नतिजा हेर्न नपाएर हैरानी खेप्दै विद्यार्थी

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट नचलेको ९ दिन बितिसकेको छ। माघ १६ गते मंगलबार बेलुकीदेखि नै उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएपछि साइट खोल्दा ‘रोहित रोकाया’ नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको थियो।

त्यसपछि त्रिविले मर्मत भइरहेको जानकारी दिए पनि अझै वेबसाइट आफ्नो अधीनमा ल्याउन सकेको छैन। अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको छ।

इतिहासमै पहिलोपटक त्रिवि पनिकाले यही माघ १५ गते अनलाइन सेवा सुरु गरेको थियो। त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएका थिए।

तर, अनलाइन सेवा सुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुग्यो।

त्यसपछि कक्षा १२ मा पढ्दै गरेका ह्याकर किशोरले चुनौती दिँदै भनेका थिए, ‘हिजोदेखि टियुले अनलाइन सेवा सुरु गरेसँगै यसले टियुको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ, यसले गर्दा टियुको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ, अब टियुले अनलाइन प्रणालीबाट आएका लाखौँ कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ, त्यसैले टियुले कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्त्व दिन अत्यन्त जरुरी छ, म तपाईंलाई सूचना दिन चाहन्छु कि ह्याकिङ गर्नु अवैध र अनैतिक छ र म अनैतिक कार्यका लागि कुनै पनि सहायता वा समर्थन प्रदान गर्न सक्दैन, सबैको डाटा सुरक्षित छ, धन्यवाद।’

सामान्य व्यक्तिले नै ह्याक गरेको यो घटनाले देशकै जेठो विश्वविद्यालय त्रिविको आलोचना मात्रै नभएर साँच्चै त्रिविको आइटी विभागमा दक्ष जनशक्ति अभाव भएर वा जानीजानी चरम लापरबाही ढंगले अनलाइन सेवा सञ्चालन गर्न लागेको हो? यसमा गम्भीर प्रश्न खडा भएको छ। 

नतिजा हेर्न पनिकामै जानुपर्ने बाध्यता

अहिलेसम्म त्रिविले बेवसाइट बनाएर सञ्चालनमा ल्याउन नसक्दा यता सम्बन्धित विद्यार्थीहरू भने मारमा परेका छन्। अहिले धमाधम नतिजा प्रकाशन भइरहेको छ। तर, नतिजा हेर्न पनिकाकै वेबसाइट बन्द हुँदा बल्खुमै गएर हेर्नेुपर्ने बाध्यता विद्यार्थीहरूलाई छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० साल वैशाख र जेठ महिनामा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ (४ वर्षे तर्फको) नियमित २०७९ को बिएस्सी प्रथम वर्षको परीक्षाको परीक्षाफल हिजो (बुधबार) केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

यस्तै,एम ए दोस्रो वर्षको नतिजा प्रकाशित भए पनि पनिकाको वेबसाइटबाट हेर्न पाएनन्। उनीहरू नतिजा हेर्न बल्खु गेटमै जानुपर्ने समस्या आयो। 

साइट चल्न अझै समय लाग्‍छ : त्रिवि

त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले अहिले सिष्टम बनिरहेको जानकारी दिए। त्रिविको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा उपनियन्त्रक डा. पवन बरालले पनि अहिले पनिकाको सिष्टम बनिरहेको तर,बनेर सञ्चालनमा आउन अझै समय भने लाग्ने देखिएको बताए।

‘सिष्टम ह्याक भएदेखि बन्दै छ तर कहिलेबाट चल्छ भनेर अहिले यकिन भन्न सकिन्न,अझै समय चाहिँ लाग्ने देखिन्छ,’ उनले थाहाखबरसँग भने। साइबर सुरक्षा जानकारहरूले त्रिविको ‘डेटा’ सुरक्षामा चुनौती : सुरक्षित नबनाए अझै ‘ह्याक’ हुने जोखिम हुने बताएका छन्। विशेष सुरक्षा सतर्कता नअपनाए अरूले पनि अझै त्रिविको वैबसाइट ह्याक गर्नसक्ने उनीहरूकाे भनाइ छ।

उनीहरूका अनुसार लाखौँ विद्यार्थीको संवेदनशील डेटासमेत पाइने भएकाले त्रिविको वेबसाइट ह्याकरको निशानामा पर्ने सम्भावना अझ धेरै छ। त्यसैले सुरक्षा सतकर्ता अपनाएपछि मात्रै अनलाइन सेवा सुचारु गर्न साइबर सुरक्षा जानकार एवं सिटिओ क्रिप्टोजेन नेपालका सहसंस्थापक निर्मल दाहाल सुझाव दिन्छन्।

उनका अन्य देशमा केही सिष्टम लन्च गर्नुअघि विशेष सुरक्षा सतर्कतामा ध्यान दिन्छन्। तर,नेपालमा त्यो अभ्यास छैन। ‘जसकारण यो समस्या देखिएको हो,यहाँ बलियो सरकारी नीति नभएका कारण पनि यस्ता बारम्बार ह्याक हुने समस्या दोहोरिरहेको छ,’उनले भने।

यी समस्याहरू अबदेखि नदोहोरियोस् भनेर नै अहिले मर्मत भइरहेको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा उपनियन्त्रक बरालले जानकारी दिए। उनले भने,‘पछि पुनः ह्याक नहोस् भन्ने हिसाबले अहिले बनाउने काम भइरहेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.