|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक कार्यक्रममा बोल्न नछुटाउने विषय हो, नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढाउने।

गत बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सवमा पनि उनले यही कुरा दोहोर्‍याए। ‘नेपालको मेडिकल शिक्षा दक्षिण एसियामै उत्कृष्ट छ। धेरै देशले नेपालमा पढ्न पाउनुपर्‍यो भनेर भनिरहेका छन्। अहिले अध्ययन गर्न आउनेहरूको संख्या बढ्दै गइरहेको छ।’  

तर चिकित्सा शिक्षा आयोगको  विवरण हेर्ने हो भने नेपाल आएर चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी ज्यादै न्यून छन्, विदेश पढ्न जानेको तुलनामा। 

नेपालमा चिकित्सा शिक्षा अध्यन गर्न आउने विदेशी विद्यार्थी भन्दा दोब्बर नेपाली विद्यार्थी पढ्न विदेश जान्छन

चिकित्सा शिक्षा आयोगका अनुसार अघिल्लो आर्थिक वर्षमा  ४२१ विदेशी विद्यार्थी नेपाल आएका छन्। यही अवधिमा ९७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन्।  

यो वर्ष स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा ४०६ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन्। नेपालमा सबैभन्दा धेरै भारतबाट, बंगलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि ‘फेलोसिप’मा पाँचजना, स्नातक तहमा ७०१ र स्नातकोत्तर तहमा २६६ जनालाई अध्ययन अनुमति दिइएको छ।

यसरी हेर्दा नेपालमा विदेशबाट पढ्न आउनेभन्दा चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या धेरै छ।  आयोगको विवरण हेर्दा २०७७ सालपछि नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढेको देखिन्छ। आयोगका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ५० विदेशी विद्यार्थी अध्यन गरेकोमा ०७८/७९ मा २३६ विदेशी विद्यार्थीले एमबीबीएस  अध्ययनका लागि नेपाल आएका थिए।

तर संख्यात्मक हिसाबमा तुलनात्मक रूपमा नेपाल अध्यन गर्न आउनेभन्दा विदेश जाने नेपाली विद्यार्थीकै संख्या धेरै छ। 

स्नातकोत्तरभन्दा एमबीबीएस पढ्न आउँछन् विदेशी विद्यार्थी

सरकारले विदेशी विद्यार्थीलाई विभिन्न विधामा गरेर २२  सय सिट छुट्याएको छ। जसमा एमबीबीएसतर्फ २१ कलेजमा कुल ५५६ सिट विदेशी विद्यार्थीका लागि छुट्ट्याएको छ।

आयोगले हरेक वर्ष एमबीबीएसतर्फ १८ सय ३५ र बीडीएसमा ५६० सिट छुट्याउँदै आएको छ, जसमा स्वदेशी लगानीमा सञ्चालित सरकारी मेडिकल कलेजमा ३३ प्रतिशत र विदेशी लगानी भए ५० प्रतिशत विदेशी विद्यार्थी भर्ना हुन पाउने प्रावधान छ।

तोकिएको सिट संख्या मध्ये न्यून संख्यामा विदेशी विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने गरेका छन्। यसमा अझै अर्को महत्त्वपूर्ण विषय भनेको नेपालमा मेडिकलतर्फ १६ विधामा पढाइ हुने भए पनि विदेशबाट एमबीबीएस मात्र अध्ययन गर्ने आउने विदेशीको संख्या धेरै छ। त्यसको प्रखुख कारण भनेको नेपालको केही मेडिकल कलेजको शिक्षालाई मात्रै भारत लगायतका देशले पत्याएका छन् अर्थात् ती कलेजमा पढेका विद्यार्थीलाई मात्रै आफ्नो देशमा चिकित्सकको मान्यता दिएका छन्।

चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार हाल भारतले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को केही विधाको र धरान स्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा ड्रमाटोलोजी, रेडियोलोजी र स्त्री तथा प्रसूति विधाको स्नातकोत्तर तहको पढाइलाई मान्यता दिएका छन्। यस्तै अन्य केही कलेजमा पनि विधागतरूपमा मान्यता दिएका छन्। ‘एमबीबीएसतर्फ धेरै विद्यार्थी अध्ययन गर्न आए पनि विशेषज्ञ तहको पढाइमा हाम्रोमा पढ्न आउने संख्या एकदमै कम छ’, प्राडा गिरीले भने, ‘यसले गर्दा हाल विदेशी विद्यार्थीलाई छुट्याइएको सिट नै खाली हुन्छन्। यसको मुख्य कारण भनेको विशेषज्ञ तहमा अध्ययन गराउने हाम्रा मेडिकल कलेजले प्रयोग गर्ने उपकरणको अवस्था पनि हो।’

यस्तै स्नातकोत्तर तहको पढाइमा विदेशी विद्यार्थीले धेरै शुल्क तिर्नु पर्ने अवस्था हुँदा पनि विशेषज्ञ तहको पढाइमा विदेशी विद्यार्थी कम आउने गरेका छन। ‘ हामीले स्नातकोत्तर तह पढाइमा विदेशी विद्यार्थीलाई ७५ हजार डलर ( नेपाली एक करोड जति) शुल्क तोकेका छौँ । यो अलि महँगो भयो’, गिरीले भने, ‘एक शुल्क अलि महँगो अर्कोतर्फ भौतिक पूर्वाधार तथा कलेजको शिक्षा कमजोर हुँदा स्नातकोत्तर तहमा विदेशी विद्यार्थीको आकर्षण कम भएको हो।’

यस्तै हाल भइरहेको चिकित्सा शिक्षा एन संशोधन गरेर विदेशी विद्यार्थीलाई सिट बढाउन भन्दा हाल छुट्याइएकै सिट संख्यामा हरेक वर्ष विद्यार्थी भर्ना हुने वातावरण बन्ने गरी कलेजको शैक्षिक गुणस्तर सुधार्नु पर्ने गिरी बताउँछन्।

बीडीएस पढ्न आउने विदेशी विद्यार्थीको संख्या एकदमै न्यून रहेको  बताउँछन्  कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ। बीडीयसतर्फको पढाइ हाम्रोमा उत्कृष्ट भए पनि पढ्न आउने संख्या एकदमै न्यून छ’, डा. श्रेष्ठले भने।

सबैभन्दा बढी भारतका विद्यार्थी

चिकित्सा शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थी मध्ये नेपालमा सबैभन्दा धेरै अध्ययन गर्न आउने विद्यार्थी भारतका हुन्।

स्नातकोत्तर तहमा  हाल भएका सबै मेडिकल कलेजको शिक्षालाई भारतले मान्यता नदिए पनि केही मेडिकल कलेजको एमबीबीएस तहको पढाइलाई भने स्वीकार गरेको देखिन्छ। नेपालमा सरकारी मेडिकल कलेजमा ३३ प्रतिशत र निजीमा ५० प्रतिशत विदेशी विद्यार्थी भर्ना हुन पाउने प्रावधान छ। यसअनुरूप कलेजहरूले एक शैक्षिक सत्रमा ५६० विदेशी विद्यार्थी भर्ना लिन पाउँछन्।

निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष तथा  विराटनगरस्थित विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार भारतमा हरेक वर्ष एमबीबीएस तहमा एक लाख विद्यार्थीलाई पढाउने भए पनि २५ लाखले आवेदन दिने गर्छन्। यीमध्ये ११ लाख इन्ट्रास पास भए पनि एक लाखले मात्रै पढ्न पाउने भएकाले बाँकी विद्यार्थी नेपाल लगायतका देशमा एबीबीएस तहको पढाइ पढ्न आउने गरेका हुन्। ‘हाम्रोमा एमबीबीएसतर्फ विदेशी विद्यार्थी अझै भारतका विद्यार्थीहरूको आकर्षण धेरै छ। यो वर्ष मात्रै ५०० जति विदेशी विद्यार्थी इच्छा भएर पनि भर्ना हुन पाएनन्। त्यसैले अध्ययन गर्न आउने विधामा भने सरकारले बाटो खुलाइदिनु पर्छ।’ 

यो वर्ष भारत र नेपालको समय तालिका मिलेको भएर पनि भर्ना हुन नमिल्ने प्रावधानका कारण धेरै भारतीय विद्यार्थी फर्किन बाध्य भएको कार्कीले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.