अध्यागमन विभाग भन्छ- लामा विदेश गएको देखिँदैन

|
तस्बिर : एन्फा विशेष साधारणसभामा लामा

इलाम : एन्फा उपाध्यक्ष दावा लामा अहिले नेपाली मिडियामा ‘हटकेक’ बनिरहेका छन्। लागुऔषध मुद्दामा दोषी ठहर भएका लामाले कैद भुक्तान नगरी खुलेआम सार्वजनिक पद धारण गरिरहेको तथ्य सार्वजनिक भएपछि सम्पर्कविहीन छन्।

उनी लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर भई कैद सजाय तोकिएका तर अहिलेसम्म कैद भुक्तान नभएर ‘फरार सूची’ मा राखिएका छन्। एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले आफ्नो कार्यकालको अन्त्यमा सी डिभिजन संयोजक बनाएर लामालाई एन्फामा भित्र्याएका थिए। त्यसयता उनी सत्ता र शक्तिमै छन्।

उनी एन्फा प्रवेश गर्नुभन्दा ८ वर्ष अघिबाटै फरार सूचीमा छन्। २०६४ जेठ २० गते उच्च अदालत पाटनले उनलाई लागुऔषध खैरो हेरोइन कारोबारको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

प्रहरीले उनलाई २०६१ साउन ८ गते काठमाडौं महानगरपालिका–१६, बालाजु वनस्थली चोक नजिकबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। सर्लाही घर भई काठमाडौं बस्दै आएका दावाले लागुऔषधको कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गर्दा उनको साथबाट खैरो हेरोइन बरामद भएको थियो। पक्राउ परेपछि उनले बिक्री वितरणकै लागि त्यो लागुऔषध राखेको बयान दिएका थिए।

उनलाई २०६१ भदौ २५ गते काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि २०६२ जेठ १० मा जिल्ला अदालतबाट ६ महिना मात्र कैद सजायको फैसला भएपछि उनी कारागारमुक्त भएका थिए। जिल्ला अदालतको फैसला चित्तबुझ्दो नदेखिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा २०६४ कात्तिक १२ गते पुनरावेदन गरेको थियो।

जिल्ला अदालतले दावा लागुऔषध प्रयोगकर्ता मात्र रहेको, कारोबारी नभएको जिकिर गरेको थियो। उच्च अदालतले जिल्लाको त्यही ठहर अस्वीकार गर्दै फैसला उल्ट्याएको थियो।

न्यायाधीशद्वय अली अकवर मिकरानी र जनार्दनबहादुर खड्काको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै दावालाई कैद र जरिवाना हुने फैसला गरेको थियो।

२०६१ साल साउन ८ गते देखि २०६२ जेठ १० गतेसम्म थुनामा रहेकाले १० महिना २ दिन थुना अवधि कट्टा गरी बाँकी रहेको ४ वर्ष १ महिना २८ दिन र ५ हजार जरिवाना भराउन उच्च अदालतको आदेश छ।

अदालतको यो फैसलापछि उनी फरार भएको १६ वर्ष भइसकेको छ। उनले कैद भुक्तानी नगरेको र जरिबाना पनि नतिरेको अदालतका कागजातले पुष्टि गर्छ।

नेकपा एमालेको युवा संघका कार्यकर्ता रहेका लामा शक्तिको आडमा कैद भुक्तानबाट छलिरहेका थिए। उच्च अदालतले तोकेको कैद दावाले भुक्तान नगरेको देखिन्छ। साथै उच्च अदालतले गरेको फैसलाविरुद्ध उनी पुनरावेदनमा सर्वोच्च अदालत नगएको अदालती कागजातले देखाउँछ।

कैद सजाय बारेको घटनाक्रम बाहिरिएपछि लामा फरार छन्। सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा अनलाइन देखिए पनि कल उठाउने गरेका छैनन्।

एन्फाभित्रै फरकफरक मत

एन्फा महासचिव किरण राई उपाध्यक्ष दावा पूर्वनिर्धारित कार्यक्रमअनुसार नै कतार गएको बताउँछन्। त्यहाँ भइरहेको एएफसी एशियन कप हेर्न उनी कतार गएको र फरार नरहेको महासचिव राईले बताए।

यता, एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का उपाध्यक्ष लामा नेपालबाहिर भएको कुरामा शंका व्यक्त गर्छन्।

‘आपतकालीन मिटिङ बस्नुपर्छ भनेर ७-८ दिनअघि कुरा आएको थियो सी डिभिजन लिगका लागि भनेर। तर, दावा लामा उपलब्ध नहुने कुरा आएपछि पंकजजी (पंकज विक्रम नेम्वाङ) नहुँदा मेरो अध्यक्षतामा बस्न मिल्छ दावा जी (दावा लामा), म, पुरु (पुरुषोतम थापा) र दिपक खतिवडा नभए मिटिङ मिल्दैन भने’ उनले भने, ‘दाबा दुबई गएको भन्ने महासचिवबाट कुरा आयो। ३ दिनपछि सोध्दा कतार गएको भन्ने जानकारी पाएँ। यकिन थाहा छैन दावा लामा कहाँ हुनुहुन्छ भनेर सम्पर्क छैन।’

लामा गत जनवरी २२ (माघ ८) गतेको सानेपाको हेरिटेज गार्डेनमा बसेको विशेष साधारणसभामा करिब ३० मिनेट मात्र बसेर बाहिरिए। प्राप्त जानकारीअनुसार लागुऔषध मुद्दामा सिआइबी र नेपाल प्रहरीले बैठक स्थलबाट पक्राउ गर्ने सूचना पाएपछि साधारणसभा छाडेर उनी बाहिरिएका थिए।

अध्यागमन विभाग भन्छ - लामा विदेश गएको देखिदैन

खड्काको तर्कसँग अध्यागमन विभागको रेकर्ड मेल खान गएको छ। विभागको रेकर्डमा लामा कतार गएको देखिँदैनन्। विभागका सूचना अधिकारी प्रेम प्रसाद दाहालका अनुसार लामा अष्ट्रेलियाबाट फर्किएयता विदेश गएका छैनन्।

उनी महिला विश्वकपमा दौरान अष्ट्रेलिया गएका थिए। '१४ अगष्ट २०२३ मा नेपाल फर्किएयता लामा विदेश गएको रेकर्ड छैन’ दाहालले भने। 

के भन्छ प्रहरी?

नेपाल प्रहरीका प्रवक्ता एवम प्रहरी नायव महानीरिक्षक भीमप्रसाद ढकालले नेपाल प्रहरीले फरार रहेका अपराधीहरू खोजी कार्य तीव्र रुपमा बढाएको बताए।

उनले मातहतका कार्यालयहरुलाई समेत निर्देशन दिइसकेको अवस्थामा चाँडै दावा लामा पक्राउ पर्ने बताए। ‘ नेपाल प्रहरीले फैसला कार्यान्वयनको अभियान ७७ वटै जिल्लामा चलाएको छ। फरार रहेका सबै पक्राउ हुने अभियानअन्तर्गत नै पर्छ। भागेर कहीँ जान पाउने छैनन्’ थाहाखबरसँग उने भने।

यस्तो छ अदालतको फैसला पूर्णपाठ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.