|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को  सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्।

अध्यक्ष ढकालले भने, “नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना रहेको छ। यी क्षेत्रका साथै सहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभवलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ। त्यसैले नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस्।”

अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकको योगदान रहेको बताउँदै ती श्रमिकलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीलाई आग्रह पनि गरे।

नेपालमा वैदेशिक लगानी भित्र्याउन आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा नेपाल सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानीको राम्रो वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्तालाई पनि यसका लागि प्रेरित गर्न उनले आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.