|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित अत्याधुनिक भवनको उद्‍घाटन भएको छ। बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुसालको प्रमुख आतिथ्यमा बल्खुस्थित नयाँ भवनको उद्‍घाटन भएकाे हाे।

यसअघिसम्म त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आरआर कलेजमा सञ्चालन भएकोमा अबदेखि आफ्नै भवनमा पठनपाठन हुनेछ। उद्‌घाटनपछि त्रिविका उपकुलपति भुसालले लामो समयको संघर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेकोमा खुसी व्यक्त गरे।

‘पहिला साँघुरो कोठामा खुम्चिएर बस्नुपर्थ्यो, अहिले त्यो अवस्थाबाट केन्द्रीय विभागले आफ्नो विशिष्ट सुविधासहितको भवन प्राप्त गरेको छ’, उनले भने, ‘विभागका साथीहरूलाई अब चुनौती पनि थपिएका छन्, दिन प्रतिदिन हुने परिवर्तन विकास,उपलब्धि समेटेर ती प्रविधिको विकासलाई देशभित्र व्यवस्थित रूपले शैक्षिक अनुसन्धान भित्र्याउने काम यो विभागको जिम्मामा आइपुगेको छ।’

सरकारसँगको सहकार्य थप गर्दै जाने उनले बताए। ‘आउने जिम्मेवारी विभागका तर्फबाट सबै संयुक्त पहलमा स्तरोन्नति दिशामा हामी सबै लाग्नेछौँ, विश्वविद्यालयबाट सहयोग गर्न तत्पर छौँ’, उनले भने। 

भवन निर्माणमा २१ करोडभन्दा बढी खर्च

विभागका उपप्राध्यापक एवं भवन निर्माण समितिका संयोजक डा. देवराज अर्यालले उक्त भवन निर्माणमा २१ करोड ५५ लाख ५१ हजार खर्च भएको जानकारी दिए। उनले कोभिड लगायत कारणले ढिलाइ भएको पनि बताए। ‘हामी अब विभिन्न बाधा, अवरोधका बाबजुद स्वर्णिम अवस्थामा आएका छौँ, चुनौती र कठिनाइमा पनि आधुनिक भवन बन्यो’, उनले भने। आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति टपेन्द्रबहादुर शाहीले पनि अत्याधुनिक भवन बनेकोमा खुसी व्यक्त गरे। 

भनवनमा टेलिभिजन प्रशारण गर्न सकिने

इन्जिनियरिङ क्याम्पस पुल्चोकको कन्सल्टेन्सीका प्रमुख नारायणप्रसाद गौतमले विभिन्न सेवा सुविधासहितको अत्याधुनिक भवन बनाएको बताए। उनका अनुसार क्यामेरा मोडलमा भवन बनाइएको छ। उक्त भवनको पहिलो तलामा लाइब्रेरी,इ-लाइब्रेरी, मल्टिमिडिया रुम र मिटिङ रुम बनाइएको छ।

तेस्रो तलामा फोटोग्राफी रुम, एकाउन्टेन्ट रुम लगायत छन्। ‘चौथो तलमा टेलिभिजन स्टुडियो छ, जहाँ नेपाल टेलिभिजनको जस्तैगरी टेलिभिजन पनि प्रशारण गर्न मिल्ने गरी संरचना बनाएका छौँ,यस्तै २ सयजना अट्ने हल छ। विदेशी पाहुनाहरू आएका बस्न मिल्ने खालको ठाउँ छ, किचनकाे व्यवस्था छ’, उनले भने।

उनका अनुसार भवनको छतबाट ९० प्रतिशत काठमाडौं शहर देखिन्छ र जहाँ फिल्म छायांकन समेत गर्न सकिनेछ। ‘आगलागीबाट बच्ने सुविधासहित भवन बनेको छ,निर्माणको गुणस्तरीयमा केही कमजोरी छैन’, उनले भने।

‘गुणस्तरीय शिक्षामा खरो उत्रिन्छौं’

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले अब झनै पत्रकारिता शिक्षाको गुणस्तरीयतामा खरो उत्रिनुपर्ने वेला आएको बताए।

‘२०३३ सालबाट आरआरमा पत्रकारिताको शिक्षा सुरु भएको थियो, हामीले कसरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको  सिकाइ, अनुसन्धानलाई लैजाने भनेर लागिपर्‍याैँ, हामी साँघुरो कोठाबाट पनि गुणस्तरीय शिक्षा दिन लागिपरिरह्यौँ, भवन बनेपछि झनै चुनौती थपिएको छ। त्यसैले अब गुणस्तरमा खरो उत्रिनुपर्ने छ’‚ उनले भने।

‘लिफ्ट निर्माण, स्टुडियोको काम, भवन व्यवस्थापनका केही काम बाँकी छन्’, उनले थपे, ‘तर अबदेखि यहीबाट पठनपाठन र सबै प्रशासनिक सेवा सुरु हुनेछ।’ उनले उक्त विभागका सबै कार्यक्रम यही फागुन ३ गतेदेखि नयाँ भवनबाटै सञ्चालित हुने जानकारी दिए।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.