|

पाल्पा : पाल्पामा मंगलबारअपराह्न भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ​आठजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

तिनाउ गाउँपालिका–६ मस्यामका २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, ६० वर्षीया यनकुमारी पन्त र ६७ वर्षीय कृष्णबहादुर अस्लामीको मृत्यु भएको हो। यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र श्रीमती ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो। 

तिनाउ गाउँपालिका–२ खुर्सानेकी २० वर्षीया गीता सुनार,  रूपन्देही देवदह नगरपालिका-५ की २९ वर्षीया दिलमाया जिसी, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६५ वर्षीया दिलकुमारी सुनार र ६६ वर्षीया विष्णुकला कामीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

तानसेन नगरपालिका-८ डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जीप तिनाउ गाउँपालिका–६ मस्यामस्थित इकोफम हाउसनजिकै दुर्घटना भएको थियो। मंगलबार अपराह्न करिब ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रनाउ श्रेष्ठले बताए। जीपका चालक दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.