|

गौर : रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका सवारीसाधन पछिल्लो समय कबाडमा परिणत हुन थालेका छन्। सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट सफा गर्ने ट्याक्टर र ट्याङ समेत कबाड बनेको हो।

नगरप्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारीसाधन कबाड बनेपछि स्थानीय आक्रोशित बन्न थालेका छन्। सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएको एम्बुलेन्स समेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ।

त्यस नगरपालिकामा चारवटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुईवटा एम्बुलेन्स मात्र चालू अवस्थामा छन्। उक्त नगरपालिकाका वडा नम्बर १, ४, ७ र ८ सँग एम्बुलेन्स छन्। तीमध्ये वडा नम्बर १ र ४ का एम्बुलेन्स मर्मत अभावमा कबाड नै बनेका हुन्।

जनतालाई लाभ हुने ट्वाइलेट सफा गर्ने सेफ्टी ट्यांकर ७ महिनादेखि वीरगञ्जको ग्यारेजमा अलपत्र परेको छ।

पूर्व नगरप्रमुख रामस्नेही यादवको पालादेखि सस्तो रेटमा आम सर्वसाधारणको ट्वाइलेट सरसफाइ गर्दै आएको थियो। तर, गत स्थानीय निर्वाचनमा नगरप्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्वाइलेट सफा गर्ने ट्याक्टरसहित ट्यांकर समेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए।

नगरप्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए। 

लामो समयदेखि एम्बुलेन्स र ट्वाइलेट सफा गर्ने ट्यांकर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्वाइलेट सफा गर्ने ट्यांकर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ छ। यता पालिकाले दिँदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोशित छन्।

पालिकामा सवारी कसरी कबाड बन्यो भन्ने विषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेलसँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो विषयमा आफुलाई केही जानकारी नभएको बताएका छन्। यो विषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले बताए।

यता स्थानीयले नगरपालिकाको चरम लापरवाहीका कारण एम्बुलेन्सदेखि ट्यांकरसम्म कबाड बनेको बताएका हुन्। नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असारयता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.