ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग सञ्चालनमा

|

ललितपुर : दक्षिण ललितपुरबासीले सस्तो,शुलभ मूल्यमा स्वास्थ्य सेवा पाउने भएका छन्। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ टीकाभैरवमा अवस्थित आनन्दवन अस्पतालले ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग सञ्चालनमा ल्याएपछि अब काठमाडौंसम्म जानुपर्ने र महङ्गोमा उपचार गर्नुपर्ने बाध्यताबाट दक्षिण ललितपुरबासीलाई छुट्कारा मिलेको हो। 

मुख्यत: कुष्ठरोगको उपचारमा बढी केन्द्रित रहेको आनन्दवनले ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग संचालन गरेपछि अन्य स्वास्थ्य सेवा पनि विस्तार गरेकाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ। 

दक्षिण ललितपुरसँगै सीमा जोडिएका मकवानपुर तथा काभ्रे जिल्लाका आर्थिक अभावले जेलिएका जनताले शुलभ मूलयमा उचित स्वास्थ्य सेवा पाउने भएको अस्पताल प्रशासनले जनाएको छ। 

आइतबार ‘७१औँ विश्व कुष्ठरोग दिवस’ को अवसर पारी अन्य स्वास्थ्य सेवा पनि सस्तो सुलभ ढंगले दिने हेतुले ट्रमा सेन्टर र इमरजेन्सी विङ्ग सञ्चालनमा ल्याएको हो।  

सो सेवाको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शुभारम्भ गरे। 

सन् १९५७ मा दि लेप्रोसि मिसन अन्तर्राष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तराष्ट्रिय गैरसरकारी संस्थाको रुपमा संचालन हुँदै आएको र हाल सन् २००५ देखि दि लेप्रोसि मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्धारा संचालित कुष्ठरोगको विषेशज्ञ अस्पताल हो। 

यस संस्थामा कुष्ठरोगको लागि ८० बेड नि:शुल्क र ३० बेड हाडजोर्नी तथा अन्य रोगको लागि सशुल्क  गरी जम्मा ११० बेड संचालित छन्। आइतबारबाट दक्षिण ललितपुरका जनमानसलाई मध्यनजर गर्दै ४० बेड थप गरेको अस्पतालले जनाएको छ। 

यस अस्पतालमा कुष्ठरोगको विशेषज्ञ सेवाको साथै  हाडजोर्नी, छाला तथा यौनरोग, बालरोग र अन्य सामान्य चिकित्सा सेवाको साथै विशेष फिजियो थेरापी, सर्वसुलभ प्याथोलोजी सेवा, एक्सरेआवश्यकताअनुसार नक्कली खुट्टाको साथै बिशेष जुत्तासमेत उपलब्ध रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा महेश साहले जानकारी दिए।  

विगत ६७ वर्ष अघिदेखि मुख्यत: कुष्ठरोगको उपचार गर्दै आइरहेको आनन्दवनले आफ्नो भूगोल वरपरका वासिन्दालाई अन्य ओपीडी सेवा पनि दिँदै आइरहेको छ। 

शुभारम्भ कार्यक्रममा नगर प्रमुख महर्जनले गोदावरी नगरपालिका र दक्षिण ललितपुरको स्वास्थ्य सेवामा आनन्दवन अस्पतालको भूमिका सराहनीय रहेको बताए। 
उनले कुष्ठरोगका
बिरामीलाई उचित सेवा प्रदान गर्नाका साथै अन्यलाई समेत शुलभ सेवा प्रदान गरिरहेको चर्चा पनि गरे।

'हाडजोर्नी र छालासम्बन्धी उपचारमा पनि यो अस्पताल अब्बल मानिन्छ, उनले भने, 'यस अस्पतालले मुलुकमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) भित्रँदा पनि अविस्मरणीय सेवा दिएको थियो।'

नगर प्रमुख महर्जनले कान्तिलोक पथमा हुनसक्ने संभावित दुर्घटनाका घाइते, बिरामीलाई पनि यो अस्पतालले राम्रो सुविधा दिन सक्ने विश्वास ब्यक्त गरे।  
लेप्रोसी मिसन नेपालका कन्ट्रि डाइरेक्टर शोभाकर कँडेलले कुष्ठरोग पुरानो रोग भएकाले अब आनन्दवन अस्पतालले पनि नयाँ ढंगले स्वास्थ्य सेवा दिने तयारी गरिरहेको बताए। 

अस्पतालका मेडिकल निर्देशक डा.साहले बिरामीलाई गुणस्तरीय सेवा दिनु मात्रै आफूहरुको उदेश्य रहेको बताउँदै पैसा कमाउनु पर्छ भन्ने चाहिँ पटक्कै नभएको बताए।  सेन्टरमार्फत बिरामीले विशेषज्ञ सेवा लिन पाउनेछन्। सेन्टरमा छाला हुँदै अर्थो तथा सामान्य शल्यक्रियाको समेत सुविधा दिइने बताइएको छ।

७ सय ९७ जना कुष्ठरोगका बिरामीलाई उपचार

आनन्दवनले यस वर्ष ७ सय ९७ जना कुष्ठरोगका बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ। यहाँ यही वर्ष मात्र ५० महिला सहित १ सय ४४ जना नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेको छ। 

आनन्दवनमा हालसम्म एक सय ५० शैयाको व्यवस्था रहेको छ। सोमा ३० शैया जेनरल तथा ४० शैया सेन्टरलाई  र ८० शैया कुष्ठरोगका बिरामीका लागि छुट्टाइएको हो।

सेन्टर निर्माणका लागि मिसनले हालसम्म लगभग रु २५ करोड खर्च गरिसकेको छ।

आनन्दवन अस्पताल एउटा कुष्ठरोगको जटिलता व्यवस्थापनको साथै रिकन्सट्रक्टीभ अप्रेशन सेवा प्रदान गर्ने राष्ट्रिय स्तरको रेफरल अस्पताल हो। 

यस संस्थाले कुष्ठरोगको कारणले हुने जटिल घाउको साथै स्वयं हेरचाह र पुन: स्थापनासम्मको सेवाहरु निशुल्क उपलब्ध गराउँदै आइरहेको छ। 

कुष्ठरोगको किटाणुबारे ल्याबमा गरिने अनुसन्धनहरुमा आनन्दवन विश्वमानै छैटौँ स्थानमा छ र नेपालमा पनि रिल्याप्सको निदानको लागि यही एउटा संस्थालाई नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र विश्वस्वास्थ्य संगठनले मान्यता दिँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.