उपकुलपतिमा १८ जनाको आवेदन

|

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो।

‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम मिति २०८०/१०/२५ को गोरखापत्र दैनिकका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको वेवसाइटमा दरखास्त आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएकोमा सिफारिस समितिको मिति २०८०/११/६ को बैठकले हाललाई दरखास्तसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।

गत माघ २६ गते सार्वजनिक सूचना जारी गर्दै समितिले १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा दरखास्त आह्वान माग गरेको थियो। १० दिनको समय सकिएर नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा स्थगित गरियो तर,स्थगित गर्नुको कारण भने खुलाइएन।

किन रोकियो नियुक्ति प्रक्रिया?

मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष तथा त्रिवि सभा सदस्य डा. देवराज अधिकारीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल र शिक्षासचिव सदस्य छन्।  

सिफारिस समितिका अध्यक्ष अधिकारीले हिजो(आइतबार) छलफल गरेपछि हाललाई दरखास्तलगायत सबै प्रकृया रोक्ने निर्णय गरेको बताए। तर,किन स्थगित गरिएको भन्नेबारे खुलाउन चाहेनन्। आफू हाल बिदामा रहेको जानकारी दिए।

उनले हालसम्म यी दुई विश्वविद्यालयको उपकुलपतिको लागि भने १८ जनाको आवेदन परेको जानकारी दिए। उनीहरूको नामावली समितिले गोप्य राखेको छ।समितिका एकजना पदाधिकारीले भने रोक्नुपर्ने दबाब आएपछि यो निर्णय लिएको बताएका छन्।

‘केही व्यक्तिहरूले उपकुलपति मापदण्डलाई लिएर प्रक्रिया रोक्नुपर्ने दबाब दिएपछि तत्काललाई स्थगित गर्ने निर्णय गरिएको बुझिएको छ,’ती पदाधिकारीले थाहाखबरसँग भने,‘त्रिविको हकमा खुकुलो हुने तर,यहाँ किन कडाइ गरियो? भन्ने प्रश्न उठाएका छन्।’ उनका अनुसार तोकिएको मापदण्डअनुसार आवेदन दिएका र दिन इच्छुक व्यक्तिहरूले उक्त मापदण्ड पुर्‍याउन सकेका छैनन्। त्यसैले उक्त मापदण्ड सच्याउनुपर्ने माग उठाएको ती पदाधिकारीको भनाइ छ।

उपकुलपति छान्न विश्वविद्यालयपिच्छे फरक-फरक मापदण्ड तोकिएको छ। उपकुलपतिका लागि दरखास्त माग गरिएका चारवटै विश्वविद्यालयमा आवेदकको प्राध्यापन अनुभवलाई १० अंक, पदाधिकारी अनुभवलाई ४ अंक र विद्यावारिधि गरेकोलाई समान रूपमा ५ अंक राखिएको छ।

तर, प्राज्ञिक अनुसन्धानवापत सुदूरपश्चिम र मध्यपश्चिममा १०, पूर्वाञ्चल र त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० मा ६ अंक मात्रै हुने व्यवस्था राखिएको छ।

प्राज्ञिक एवं अनुसन्धान लेख प्रकाशनमा त्रिविमा ५ पूर्णाङ्क तोकिएको छ भने मध्य र सुदूरपश्चिममा २५ पूर्णाङ्क र पूर्वाञ्चल विश्वविद्यालयमा १० अंक राखिएको छ। यस्तै त्रिविमा सोचपत्रका लागि १५, पूर्वाञ्चलमा १० र मध्य र सुदूरपश्चिम विश्वविद्यालयको लागि पनि १० अंक नै राखिएको छ।

कार्ययोजनामा त्रिविमा ३५ अंक राखिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयमा ३० र मध्य र सुदूरपश्चिम विश्वविद्यालयमा १०(१० अंक राखिएको छ। कार्ययोजना प्रस्तुतीकरणवापत त्रिविमा २० र पूर्वाञ्चलमा पनि २० नै अंक राखिएको छ।

तर, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा १० अंक कायम गरिएको छ। त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयमा अन्तवार्ताको लागि १५ अंक कायम गरिएको छ भने मध्य र सुदूरपश्चिम विश्वविद्यालयमा १६ अंक कायम गरिएको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० मा उल्लेख छ।

यता, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति छनोट प्रकृया भने अगाडि बढिरहेको छ।  उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले हिजो (आइतबार) १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै प्राडा केशरजंग बराल,प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं त्रिविका कुलपतिकहाँ सिफारिश गरेको छ। अब प्रधानमन्त्रीले यी तीन जनामध्ये एकजनालाई त्रिविको उपकुलपतिमा नियुक्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.