|

काठमाडौं : धनीरामको गोरु अर्थात् ग्रामीण र किसानको कथा। नेपालमा भइरहेको कृषि प्रणाली र उक्त प्रणालीले दिएको समस्याहरू कस्ता थिए? अथवा फेरिँदै गएको आधुनिक कृषि प्रणालीमा देखिएको अज्ञानताले थपिएको समस्याहरू कस्ता छन्? यी विषयलाई बुनेर पद्मा प्रेम थिएटरको प्रस्तुतिमा  नाटक धनीराम गोरु आजबाट  पोखरा थिएटरमा शुक्रबारबाट मञ्चन हुँदै छ।

नाटकमा किसानका पीडा र उनीहरूको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको छ। नाटकमा विशेष गरेर समाजमा माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ।

पछिल्लो समयमा विकास भइरहेको प्रविधि र त्यो प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटकमार्फत उठाउन खोजिएको नाटकका लेखक केदारनाथ पौडेलले बताए।

‘नेपाल परम्परागत तथा निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै आधुनिक कृषि प्रणालीमा परिवर्तन हुँदै छ। तर, प्रविधिको प्रयोगमा देखिएको अज्ञानताले के कस्ता समस्याहरू उत्पन्न हुन्छ भन्ने कुरा नाटकमा देखाउन खोजेका छौँ’, उनले भने।

गाउँको किसानको सामाजिक र मनोवैज्ञानिक अवस्था यो नाटकमा चित्रण गरिएको छ। यो नाटक पश्चिमी पहाडी भेग अर्थात् गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण गर्दै लेखिएको नाटक हो।

 नाटकमा दिलप्रसाद गुरुङ प्रमुख पात्र धनीरामको भूमिकामा छन्। नाटकमा विभुप्रसाद भुसाल, सावित्रा पाठक (सबु), ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ।नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन्। बुधबार ग्राण्ड रिहर्सल गरिएको उक्त नाटकपछि निर्देशक शर्माले नेपालको कृषि क्षेत्रमा जनशक्तिको अभाव, महिलामा निर्भर कृषिकर्मको बारेमा पनि भन्न खोजिएको बताए।

उनले थाहाखबरसँग भने, ‘कृषि पेशामा आधारित परिवार कसरी महिलाको श्रममा निभएर छ भन्ने यथार्थ देखाउन खोजिएको छ । हाम्रो गाउँले समाजमा दिनहुँ घट्ने घटना र दैनिक जीवनशैलीको तानमा यो नाटक बुनिएको छ।‘ यो नाटकमा रंगमञ्चका कुनै सिद्धान्त र वाद प्रयोग नगरिएको उनको जिकिर छ।

आधुनिक समाजमा बिर्सिन लागिसकिएको शैली र भाषाले दर्शकलाई दूरदराजको कुनै गाउँमा लैजाने अपेक्षा नाटकले गरेको लेखक पौडेल बताउँछन्।

नाटक माघ १८ देखि २७ सम्म चल्नेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.