पढ्न नगए सेवा सुविधाबाट वञ्चित

|

काठमाडौँ : आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र शिक्षकको मात्रै होइन, अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जन्म दिएपछि हुर्काउने, पढाउने र उच्च संस्कार दिन अभिभावकको ठूलो भूमिका रहन्छ। यही जिम्मेवारी पूरा गर्दै जाँदा कतिपय अभिभावक शिक्षा लिनबाट वञ्चित भए, काेही भइरहेकै छन्। 

केही स्थानीय सरकारले विद्यार्थीहरूसँगै अभिभावकलाई शिक्षा दिएका छन्। इलामको रोङ गाउँपालिकाले अहिले ‘अभिभावक शिक्षा’ ल्याएको छ। जहाँ अभिभावक पनि विद्यार्थीहरू जस्तै विद्यालयमा गएर पढ्न पाउँछन्। गाउँपालिकाले माघ २६ गतेदेखि गाउँपालिकाका ११ वटा सामुदायिक विद्यालयबाट अभिभावकलाई पढाउन थालेको छ। जसकारण अभिभावकहरू शिक्षा लिन पाउँदा यतिखेर दंग छन्।

रोङ गाउँपालिका-२ स्थित शान्तिपुर माविका प्रधानाध्यापक एवं अभिभावक शिक्षाका विद्यार्थी महेन्द्र पोखरेल भन्छन्, ‘ग्रामीण भेगमा बढी घरायसी कामकै कारण छोराछोरीको पढाइप्रति खासै समय दिन सक्दैनन्। के कति गृहकार्य छ- अभिभावकलाई जानकारी छैन। यो अभिभावक शिक्षाले यसमा धेरै सहज पुर्‍याएको छ, यो कार्यक्रम लागू गर्नु अत्यन्तै राम्रो हो।’

उनी पनि अभिभावक शिक्षा लिन जान्छन्। ‘मेरो विद्यालयमा त ८० प्रतिशत अभिभावकहरू यो शिक्षा लिन आउँछन्। उहाँहरू एकदम उत्साही पनि हुनुहुन्छ, म पनि दिनेसँगै लिइरहेको छु’, उनले भने। उनका अनुसार प्रत्येक महिनाको अन्तिम शुक्रबार बिहान १० बजेदेखि ३ घण्टा अभिभावक शिक्षा दिइन्छ। 

के हो अभिभावक शिक्षा, किन ल्याइयो ?

गाउँपालिकाले अभिभावक शिक्षा सिकाइ सहजीकरण पुस्तिका २०८० जारी गरेको छ। ‘विद्यालयमा अभिभावक शिक्षा र सामुदायिक संलग्नताले बालबालिकालाई सुरक्षित महसुस गर्न, बालविकास एवं बाल संरक्षणका लागि बलियो र सहयोगी वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, अभिभावकले विद्यालयमै गएर बालबालिका सम्बन्धी जानकारी लिनु प्रत्यक्ष अनुभवबाट हुने सिकाइ हुने’, सहजीकरण पुस्तिकामा उल्लेख छ। 

यस किसिमका अभ्यासले आफ्ना बालबालिकाको विकासलाई प्रभावकारी रूपमा बुझ्न, पालनपोषण गर्ने ज्ञान, सीप र स्रोतद्वारा अभिभावकलाई सशक्त बनाउने लक्ष्य राखिएको सहजीकरण पुस्तिकामा उल्लेख छ। 

गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मक र सांस्कृतिक पक्षको विकास गरी अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने महत्त्वपूर्ण अवस्था हो। यसै उमेरमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुने सहजीकरण पुस्तिकामा बताइएकाे छ।

‘प्रारम्भिक उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सीप, व्यवहार र बानीहरू नै भावी जीवनको आधारशिलाका रूपमा स्थापित हुने गर्छन्’, सहजीकरण पुस्तिकामा उल्लेख छ, ‘यसमा अभिभावकको भूमिका नै मुख्य रहने तथा हरेक बालबालिकाको सुन्दर भविष्य अभिभावकको अन्तिम लक्ष्य समेत भएकाले यो उमेर समूहका बालबालिकाको विकासात्मक पक्षहरू र यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे उनीहरूको क्षमता विकास तथा सचेतना अभिवृद्धि आवश्यक हुन्छ।’ 

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले प्रारम्भिक बाल्य अवस्थाको महत्त्व र आवश्यकता प्रष्ट गर्न, बालबालिकालाई आवश्यक पोषणयुक्त खाना बनाउने तथा खुवाउने ज्ञान, सीप अभिवृद्धि गर्न अभिभावक शिक्षा ल्याइएको जानकारी दिए।

‘बालबालिकालाई स्वास्थ्य, स्याहार र सरसफाइ गर्ने सीप अभिवृद्धि गर्न, उमेर अनुरूप उत्प्रेरणा तथा अन्तरक्रिया गर्ने सीप अभिवृद्धि गर्न, बाल केन्द्रित क्रियाकलाप र खेल, खेलौनासहितको वातावरण उपलब्ध गर्न प्रतिबद्ध गराउन यो शिक्षा ल्याइएको हो’, उनले भने।

उनका अनुसार यो शिक्षाबाट विद्यालयको सिकाइमा सहयोग तथा प्रारम्भिक पढाइ लेखाइमा सहयोग गर्ने सीप प्रदान गर्न, बालबालिकालाई बिनाभेदभाव बाँच्न, सिक्न, सहभागी हुन र संरक्षण गर्न प्रेरित गर्ने उद्देश्य लिइएको छ।

‘प्रारम्भिक बाल्यावस्थामा हेला, हिंसा, दुर्व्यवहार, सजायबाट संरक्षण गर्ने सीप प्रदान गर्न, बालबालिकालाई बालविकास केन्द्र तथा विद्यालय तत्परताका लागि पूर्वतयारी गराउन सहयोग पुर्‍याउन, प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रम शिशु कक्षादेखि १२ सम्मका क्रियाकलापमा संलग्नता अभिवृद्धि गर्न, शिक्षाको गुणस्तर सुधारमा अभिभावकको भूमिका, कर्तव्य विषयमा जानकारी गराउँदै जिम्मेवार बनाउन यो शिक्षा ल्याइएको हो’, उनले भने।

पढ्न नगए सेवा सुविधाबाट वञ्चित गराइने

गाउँपालिकाका अध्यक्ष स्याङ्बोका अनुसार यो शिक्षा अभिभावक र गाउँपालिकाबीच छलफल भएर नै कार्यक्रम ल्याइएको हो। त्यसैले अनिवार्य रूपमा यो कार्यक्रम लागू गरिएको छ। यदि अभिभावक शिक्षाका लागि विद्यालयमा पढ्न नगएमा गाउँपालिका र वडाबाट पाइने सेवा सुविधाबाट वञ्चित गराइने अध्यक्ष स्याङ्बोले बताए।

‘अनिवार्य रूपमा शिक्षा लिन आउनुपर्ने कानुन नै बनाएका छौँ’, उनले थाहाखबरसँग भने, ‘उहाँहरू सबै शिक्षा लिन रुचाउनु भएको छ।’ उनका अनुसार पहिलो चरणमा शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका अभिभावकहरूलाई शिक्षा दिन थालिएको छ। पछि अर्को चरणमा यी शिक्षा कक्षा-१२ सम्मै विस्तार गरिनेछ।

‘२ हजार ४ सय विद्यार्थीका करिब १ हजार ९ सयजना अभिभावकहरू शिक्षा लिन आएका छन्, २८.७ प्रतिशत पुरुष र ७१.३ प्रतिशत महिला अभिभावकहरूको सहभागिता रहेको छ’, उनले भने। अभिभावक शिक्षा लिइएका वेला विद्यार्थीहरूको पठनपाठन बन्द हुन्छ‚ हुँदैन भन्ने प्रश्नमा भने उनले थपे, ‘८ कक्षामाथिका विद्यार्थीह घरमा बस्नुपर्छ र सानाे कक्षाका विद्यार्थीहरू स्कुल नै आउँछन्, उक्त दिन घरमा बस्दा विद्यार्थीले व्यावहारिक कुरा सिकून् भन्ने उद्देश्य छ।’

‘अभिभावक शिक्षालाई निरन्तरता दिनुपर्छ’

गाउँपालिका-२ स्थित शान्तिपुर माविको व्यवस्थापन समितिका अध्यक्ष महानन्द अधिकारी गाउँपालिकाले ल्याएको अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै प्रशंसनीय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउँछन्।

‘नीति तथा कार्यक्रममै अभिभावक शिक्षा ल्याएको थियो, अहिले कार्यान्वयन गरेर राम्रो काम भएको छ, म स्वयं आफैँ यो शिक्षा कार्यक्रममा गएर हेरेँ, धेरै राम्रो लाग्यो। सबै अभिभावकहरूबाट पनि राम्रो छ भन्ने प्रतिक्रिया आयो’, उनले भने।

यो कार्यक्रमबाट विकट ठाउँका बालबालिकाको रेखदेख, पालनपोषणका कुरा, भावना, मनोबल बढाउन, दक्ष जनशक्ति निर्माण गर्नमा टेवा पुग्नेछ’, उनले भने, ‘तत्काल यसको प्रभावकारिता नदेखिएला तर पछि यसले गुणस्तरीय शिक्षा प्राप्तिका लागि एउटा कोसेढुंगा सावित गर्ने मैले देखेको छु।’

गाउँपालिका शिक्षा विभागका प्राविधिक सहायक (प्रास) सुजता पौडेलका अनुसार उक्त शिक्षाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समन्वयमा आवेदन माग गरेर ४ दिन तालिम दिइएको थियो। जसबाट २३ जना सहजकर्ता शिक्षकहरू छानिएका छन्।

‘सामुदायिक विद्यालयको गुणस्तर घट्नुमा शिक्षकलाई मात्र लाग्ने आरोप छ। याे शिक्षाले यसलाई अन्त्य गर्दै शिक्षकको मनोबल उच्च हुनेछ, विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणसँगै अभिभावकहरूलाई विभिन्न ज्ञान र चेतना दिने फैलाउनमा महत्त्वपूर्ण योगदान पुग्नेछ’, उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.