प्रअ भन्छन्- आर्थिक लेनादेना छैन, निश्वार्थ भावनाले हाे

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका शिक्षा विभाग प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्। नगर शिक्षा समितिको निर्णयविपरीत आफूखुसी निर्णय गरेर मध्यबानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयलाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको आरोप उनलाई लागेको छ।  

महानगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार कोइरालालाई ७ दिनको म्याद दिएर गत शुक्रबार स्पष्टीकरण सोधिएको थियो।काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ ऐनको नियम (१३) मा शिक्षा समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ।

नियमको (क) मा शिक्षा विभागबाट पेस भएको विद्यालय स्वीकृति, अनुमति, कक्षा तथा तह थप, विद्यालय स्थानान्तरण कार्यको स्वीकृति प्रदान गर्ने र शैक्षिक कार्ययोजनामाथि छलफल गरी स्वीकृत गर्ने व्यवस्था छ।

यस्तै, नगर प्रमुखको अध्यक्षतामा बस्ने नगर समितिको बैठकबाट निर्णय भएपछि मात्रै शिक्षा शाखाले थप कक्षा सञ्चालनको अनुमति प्रदान गर्नुपर्नेमा त्यसो नभएको सचिवालयले जनाएको छ। 

यसरी पाएको थियो रत्न राज्यले अनुमति

रत्न राज्य माध्यमिक विद्यालय विसं २०१८ मा स्थापना भएको हो। उक्त विद्यालयका निमित्त प्रधानाध्यापक रामाशिष यादवले काठमाडौंको उत्कृष्ट सामुदायिक विद्यालयमध्ये रत्न राज्य पनि एक रहेको दाबी गरे। अभिभावकहरूको पनि उक्त स्कुलमा आकर्षण छ। उनका अनुसार हाल २ हजार ४ सय विद्यार्थी यहाँ अध्ययनरत छन्।

‘पहिलादेखि नै यहाँका अभिभावक र विद्यार्थीहरूमा प्लस टुमा विज्ञान संकायको विषय पनि पढाउनुपर्छ भन्ने माग राख्नु भयो,’ उनले भने, ‘हामीले पनि विद्यार्थीहरू पनि धेरै छन्, पढाउन सक्छौँ भनेर महानगरपालिकामा अनुमतिको लागि माग गरेका हौँ।’

उनका अनुसार यसअघि तत्कालीन शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी हुँदा नै विद्यालयमै अनुगमन गरेर कक्षा ११ सञ्चालनको लागि अनुमतिको प्रकृयामा गइसकेको थियो।

‘रामप्रसाद सर हुँदा २०७९ पुस २१ गते अनुमतिको लागि तोक लगाउनु भएको थियो तर त्यो बेला पूरा तयारी नभएकाले १/२ दिन भन्दाभन्दै पछि ढकेलियो,’ उनले भने।

उनले त्यसपछि गत असार ३० गते नै कक्षा सञ्चालनको लागि अनुमतिपत्र पाएको जानकारी दिए। साउनदेखि भने कक्षा ११ मा विज्ञान संकायमा पठनपाठन भइरहेको उनले बताए। 

थाहाखबरले विद्यालयमा पढ्ने भौतिक संरचनाबारे हेर्दा विद्यालयका ६ वटा भवन भएको भेटिए। सुविधासम्पन्न ल्याबहरू देखिए। सबै मापदण्ड पुर्‍याएर नै थप कक्षा सञ्चालन गरेको प्रअ यादवको भनाइ छ।

सुविधासम्पन्न उक्त कक्षामा कक्षा ११ मा करिब ३ सय विद्यार्थीले अहिले अध्ययन गर्दै आएको उनले जानकारी दिए। अर्को पनि ल्याब बनाउने तयारी भइरहेको विद्यालयले जनाएको छ।

‘आर्थिक लेनादेना छैन, निःस्वार्थ भावनाले अनुमति दिनुभएको हो’

शिक्षा विभाग प्रमुख कोइरालाले एकल निर्णयबाट कक्षा सञ्चालन दिएको भनी आलोचना भइरहँदा यता विद्यालयका प्रधानाध्यापक यादवले निःस्वार्थ भावनाले कक्षा सञ्चालनको अनुमति दिएको तर्क गरे।

‘यो स्कुल सामान्य वर्गका छोराछोरीहरूलाई पढाउने सामुदायिक स्कुल हो, मेयर शाहले नै प्राविधिक विषय पढाउनुपर्छ नीति लिनु भएको छ, यो अनुमति पाउनुमा कुनै आर्थिक लेनादेना छैन। किनभने यो प्राइभेट विद्यालय होइन, सरकारी (सामुदायिक) हो, शिक्षा प्रमुखले निःस्वार्थ भावनाले विद्यार्थीहरूको भविष्य राम्रो होस् भनेर अनुमति दिनुभएको हो,’ उनले भने।

उनले नीतिगत निर्णयबारे आफूलाई केही जानकारी नभएको बताए। ‘अब अनुमतिको विषयमा त नीतिगत उहाँहरूको त्रुटि होला तर यसमा हाम्रो सरोकार नै रहेन। हामीले अनुमति पायौँ, कक्षा ११ मा कक्षा सञ्चालन गर्‍यौँ, यसमा हाम्रो कुनै गल्ती छैन,’ उनले भने। 

मिडियामा आएका समाचारप्रति पनि उनले गुनासो पोखे। ‘सार्वजनिक शिक्षा हामी सबैको होइन र? थप कक्षा सञ्चालन गरेर शिक्षा दिनु के गल्ती हो र? नकारात्मक लेखेर मात्रै हुँदैन, विद्यार्थीहरूको भविष्य पनि हेर्नुपर्छ होला नी!’

यस विषयमा थाहाखबरले थप बुझ्न शिक्षा प्रमुख कोइरालालाई पटक पटक सम्पर्क गर्दा फोन उठाएनन्। बालेन शाह भने शिक्षा प्रमुख कोइरालामाथि आक्रोशित छन्। चित्तबुझ्दो स्पष्टीकरण नआएमा उनलाई सरूवा गर्नेसमेत देखिन्छ।

यसअघि बालेनले नगर सभाबाट भएको निर्णय सच्याएर एक कर्मचारीकी छोरीलाई करारमा नियुक्ति दिन खोजेको पाइएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै निलम्बन नै गरेका थिए।

अहिले बालेनले अधिकारीको ठाउँमा प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई नियुक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.