|

पाल्पा : नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकार झ्याइँकुटी सरकार भएको बताएकी छन्।

एमाले पाल्पाले तानसेनमा आयोजना गरेको पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बिहीवार उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा बनेको वर्तमान सरकार झ्याइँकुटी सरकार हो। जनता र मुलुकको हितमा केही काम गर्न सक्दैन।’ सत्तामा कसरी कसलाई टिकाइरहने भन्नेबाहेक एक वर्ष पूरा हुँदासमेत जनमुखी काम गर्न नसकेको उनले आरोप लगाइन्। सत्तागठबन्धनमा रहेका दलहरूले साझा धारणा बनाएर अगाडि बढ्न नसकेको र आपसमा लडेर मुलुकको अस्तित्व तहसनहस बनाएको बताइन्।

उनले भनिन्, ‘कांग्रेस सुधारवादी पार्टी हो। आमूल परिवर्तन गर्ने पक्षमा छैन। माओवादी पहिचानवादी पार्टी हो। ऊ स–साना मुद्दामा अल्झिन्छ। स्वतन्त्र पार्टीसहितका नयाँ दलको कुनै लक्ष्य र गन्तव्य छैन। जनतालाई भ्रममा पारेर चुनाव जितेको उनले बताइन्।’

आगामी निर्वाचनबाट यी पार्टी नरहने उनले जिकिर गरिन्।

नेपाललाई सुहाउने समाजवादको व्यवस्था ल्याउने मुख्य जिम्मेवारी एमालेको भएको उनले बताइन्। एमालेले अगाडि सारेको समाजवादमा ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मान्यतामा आधारित अर्थप्रणाली, राज्यप्रणाली, विचार प्रणालीसहितको समाज व्यवस्था हुने उनले सुनाइन्।

उनले थपिन्, ‘उत्पादनका साधनमा समान पहुँच, उत्पादित वस्तुको समान वितरण, सामूहिक संघर्ष, समान पहुँच, सभ्य समाज, उन्नत शिक्षा, सबैलाई रोजगारीको व्यवस्था गर्ने गरी समाजवादको व्यवस्था हुनेछ।’ 

तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रम बिहीबार सकिएको छ। अन्तिम दिन आज एमालेका सचिव पद्मा अर्याल, पोलिटब्यूरो सदस्य बैजनाथ चौधरी, अर्का पोलिटब्यूरो सदस्य तथा संघीय सांसद ठाकुर गैरे, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली र एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सहजीरकण गरेको एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.