर्‍यो होला नि

कोशीमा दुईवटा मात्र होइन। दर्जनौं कांग्रेस रहेछन्। अहिलेसम्मको सहकार्यले त्यही प्रमाणित गर्छ। थुप्रै कांग्रेसभित्र पनि गठबन्धन मिलाउन मुस्किल रहेछ।

अहिले सतहमा आएको चाहिँ दुई कांग्रेस भनेर आइरहेको छ। तर मिलाएर लिएर जान बडो मुस्किल रहेछ। हाम्रो अनुभूतिले यही भन्छ। 

कोशीको नतिजाले केन्द्रमा केही असर राख्छ

राष्ट्रियसभा चुनाव केन्द्रबाट नै बनाइएको गठबन्धन हो। हामीले स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनलाई नै निरन्तरतालाई हामीले बुझ्नुपर्छ।

यो गठबन्धनले अन्य प्रदेशमा सफलता नै हासिल गरेको छ। मात्र प्रदेश १ मा मात्र यस्तो देखिएको हो। अन्तर्घात कोशीका लागि नयाँ घटना भने होइन।

कोशीमा एक दुई  मत क्रस भएको हैन। मात्रा हेर्ने हो भने डरलाग्दो अवस्था छ। एक दुई व्यक्तिले गठबन्धन अस्विकार गरेभन्दा पनि यो राजनीतिक रुपमा उहाँहरूको नैतिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ। 

भनेसी केन्द्रीय गठबन्धन र प्रदेश गठबन्धन छुट्टै भनेर हेर्नुपर्ने हो

घटनाक्रममले त्यही पुष्टि गर्छ। स्थानीय तह निर्वाचन पछाडि कांग्रेससँग राजनीतिक सहयात्रा सुरू गरेका छौं। सहयात्रालाई भत्काउन एक पक्ति षडयन्त्रमा छ। त्यो अहिलसम्म पनि जारी नै छ। केन्द्र र प्रदेशको हकमा जारी छ।

केन्द्रमा पनि प्रधानमन्त्रीलाई कांग्रेसको एउटा पंक्तिले निरन्तर ढाल्ने र असहयोग गर्ने क्रम पनि जारी छ। त्यो प्रवृत्ति झाँगिएकै छ। त्यो प्रवृतिले कमजोर बिन्दुका रुपमा हाम्रो प्रदेशलाई पाएको छ। कोशीलाई प्रयोगशालाको रुपमा लिएको हामीले महसुस गरेका छौं। 

नेताले त फ्लोरक्रस गर्ने रहेछन्। जनताले फ्लोरक्रस गरे भनेर अत्तालिने अवस्था चाहिँ रहेनछ नि है

बेइमान नै नेता हुन्। जनता त किन बेइमान हुने हो र? जनताले त आफूले गरेको मूल्यांकनको आधारमा भोट दिने हो। माथिबाट धेरै कुरा बिग्रेको हो। अहिले त जनप्रतिनिधिहरूले भोट हाल्ने कुरा हो। जनप्रतिनिध भनेको एउटा तहको नेताहरू नै हुन्छन्। नेताहरूबाट घात हुन्छ भन्ने कुरा हामीले कल्पना गरेका थिएनौं। 

तपाईंले भने जस्तै यो राजनीतिक बेइमानीले एमालेसँग सहकार्य गर्ने बाटो खुला गरेको हो

हिँड्दै जाँदा सहयात्रीहरू छुट्टिने नियम नै हो। हामीले कांग्रेसबाट निरन्तर धोका पाइरहँदा एमालेसँगको सहकार्य त हामीले कहिल्यै बन्द गरेका थिएनौँ/छैनौं।

कम्युनिष्ट गठबन्धन त जनताले रुचाएका नै हुन्। तर अहिले पनि कम्युनिष्ट गठबन्धनको ढोका बन्द गरेका छैनौँ। छलफलहरू हुन सक्छन्। भएका छन्। सहकार्यबारे पनि पछिको कुरा हो। 

केन्द्रको इसारा पनि पर्खिनुपर्ने होला। आखिर चापी पार्टीले केन्द्रसँग बनाएका छन् नि ?

हरेक निर्णय केन्द्रबाट हुँदै आएको छ। प्रदेशबाट केही गर्न नसक्ने अवस्था छ। पार्टीभित्र आवाजहरू उठिरहेका छन्। प्रदेशका आफ्ना निर्णय आफैँ गर्न दिनुपर्ने कुरा हामीले पनि पार्टीभित्र उठाइनै रहेका छौं। हामीले हाम्रा निर्णय आफैँ गर्न पाउनुपर्छ भनेर वकालत गर्दै आएका छौं। हामीले कोसँग सहकार्य गर्ने, कोसँग चुनावमा जाने भन्ने निर्णय हामीले लिन पाउने हो अपेक्षित नतिजा ल्याउन सकछौँ। 

अब सरकारबाट बाहिरिनुहुन्छ कि आत्मालोचनामा नै चित्त बुझाउनुहुन्छ

कमजोरी कहाँ कहाँ भए भनेर अध्ययन गरिरहेका छौं। अहिलेसम्म सहकार्य गरेको हिसाबले समीक्षा गर्छौं। यसमा उहाँहरूले कसरी अगाडी  बढ्नुहुन्छ। यसलाई करेक्सन गर्ने विधि प्रक्रिया के हुन्छ? त्यसलाई हेरेर निर्णय गर्छौं। सरकारलाई समर्थन गरेर बाहिरिने पनि हुन सक्छ। यो सम्भावना छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.