|

काठमाडौं :  आज ६२औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित  संघ संगठनले मनाउँदै छन्। 

नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।

नेपालमा नर्सिङको इतिहास त्यति लामो भने छैन तर अहिले यो पेसा अपनाउनेको संख्या ठूलो छ । नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने भनेकै नर्सहरुले हुन्।

सेतो कोटमा मुस्काउँदै २४ घण्टा बिरामीको सेवामा समर्पित हुनु नर्सको कर्म हो। बिरामी घर नफर्कुन्जेल नर्सले कसलाई कुन समय कस्तो औषधि दिने हेक्का नर्सले गरेर सेवा गरी रहेका हुन्छन।

​सेतो कोट लगाएर मुसुक्क हाँस्दै सेवामा तल्लिन रहने नर्सहरुको सेवा पाएपछि बिरामीले आधा रोग निको भएको महसुस गर्छन्।विश्वासिलो र मायालु व्यवहार नै नर्सहरुको पहिचान हो। अस्पतालमा नर्सहरु बिरामीका लागि अभिभावक हुन्।

तर पछिल्लो समय अस्पताल पुग्ने बिरामीले  नर्सहरुको मायालु व्यवहार र सेवा पाउन छाडिएको गुनासो बाक्लिँदै गएको छ। नर्सहरु स्वयमले पनि त्यो कुरा स्वीकार गरेका छन। यसको प्रमुख कारण भनेको  नर्सहरुको लागि हुने सामाजिक सुरक्षा समय सापेक्ष नहुनु रहेको स्वयम यस क्षेत्रका विज्ञहरुले बताउदै आएका छन्।

कति छन हाल नेपालमा नर्स

नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९४८ नर्स दर्ता छन्। यस्तै १ हजार ५०७ जना स्पेशल नर्सहरु रहेका छन भने ८ सय ४९ जना विदेशी नर्सहरु नेपालमा कार्यरत रहेका छन। यीहरुले नेपालको विभिन्न स्वास्थ्य संस्थामा रहेर सेवा दिइ रहेका छन्। यस्तै ६६ जना मिडवाइ, ३७ हजार ३८३ जना एनमी रहेका छन्।

नेपालमा नर्सका सेवामा समस्यै समस्या

एक त नसिङ शिक्षा पुरा गरेपछी भनेकै सेवा सुविधामा जागिर पाइदैन। पाइएको जागिरमा पनि तोकिएको समय भन्दा बढी त्यो पनि क्षमता भन्दा धेरै विरामीको सेवा गर्नु पर्ने बाध्यता रहेको त्रिवि शिक्षण अस्पतालकी नर्स विन्दा शर्माको भनाइ छ। ‘ एक त हाम्रोमा नर्सिङ शिक्षा पुरा गरेर लाइसेन्स लिएर बसे पनि भनेको समयमा सेवा सुविधा सहित काम पाइदैन अर्को तर्फ पाएको काममा पनि ओभर टाइम डिउटी गर्नु पर्छ त्यो पनि एकै नर्सले धेरै ३० जना भन्दा वढी बिरामी हेर्नु पर्ने बाध्यता छ जसले गर्दा एका तिर नर्सिङ सेवाको गुणस्तरनै खस्किदो छ भने अर्को तर्फ लगातार लामो समय सम्म काम गर्दा नर्सहरुकै स्वास्थ्यमा असर गर्ने अवस्था छ’ उनले भनिन।

एकजना नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ। तर नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ।

अझै नेपालमा अस्पतालको वार्डमा हेल्परसमेत नहुँदा दोहोरो कामको चेपुवामा छन् नर्स। यसले नर्सहरूको मानसिक तनाव बढाउने गरेको समेत नर्स शर्माले बताइन। विश्व स्वास्थ्य संगठले सघन उपचार कक्षमा एकजना बिरामी बराबर एक नर्स हुनुपर्ने भनेको छ।

धेरै अस्पतालहरूले नर्सलाई 'भोलिन्टियर' का रुपमा काम लगाउँदै आएका छन्। अस्पतालहरूले 'भोलेन्टियर नर्स'लाई काम लगाउन नपाइने नियम व्यवस्था छ। भोलेन्टियरमा काम गर्न नगरी पूर्ण रोजगार नपाउने नर्सहरूको बाध्यता छ।

नेपालमा सामान्यत: नर्सहरुका लागि ८ घण्टा ड्युटी समय छुट्याइएको हुन्छ। तर, नर्सहरूले कहिलेकाहीँ २४ घण्टा ड्युटी गर्नुपर्छ।

निजी अस्पतालमा प्रायः नर्सहरू करारमा नियुक्त गरिएका हुन्छन्। जसले गर्दा अस्पतालले चाहेको अवस्थामा कामबाट हात धुनुपर्ने हुन्छ। नर्सहरूलाई स्थायी नियुक्ति नदिइँदा समस्या भएको छ।

कामको ग्यारेन्टी र आर्थिक/सामाजिक सुरक्षा नहुँदा विदेश पलायन हुँदै छन नर्सहरु

कामको ग्यारेन्टी र आर्थिक/सामाजिक सुरक्षा नहुँदा नेपालबाट धेरै नर्सिङ जनशक्तिहरु बिदेश पलायन हुन थालेका छन्।

नर्सहरुलाई राम्रो सेवा सुविधा दिने भनिएको नेपालकै ठूलो शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालबाट अस्पतालमा कार्यरत नर्सहरुले राजिनामा दिएर बर्षेनी ३ सय नर्सहरु विदेश पलायन हुने गरेका छन्।

त्रिवि शिक्षण अस्पतालकी नर्सिङ सह-नियन्त्रक गंगा हुमागाइका अनुसार वर्षको कुनै महिनामा त महिनामै ३०/ ४० जना नर्सले कामबाट राजीनामा दिन्छन्। उनले भनिन ‘ जागिर खादै विदेश अप्लाइ गर्ने र भिषा लागेपछि जागिर राजीनामा दिने नर्सहरु बढ्दै जानु भएको छ कुनै कुनै महिनामा त ३० जना सम्मले राजीनामा दिनु हुन्छ, यसको प्रमुख कारण भनेको समय सापेक्ष नर्सहरुको समाजिक आर्थिक ग्यारेन्टी नहुनु  रहेको देखिन्छ’

यता बर्सेनि कति नर्स बिदेश पलायन हुन्छन् भन्ने यकिन तथ्याङ्क नेपाल नर्सिङ परिषदसँग छैन। परिषदकी सूचना अधिकारी गिरीले भनिन ‘ हामीसँग कति नर्सहरु नेपाल छाडेर रोजगारीको लागि विदेश पलायन हुन्छन् भन्ने विवरण छैन’।

निजि स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको तलव सुविधा समय सापेक्ष हुने र सरकारी सेवा रहेका नर्सहरुको समयमा नै स्तरवृद्धि हुने हो भने धेरै नर्सहरुलाई बिदेश पलायन हुनबाट रोक्न सकिने नर्सिङ सह-नियन्त्रक हुमागाइको भनाइ छ।

उनले भनिन ‘ नीजि स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको तलब सुविधा समयसँगै वृद्धि हुँदै जाने र सरकारी स्वास्थ्य संस्थामा पनि नर्सहरुको स्तरवृद्धि छिटो हुने र नर्सिङ सेवा तर्फ कार्यरत नर्सहरुलाई पनि नितिगत रुपमा सहभागिता बढाउने हो भने धेरै नर्स विदेश जान बाट रोक्न सकिन्छ’।

सरकारी सेवा तर्फ समयमा नै लोक सेवा नखुल्ने र नीजि स्वास्थ्य संस्थाहरुमा पनि नर्सहरुलाई राम्रो तलब सुविधा नहुँदा भएका नर्सहरु विदेश पलायन हुँदा हाल भएका स्वास्थ्य संस्थामानै नर्सिङ जनशक्तिको कमी हुने अवस्था सिर्जना हुन सक्ने समेत उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.