|

काठमाडौं : नेपालमा केही समयअघिसम्म सामान्य भनेर उपेक्षा गरिएकै रोग अहिले जनस्वास्थ्यको चुनौती बन्न थालेका छन्। उष्णप्रदेशीय भनिने यस्ता रोगको फैलावट पछिल्ला दिनमा बढेको हो।

गर्मी मौसममा धेरै फैलिने डेंगु,कालाजार र हात्तीपाइले जस्ता रोगलाई उष्णप्रदेशीय रोग भनिन्छ। यस्ता २१ वटा रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)  ले उपेक्षित उष्णप्रदेशीय रोगमा सूचीकृत गरेको छ। यसमध्ये नेपालमा ११ प्रकारका रोग बढेको छ। यी रोगबाट मानिस बिरामी हुने क्रम बढेको छ।

यति मात्रै होइन गरिबी, अशिक्षा र अज्ञानताकै कारण लाग्ने भनेर बेवास्ता गरिएका यी ११ प्रकारका  रोग नेपालीको मृत्यु कारण मध्ये एक बन्न थालेका छन्।

यी रोग विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, फंगी र विषाक्त पदार्थका कारणले लाग्छ। विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर गर्ने गरेको डब्लूएचओको तथ्यांक छ। नेपालमा यी ११ प्रकारका रोगमध्ये डेंगु रेबिज  र सर्पदंशबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ।

नेपालमा  उष्णप्रदेशीय रोगमध्ये डेंगुले त केही वर्षयता त बर्सेनी धेरै जनसंख्याले मृत्यु नै वरण गर्नु पर्ने अवस्था सिर्जना भएको छ। गत अघिल्लो वर्षको पुसयता  एक वर्ष अवधिमा नेपालमा ५२ हजार नेपाली डेंगु संक्रमित भएका छन्। २० जनाले गुमाएका छन्।

जलवायु परिवर्तन र सामान्य रोग नै त हुन भन्ने धारणाले गर्दा नेपालमा विगत दुई /तीन वर्षयता नेपालमा यस्ता रोग्ले प्रभावित हुने संख्या ह्वात्तै बढेको छ।

१० वर्ष अघिसम्म नेपालमा तराईको भू-भागमा मात्रै देखिने डेंगु, चिकनगुनिया, कालाजारका बिरामी उच्च पहाडी भेगमा समेत भेटिन थालेका छन्।

सर्पदंशका बिरामी पहाडी भेटमा समेत भेटिन थालेका छन्। सरकारी विवरणमा हरेक वर्ष १० हजार जति सर्पदंशका बिरामी रिपोर्ट हुने र यसमध्ये १ हजार २२३ जनामा विषालु सर्पको टोकाइ हुने हुँदा उपचार नै गर्नुपर्छ।

 यसले गर्दा यी रोग पछिल्लो समय पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेकाले उपेक्षित रोगहरू मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्यका हिसाबले बढ्दो चुनौतीको रूपमा देखिन थालेका छन्।

रेबिज र डेंगु लगायतका रोग बर्सेनी नयाँ–नयाँ स्थानमा फैलिँदै छ। सामान्य सावधानी अपनाए कुकुर तथा अन्य जनावरले टोक्नबाट बच्न सकिने तथा टोकिसकेको पछि पनि समयमा नै भ्याक्सिन लगाए बच्न सकिने रेबिज जस्तो रोगबाट त हरेक वर्ष एक लाख भन्दा मानिस प्रभावित हुने गरेका छन्। जनावरकै टोकाइबाट बर्सेनी नेपालमा सरदर १०० जना नेपालीले ज्यान गुमाउने गरेका छन्।

सावधानी नअपाउने र कुकुर लगायतका छाडा जनावरलाई सामूहिकरूपमा रेविज विरुद्धको खोप नलगाउने हो भने भोलिका दिनमा यसबाट ज्यान गुमाउनेको संख्या बढ्ने जोखिम रहेको हुँदा समयमा सावधानी अपनाउनु पर्ने अवस्था आएको बताउँछन्, सरुवा रोग विशेषज्ञ तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बाँस्तोला।

‘सामान्य सावधानी अपनाए जनावरको टोकाइबाट बच्न सकिने तथा टोकाइपछि पनि वेलैमा रेविज विरुद्धको खोप लगाए बच्न सकिने भए पनि रेबिजजस्तो रोगबाट बर्सेनी धेरै नेपाली पीडित भएर मृत्युवरण गर्दै आएका छन्’, उनी भन्छन्, ‘यो हाम्रो लागि दु:खद कुरा हो। त्यसैले अब सबैभन्दा पहिला सबैले घरपालुवा कुकुर तथा छाडा छोडिएका जनावर तथा कुकुरलाई सामूहिक रूपमा रेबिजविरुद्धखोप लगाउनु पर्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी उष्णप्रदेशीय रोगहरूलाई उपेक्षा नगरिएको तर सरकार एक्लैले भन्दा सबै सरोकारवाला मिलेर यस्ता रोगको नियन्त्रणमा लाग्नु पर्ने बताउँछन्। ‘उष्णप्रदेशीय रोगलाई उपेक्षा गरिएको होइन वातावरणमा आएको परिवर्तन र अन्य केही कारणले संक्रमण बढ्दै गएको देखिन्छ। यसको नियन्त्रणमा सरकारले आफ्नो ठाउँबाट काम गरिनै रहेको छ’,उनले भने, ‘सरकारले जस्तै व्यक्ति,स्थानीय सरकार र अन्य सरोकारवला निकाय मिलेर यस्ता संक्रमण नियन्त्रणमा राख्नु पर्छ।’

यस्तै सन् २०२६ सम्म कालाजारलाई नेपालबाट निवारण गर्ने सरकारको लक्ष्य छ। तर कालाजार रोगको तथ्यांक नयाँनयाँ जिल्लाहरूबाट समेत प्राप्त  भइरहेका छन्, जसले गर्दा सन्  २०२६ सम्ममा यो रोग निवारण गर्ने लक्ष्यको प्राप्तिमा चुनौती थपिएको छ। कालिकोट जिल्लामा कालाजारको संक्रमण दर उच्च रहेको छ भने सुर्खेत, बैतडी, बाजुरा, कैलाली र ओखलढुंगामा अन्य जिल्लाभन्दा बिरामीको संख्या अझै पनि बढी छ।

रोग निवारण गर्ने (जिल्ला तहमा प्रति १०,००० जनसङ्ख्यामा कालाजारको बिरामीको संख्या १ भन्दा कममा पुर्‍याउने ) र कालाजारका कारण हुने मृत्युलाई १ प्रतिशत भन्दा कममा कायम गर्ने लक्ष्य सरकारको रहेको छ। पछिल्लो दुई दशकमा कालाजारका बिरामीको संख्या ९० प्रतिशतले कमी आएको छ। तर पनि नेपालमा हाल बर्सेनी ३०० जति कालाजारका बिरामी सरकारी संयन्त्रमा रिपोर्ट हुने गर्छन्।

डा. मरासिनीका अनुसार हालको तथ्यांक अनुसार कालिकोट जिल्लामा मात्र निवारणको लक्ष्य प्राप्त गर्न नसकिएको ईडीसीडीका निर्देशक डा.मरासिनीको भनाइ छ। ‘ कालाजारलाई सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य छ। तर कालिकोट लगायतका जिल्लामा यसका बिरामी अलि बढी भेटिन थालेका छन्। त्यसैले हामीले यी जिल्लामा शंकास्पद बिरामीको खोजी तीव्र पारेका छौँ’, डा. मरासिनीले भने।

वीर अस्पतालका कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट डा. निरज पराजुलीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकाकै धेरै बिरामी कालाजारको लक्षण लिएर अस्पतालमा उपचार गर्न आउने गरेका छन्। यसरी आएकाहरूलाई कालाजारकै उपचार पद्धति अनुसार उपचार गर्दा ठिक हुने गरेका छन्। ‘हाम्रो क्लिनिकल अभ्यासमा त काठमाडौं उपत्यकाबाट पनि कालाजारका लक्षण लिएर आउने बिरामी धेरै हुनुहुन्छ। केहीमा कालाजार पनि पुष्टि भएको छ त्यसैले यस विषयमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने अवस्था आएको छ’,डा. पराजुलीले भने।

यस्तै कुष्ठरोग र माटोबाट सर्ने जुकाबाट बिरामी हुने नेपालीको संख्या पनि बढ्दो छ। सन् २०१५ मा भएको एक सर्वेक्षणमा नेपालमा १२ देखि २४ प्रतिशत स्कुले बालबालिका बाटोबाट सर्ने जुकाबाट पीडित हुने गरेको तथ्य छ। यता ईडीसीडीको विवरण अनुसार भने आर्थिक वर्ष २०७९/मा पाँच लाख ५०हजारभन्दा बढी नेपाली यो खालको जुकाको संक्रमणबाट पीडित भएका थिए।   

यस्तै नेपालमा हालसम्म ४१ हजार ५३५ जनामा हात्तीपाइलेका कारण हाइड्रोसिल तथा गोडामा संक्रमण देखिएको छ। सरकारले हात्तीपाइले रोग नियन्त्रण गर्न ५३  जिल्लामा औषधी खुवाउने अभियान चलाएर कार्यक्रम सफल भएको भन्दै बन्द गरेको छ। हाल ८ जिल्लामा यसविरुद्धको औषधी डीईसी र अल्बेन्डाजोल औषधी अभियान सञ्चालन भइहेको छ।

तर ११ मध्ये ट्रकोमा भने नेपालबाट निवारण भइसकेको छ। ट्रकोमा सन् २०१८ मा जनस्वास्थ्यको समस्याको रूपमा निवारण भएको हो। डब्लूएचओले पनि यसलाई मान्यता समेत दिइसकेको छ।

यी हुन् नेपालमा पाइने मुख्य उपेक्षित उष्णप्रदेशीय रोग

सर्पदंश

ट्रकोमा (खस्रे रोग)

कालाजार

माटोबाट सर्ने जुका

कुष्ठरोग

हात्तीपाइले

डेंगु/चिकेन गुनियया

रेबिज

लुतो र अन्य इक्टोपाराइट

टेनियासिस(फित्तेजुका)रन्युरोसिस्टाइसर्कोस

माइसेटोमा,क्रोमोब्लास्टोमाइकोसिस र अन्य डिप माइकोसेस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.