|

हुम्ला : हुम्लाको दक्षिणी भेगमा अवस्थित सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन्।

गाउँमै मङ्गलबार गाडी र त्यसमा चढेर यात्रु पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका हुन्। स्थानीय कविन्द्र शाहीले स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसयाली मनाएको बताए।

सो विकट घरआँगनलाई सडक सञ्जालले जोडेको हेर्ने चाहना पूरा भएको र आवतजावतदेखि सम्पूर्ण सामग्री ढुवानीमा सहज हुने उनले बताए। अब यहाँका स्थानीयले पालिकाको केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

सडक सञ्जालसँग जोडिएपछि एकसाथ छ वटा बोलेरो जिप गोठी गाउँमा पुगेका थिए। आफ्नै गाउँमा गाडी पुगेको देखेर यहाँका ज्येष्ठ नागरिक पनि खुसी भएका अर्का स्थानीय जैमल शाहीले बताए। 

गाडी पुगेपछि अब गोठी गाउँ राष्ट्रिय सडक सञ्जालसँगसमेत जोडिएको छ। सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो। 
    
गाउँमा ताँती लागेर आएका बोलेरो जिप र त्यसमा रहेका यात्रु तथा सवारी चालकलाई बाजागाजा तथा फूल अबिरले स्वागत गरिएको थियो। 

गाडी चालकलाई स्थानीयले फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए। दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबैखाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भएको शाहीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.