|

काठमाडौं : पछिल्लो समय नेपालमा जन्मजात मुटुसम्बन्धी समस्या लिएर जन्मिने बालबालिकाको संख्या बढेको छ।

केन्द्रीय मुटुरोग उपचार अस्पताल शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गत दुई वर्षमा जन्मजात मुटुको समस्या लिएर जन्मने बालबालिकाको संख्या बढेको देखिएको हो।

केन्द्रको विवरण अनुसार सन् २०२२ मा विभिन्न किसिमका जन्मजात मुटुसम्बन्धी समस्या लिएर केन्द्रमा पुग्ने संख्या ११ हजार ५७९ थियो। तर सन् २०२३ मा यो संख्या बढेर  १२ हजार ३३७ जना पुगेको थियो। यसरी अस्पताल पुग्नेमा सबै भन्दा धेरै बालिकाभन्दा बालक रहेको केन्द्रले जनाएको छ।

विभिन्न अध्ययनका अनुसार एक हजारमा आठदेखि १० बालबालिका जन्मजात मुटुसम्बन्धी समस्या लिएर जन्मिन्छन्।

हृदयरोग केन्द्रकी बाल मुटुरोग विशेषज्ञ डा.उर्मिला शाक्य अनुसार आमाको गर्भमा हुँदै बालबालिकाको मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरका धमनीको बनावटमा गडबडी हुँदा बालबालिका जन्मिँदै मुटुसम्बन्धी समस्या लिएर जन्मिन्छन्। ‘आमाको गर्भमा हुँदै बालबालिकाको मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरका धमनीको बनावटमा गडबडी हुँदा शिशु मुटुसम्बन्धी समस्या लिएर जन्मिन्छन्। एक हजारमध्ये आठ देखि १० जना शिशु यस्ता समस्या लिएर जन्मिन्छन्।’

डा. शाक्यका अनुसार जन्मजात मुटुसम्बन्धी समस्या लिएर जन्मेका बालबालिकाको  मुटुका पर्दामा प्वाल पर्ने, मुटुका मूख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरूपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्किने, मुटुका दायाँ वा बायाँ भाग विकसिन नहुने जस्ता समस्या हुन्छ।

गर्भावस्थामा आमालाई यस्ता स्वास्थ्य समस्या देखिए बच्चामा हुनसक्छ जन्मजात मुटुरोगको समस्या

गर्भावस्थामा महिलामा उच्च रक्तचाप र मधुमेहजस्तासमस्या रहे शिशु जन्मजात मुटुसम्बन्धी समस्या देखिन सक्छ।  गर्भावस्थामा आमाले धूमपान-मद्यपान गर्ने, पौष्टिक खानेकुरा कम खाने,  तनाव लिने, जथाभावी औषधी खाने, नातेदारमा वैवाहिक सम्बन्ध राख्ने  गर्दा शिशु मुटुसम्बन्धी समस्या लिएर जन्मिन्छन्।  गर्भावस्थामा विभिन्न किसिमका विकिरणको सम्पर्कमा बस्दा र वातावरण प्रदूषणले पनि बालबालिका  समस्या लिएर जन्मने सम्भावना धेरै हुन्छ। यस्तै गर्भावस्थापूर्व आमामा ‘फोलेटी एसिड’को  कमीले पनि यस्तो समस्या देखिने गर्छ। तर जन्मजात मुटुसम्बन्धी समस्या लिएर जन्मेका बालबालिकामा के कारणले यस्तो समस्या  १० प्रतिशत बिरामीलाई मात्र कारण पत्ता लाग्ने डा. शाक्यको भनाइ छ।

शिशुमा यस्ता लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ

उमेर अनुसार तौल नबढ्‌ने कमजोर भइरहने, छातीको बायाँ भाग माथि उठ्ने।

 छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने।

 जन्मिँदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने।

बल प्रयोग गर्दा नीलोपना झनै बढ्ने सास छिटो छिटो फेर्ने।

बेहोश हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता लक्षण देखिए बालबालिकामा जन्मजात मुटुको समस्या हुनसक्छ।

कसरी गरिन्छ यसको उपचार?

गर्भावस्थाको समयमा  १८ हप्तादेखि भ्रूणको मुटुको भिडियो एक्स-रे गर्दा उक्त भ्रूणमा मुटुसम्बन्धी समस्या छ छैन भनेर पत्ता लगाउन सकिन्छ।

सानो प्वाल र समस्यारहित रोगमा विशेष उपचारको आवश्यकता पर्दैन तर उचित सरसल्लाहका लागि सम्बन्धित चिकित्सकको अनुगमनमा बस्नुपर्दछ।

सानो प्वाल र समस्यारहित रोगमा विशेष उपचारको आवश्यकता नपर्ने चिकित्सक बताउँछन्। यस्तो अवस्थामा चिकित्सकको निगरानीमा बस्न चिकित्सकको सुझाव छ।

समयमानै उपचार गरिएन भने हार्ट फेलर, निमोनिया रक्तअल्पताजस्ता समस्या देखिन सक्छ। त्यसैले लक्षण देखिन साथ चिकित्सकको सम्पर्कमा पुग्नु पर्छ। बिरामीको अवस्था हेरेर सोही अनुरूपको उपचार पद्धति अपनाइन्छ। पछिल्लो समय यस्ता समस्या देखिएका बिरामीमा शल्यक्रिया तथा , इन्टरभेन्सन’ ( इन्टरभेन्सन-शल्यक्रिया नगरी उपचार गर्ने) विधिबाट पनि सफल उपचार गर्न सकिन्छ।

शल्यक्रियापश्चात् जटिल रोगमा निरन्तर औषधीसँगै साथै जिन्दगीभर बाल मुटुरोग विशेषज्ञ र बाल मुटु शल्यचिकित्सकको अनुगमनमा बस्नुपर्छ।

समयमै समस्या पहिचान गरेर उपचार गर्न सके जन्मजात रूपमा देखिने मुटुको समस्याको सफल उपचार हुन्छ। नेपालमा १५ बर्ष मुनिका बालबालिकामा देखिने मुटुरोगको उपचार सरकारले निःशुल्क गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.